‘थाहा’प्रेमी रूपचन्द्र बिष्टको आकृति हो, रुदाने

‘थाहा’प्रेमी रूपचन्द्र बिष्टको आकृति हो, रुदाने

बुद्धले थाहा पाएर बुद्ध बने। क्राइस्टले थाहा पाएर क्राइस्ट बने। संसारका सबै मानिस ‘थाहा’का उपज हुन्। सप्रेका देश थाहा पाएर सप्रे, बिग्रेका देश भ्रममा परेर बिग्रे। भ्रमैभ्रममा बाँचेर बिग्रेको यो देशको एउटा नागरिक तपाईं थाहा पाउनुहोस्, देश सप्रिन थालिहाल्छ। रूपचन्द्र बिष्टको ‘थाहा’मा आधारित उपन्यास ‘रुदाने’को मूलभाव हो यो। उपन्यासकार टंक चौलागाईंसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले रुदाने र यसको लेखनबारे गरेको साहित्यिक भलाकुसारी :

कसरी तयार भयो त रुदाने ? कति समय लाग्यो पुस्तकको आकार लिन ? कुनामा बसेर स्वैरकल्पनामा डुबेर लेखेजस्तो सजिलो त पक्कै भएन होला ? 

रूपचन्द्र विष्टसँग समय बिताएका धेरै मानिससँग कुरा गरेँ। दामन र पालुङ गएर उहाँको जन्मस्थलमै केही समय बिताएँ। त्यहाँका वृद्धवृद्धासँग भेटें। उहाँले शिखरकोटको गोपाली गाउँ पस्ने ठाउँमा बनाउनु भएको विकास घरमा उहाँकै पूर्ण कदको सालिक छ। त्यही सालिक हेर्दै पहिलो ड्राफ्ट सकेँ। त्यसपछि तीन वर्ष जतिको समय लाग्यो। यो समयमा पाँचपटक पुन: सम्पादन गरेँ र यो पुस्तकको आकारमा आयो। पक्कै पनि कतै कुनामा बसेर स्वैरकल्पनामा डुबेर लेखेको जस्तो सजिलो थिएन।

पुस्तकको आकार ठूलो भए जस्तो लाग्दैन ? सम्पादनमा समस्या छ भन्ने पाठक प्रतिक्रिया आउन थालेका छन्। पुस्तक ठूलो बनाउने रहर हो कि सम्पादन गर्ने धैर्य नभएको ? 

हो, अलि ठूलै भयो। आफैं सम्पादन गरेर धेरै हटाएँ। अझ हटाउनु पर्थ्यो, हटाउन सकिन्थ्यो पनि। आफैंले सम्पादन गरेकाले छरितो भएन। जसजससँग सम्पादनका लागि सहकार्य गरेँ, उहाँहरूबाट यो यो हटाए हुन्छ भन्ने ठोस निर्णय पनि आएन। अन्तिममा चित्तै नबुझेर धिरकुमार श्रेष्ठसँग पुगेँ। उहाँले भनेका जति हरेक कुरा हटाएँ। यसले केही छरितो बन्यो। अझै एक चरण काम गरेर केही कुरा हटाउन सकिन्थ्यो, पुनर्लेखनमा मेरो धैर्यता कम भएकै हो। केदार शर्माको नजरमा पर्ने गरी सम्पादन गरेको भए किताब अर्कै रूपमा आउँथ्यो, उहाँले छोटो ‘स्क्यान’ अनुभूति दिनुभयो।

तपाईंका पाठक कति होलान् ? यति मोटो पुस्तक हातमा लिएपछि तिनले नछोडून् भन्नेतर्फ सोच्नु भएन ? 

मेरा पाठक थोरै छन्। पुस्तक सम्पादनमा रहँदा मेरो पहिलो चिन्ता नै पाठकप्रति लक्षित हुन्थ्यो। सायद रुदानेले केही पाठक बढाउँछ होला। सोचें र अघिल्लो सवालमै जवाफ दिइसकेँ।

प्रसंग बदलौं, तपाईंको परिचय के हो ? नाटक पढाउने शिक्षक, अभिनेता, नाटक निर्देशक, महोत्सव आयोजक, लेखक वा बालबालिकाका लेखक। धेरै विधामा काम गर्दा गुणवत्ता कायम गर्न सकिन्छ ?

