बाईस्ट्रिम एलएलसीसँगको सहकार्यमा अन्नपूर्ण मिडिया नेटवर्कको अमेरिकामा कार्यालय खुल्यो
भर्जिनिया(अमेरिका) : अमेरिकन कम्पनी बाईस्ट्रिम एलएलसीसँगको सहकार्यमा ‘अन्नपूर्ण मिडिया नेटवर्क –युएसए’ ब्रान्डमा अमेरिकामा कार्यालय खुलेको छ । अमेरिकाको भर्जिनिया राज्यको ग्रेन्सभिलमा कार्यालय खुलेको हो ।
बाईस्ट्रिम एलएलसीका चेयरम्यान एड्रियन पोखरेलले एक समारोहबीच कार्यालयको उद्घाटन गरेका थिए । अमेरिकामा ‘अन्नपूर्ण मिडिया नेटर्वक–युएसए’ ब्रान्ड संचालनमा ल्याउन अन्नपूर्ण मिडिया नेटवर्क र अमेरिकन कम्पनी बाईस्ट्रिम एलएलसीबीच साझेदारी सम्झौता भएको थियो ।
त्यही सम्झौता अनुरूपमा अब अन्नपूर्ण मिडिया नेटवर्कको ब्यूरो कार्यालयसमेत त्यही अफिस रहने भएको छ । बाईस्ट्रिम अमेरिकाको भर्जिनिया राज्यमा दर्ता भएको कम्पनी हो ।
'बाइस्ट्रीम एलएलसीसँगको सहकार्यमा अमेरिकामा AMN-USA ब्रान्डलाई सफलतापूर्वक सञ्चालनमा ल्याउन हामीले महत्वपूर्ण कदम उठाएका छौं। यो हाम्रो मिडिया नेटवर्कलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण अवसर हो', बाईस्ट्रिम एलएलसीका चेयरम्यान एड्रियन पोखरेलले भने , 'हाम्रो मिसन सधैं स्पष्ट रहेको छ-नेपाली मिडियालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै प्रवासी नेपाली समुदायलाईसँगै जोड्ने र नेपालमा उत्पादित सामग्रीलाई विश्वभर पुर्याउने। हामीले AMN-USA ब्रान्ड अन्तर्गत अमेरिका बस्ने प्रवासी नेपालीहरूलाई नेपालसँग जोड्न, समाचार, रेडियो, टेलिभिजन, र अन्य मिडिया सामग्रीहरूको सरल पहुँच दिन चाहन्छौं ।'
उनले अमेरिकामा कार्यालय सञ्चालनमा आएपछि अब छिट्टै अन्नपूर्ण मिडिया नेटवर्क अन्तराष्ट्रिय मिडिया हाउसमा सुचिकृत हुने बताए । 'अबको हाम्रो भिजन भनेको नेपाली मिडियालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु हो', उनले भने, 'यसले गर्दा हामी सबैको लागि नयाँ अवसरहरू खुल्नेछन्। निकट भविष्यमा हामी नेपालमा कार्यरत पत्रकारहरूलाई नयाँ तालिम, प्राविधिक ज्ञान र विज्ञ वार्ताको माध्यमबाट थप सशक्त बनाउन चाहन्छौं। यो अवसरले तपाईंहरूको क्षमता अभिवृद्धि गराउन मद्दत गर्नेछ, र हामीले संयुक्त रूपमा उत्कृष्ट मिडिया सामग्री उत्पादन गर्न सक्नेछौं।',
नेटवर्कले हाल नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, एपीवान टेलिभिजन लगायतका मिडिया प्लेटफर्महरू संचालन गर्दै आइरहेको छ ।