नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू छन् : अर्थमन्त्री पौडेल
काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू रहेको बताएका छन्। आज अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकहरूलाई स्वच्छ ऊर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्न सकिने उल्लेख गरेका हुन्।
‘नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोतहरू छन्। हाम्रो जलविद्युत् सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी छ। नवीकरणीय ऊर्जामा लगानी गरेर, हामीले आफ्ना घरेलु ऊर्जाको आवश्यकताहरू पूरा गर्न मात्र होइन, छिमेकी मुलुकहरूलाई स्वच्छ ऊर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्न सक्छौं।’ पौडेलले भने,‘ दिगो पर्यटनले हाम्रो प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्ने एउटा मार्ग प्रदान गर्दछ। इको–पर्यटन, पदयात्रा, र संरक्षण क्षेत्रले रोजगार सिर्जना गर्न, राजस्वमा योगदान पर्याउन, र भविष्यका पुस्ताहरूको लागि हाम्रो वातावरणलाई संरक्षण गर्न सक्छन्।’
अर्थमन्त्री पौडेलले विकास र पर्यावरणीय संकटको समाधान एकअर्कामा विरोधाभाषी नभएको बताए। उनले अर्थतन्त्रलाई बढाउँदै वातावरणलाई सुरक्षित राख्न सम्भव रहेको बताए। ‘विकास र पर्यावरणीय सङ्कटको समाधान एकअर्कामा विरोधाभाषी होइनन्। हाम्रो अर्थतन्त्रलाई बढाउँदै वातावरणलाई सुरक्षित राख्न सम्भव छ, आज हामीले लिने निर्णयहरूले भोलिको नेपाललाई परिभाषित गर्नेछ। तर यसका लागि साहसी सोच र परम्परागत विचारलाई चुनौती दिने इच्छाशक्ति आवश्यक छ र, यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज, र शैक्षिक क्षेत्रको सामूहिक प्रयास तथा सहकार्य आवश्यक छ।’ उनले भने, ‘नेपाल जहिले पनि सहनशीलताको भूमि रहँदै आएको छ। हामीले प्राकृतिक विपद्, आर्थिक कठिनाइहरू, र राजनीतिक संक्रमणको सामना गरेका छौं। म विश्वस्त छु कि सही नीति, लगानी, र दिगो विकासप्रतिको प्रतिबद्धताका साथ हामी जलवायु परिवर्तनको चुनौतीमा पनि सफलतापूर्वक अघि बढ्न सक्छौं।’
पौडेलले सरकारले नीति निर्माणमा भूमिका खेल्ने भएकाले अनुसन्धान र नवप्रवर्तनका लागि विश्वविद्यालयजस्ता शैक्षिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। ‘हामीलाई वातावरणीय क्षतिको आर्थिक लागत, दिगो विकासको आर्थिक फाइदा, र हरित अर्थतन्त्रका लागि लगानी गर्ने उपायहरूमा थप अनुसन्धान आवश्यक छ ।’ उनले भने, ‘म तपाईहरूलाई विकास र समानताको सम्बन्धबारे गहिरो रूपमा सोच्न आग्रह गर्छु। प्रायः, सबैभन्दा गरिब र कमजोर समुदायहरू नै वातावरणीय सङ्कटबाट बढी प्रभावित हुने गर्छन्। जलवायु परिवर्तन केवल वातावरणीय समस्या मात्र होइन; यो सामाजिक न्यायको मुद्दा पनि हो। त्यसैले, हामीले आर्थिक विकासको लक्ष्यलाई समान र समावेशी बनाउनुपर्छ।’