अहिले धेरैले ‘रंगकर्मी’ भनेको पाउँछु। नयाँ नाटक कहिले आउँछ भनेर सोध्नु हुन्छ। ‘रंगकर्मी’ शब्दले धेरै कुरालाई समेट्ने हुनाले मलाई यो खालको परिचयमा बानी पर्‍यो। मेरो यो परिचयलाई अड्याउने जग भने लेखन हो। कथाको खोजी, कथाको लेखन, पात्रहरूको यात्राले मेरो परिचयलाई जोगाउने काम गरेको छ। म ‘रंगमञ्च’मा भए पनि लेखनमा भए पनि सिर्जनाकै काममा अभ्यस्त छु। सिर्जनाको आयु कति भन्नेचाहिँ एउटा गम्भीर प्रश्न हो, यो हरेक लेखकको अस्तित्वसँग सम्बन्ध राख्ने प्रश्न हो। जति स्तरीय रचना दिन सक्छु, त्यति नै चिरकालसम्म जीवित रहन सक्छु। 

त्यसैले सचेत छु। सचेत रहन्छु।

त्यसैले हालै प्रकाशित कृति रुदानेको पाठक प्रतिक्रिया कस्तो छ ? कत्तिको सन्तुष्ट बनायो ? 

पाठकबाट मेरै लेखनस्तर अनुसारको प्रतिक्रिया पाइरहेको छु। केही ‘लिमिटेसन’ सहित कथा भन्ने मेरो आफ्नै शैली छ। जुन सबै पाठकले नरुचाउन सक्छन्। उठाएको विषयवस्तु अनुसार लेखनशैली फरक चाहिँ हुन्छ है फेरि। लेखनको दृष्टिकोणबाट भन्दा पनि जुन पात्रमाथि काम गरें, त्यो दृष्टिकोणबाट प्रसंशा बटुलिरहेको छु। आलोचना र प्रसंशा दुवैमा सन्तुष्ट छु।

टंकजी, तपाईं त मकवानपुरको पनि हैन, रूपचन्द्र विष्टसँग हिँडेको पुस्ता पनि हैन तर पनि रुदाने लेख्न केले प्रेरित गर्‍यो ? 

नाटकका लागि कथा खोज्ने क्रममा अलि फरक पात्रमाथि काम गरौं भन्ने सोचले यहाँसम्म पुर्‍यायो। योगमाया नाटक मञ्चन गरेपछि उनलाई केही नयाँ पुस्ताले चिन्ने मौका पाए नि त ! त्यही हिसाबले रूपचन्द्र विष्टको थाहा दर्शनलाई पनि नयाँ पुस्ताले थाहा पाउनुपर्छ भनेर यो विषय थाहा दिन काम गरेको हुँ। कोही मकवानपुरेले नै लेखिदिएको भए हामीले मज्जाले पढ्न पाउने थियौं। नाटक गर्न पाउने थियौं। कुनै मकवानपुरेले लेखेको भए यो विषय अझ बलियो गरी आउने थियो भन्नेहरू पनि छन्। यसमा म सहमत छैन। विषय कसैको पेवा हैन भन्छु। कुनै विषय वा पात्रले संसारको जुनसुकै लेखकलाई झट्का दिन सक्छ। त्यही झट्काले लेख्न प्रेरित गर्ने हो।

‘थाहा’ रूपचन्द्रको दर्शन भन्नु भयो, तपाईं आफूलाई चाहिँ कति ‘थाहा’ छ ? के ‘थाहा’ छ ?

बालबालिका, महिला, दलितलगायत समाजको पिँधमा रहेका वर्गलाई ‘थाहा’ दिन खोज्नु, जगाउनु विष्टको दर्शन थियो। उहाँले आफ्नो हरेक पल थाहा दिन खर्च गर्नुभयो। मानिसहरू चाडपर्वमा मस्त रहेका बेलासमेत उहाँ आफू पर्चा बेचेर छाप्रेहरू जगाउन लाग्नु भयो। थाहा के हो ? थाहा पाएर काम गर्दा हुने फाइदा र थाहा नपाई काम गर्दा हुने बेफाइदाका बारेमा जीवनको अन्तिम घडीसम्म पनि बोलिरहनु भयो। यसबाट धेरै मानिस ‘जागे’ पनि। तर, ‘थाहा’ त्यति सजिलो विषय हैन। कुरा नबुझेर धेरै छाप्रेहरू नै अलमलमा परेको जस्तो पनि लाग्थ्यो। कति थाहा पाउँदा थाहा पाएको मानिन्छ ? थाहा पाउनुपर्ने कुरा के के हुन् ? यो त किटेर भन्न सकिँदैन नि त ! थाहा पाएँ, भनेको कुराको पनि अर्काे रहस्य आइराखेको हुन्छ। दैनिक हिँड्ने बाटो, खाने भातको बारेमा नै हामीलाई जति थाहा छ, त्यो पर्याप्त छैन। जति थाहा छ भन्दै छु उति नै थाहा नभएर अलमलमा परेको छु। हरेक नयाँ काम सुरु गर्नुअघि म शून्य हुन्छु ताकि मलाई केही थाहा छैन।

विष्ट जन्मेदेखि मृत्युसम्मका हरेक घटना पुस्तकमा समेट्नु भएको रहेछ, यसलाई किन आख्यान भन्नु भएको त ? जीवनी नै भनेको भए के हुन्थ्यो ? आख्यान र जीवनीबीचको भिन्नता ? 

आफूलाई आख्यान लेख्नपर्ने हुनाले यो विधा छानेको हुँ। घटना र पात्रहरूको ‘ड्रामाटिक जर्नी’मा रमाउँछु। जीवनी लेखन मेरो विधा हो जस्तो नै लाग्दैन। आख्यानमा काल्पनिक संसारमा रमाउने छुट रहन्छ।

भनेपछि रुदानेमा वास्तविकता कति काल्पनिकता कति छ ? पाठकले कुन घटनालाई वास्तविक मान्ने कुन घटनालाई काल्पनिक ? 

धेरै काल्पनिक घटनालाई वास्तविक लाग्नेगरी लेखेको छु। काल्पनिक घटनाहरूमा उहाँसँग हिँडेका पात्रहरूलाई हिँडाएको छु। त्यही भएर काल्पनिक घटनाहरू पनि वास्तविक लाग्न सक्छन्। ३० प्रतिशत वास्तविकताको जगको यो उपन्यास कुँदिएको छ भनेर मेरो लेखकीय स्वविकेकले भन्छ।

ऐतिहासिक सर्वपरिचित पात्रमाथि लेख्न बस्दाका जोखिम के के पाउनुभयो ? रुदानेलाई तपाईंको लेखनीले न्याए दिन सक्यो ? 

न्याए दिएँ जस्तो लाग्छ। आख्यान नै भने पनि उहाँको व्यक्तित्वमाथि तोडमोड गरेर लेखियो भन्ने आरोप लाग्छ। यसमा तयार छु। किनभने विभिन्न व्यक्तिको कुरा सुनेर मैले बुझेको रूपचन्द्र विष्टको आकृति हो, रुदाने।

अहिलेका पाठकका लागि विष्टले के छाडिगएका रहेछन् ? के रुदाने पढ्ने पाठकले उनले छाडी गएको कुरा प्राप्त गर्न सक्लान् ? 

देश बनेन, नबनेको कुरा पक्का हो। के कारणले बनेन, कसले हो बनाउने रूपचन्द्रले जीवनभरी यही कुरा भन्नुभयो। सायद अहिलेका पाठकले देश नबन्नुको कारण रुदाने पढिसकेपछि पक्कै महसुस गर्ने छन्।

रंगकर्मी भनेको मन पराउने मान्छे नाटक नलेखेर किन उपन्यास लेख्नु भएको ? रुदानेलाई पनि नाटकको रूपमा हेर्न पाउँछन् ?

नाटक गर्ने सोचले नै यो तयार भएको हो। नाटकलाई एउटा दरिलो कथा चाहिन्छ। यो रुदानेलाई त्यही कथानकको तयारी हो, बुझ्दा बेस !

देश बनेन, नबनेको कुरा पक्का हो। के कारणले बनेन, कसले हो बनाउने ? रूपचन्द्रले जीवनभरी यही कुरा भन्नुभयो। सायद अहिलेका पाठकले देश नबन्नुको कारण रुदाने लाई त्यही कथानकको तयारी हो, बुझ्दा बेस !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.