ट्रान्सपोर्टमा छापा हानेर २७ बोरा कपडा बरामद

ट्रान्सपोर्टमा छापा हानेर २७ बोरा कपडा बरामद
सुन्नुहोस्

विराटनगर : राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका-८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेर २७ बोरा कपडा बरामद गरेको छ। 

तस्करीको कपडा रहेको सूचनाका आधारमा राजस्वका अधिकृत सरोज कोइराला नेतृत्वको टोलीले शुक्रबार दिउँसो १ बजेतिर छापा हानेको हो। छापा हानेर २७ बोरा कपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए। कपडा करिब ६ करोड बराबरको रहेको अनुमान छ। 

लुइँटेलले काठमाडौं पठाउन ठिक्क पारिएको कुर्त सलवारलगायतका कपडा बरामद गरिएको बताए। बरामद गरिएका कपडा भारतबाट भन्सार छली गरी तस्करी गरेर विराटनगर ल्याइएको राजस्वको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ। बरामद गरिएकामध्ये २३ बोरा कपडाको कृष्ण ट्रेडर्स र ४ बोराको ग्लोबल ट्रेडर्सले भ्याट बिल काटिदिएको पाइएको लुइँटेल बताउँछन्। ‘व्यापारिक कारोबार गर्ने उद्देश्यले दर्ता गरिएका फार्ममार्फत भ्याट बिल काटेर कपडाको तस्करी गर्ने गरेको पाइयो,’ उनले भने, ‘कृष्ण र ग्लोबल ट्रेडर्सले भ्याट बिल मात्रै काटिदिँदा रहेछन्।’

दुवै फार्मले कपडाको कारोबार, खरिद, बिक्री भने नगर्ने गरेको पाइएको छ। ‘भ्याट बिल र भीसीटीएसको बिल बनाउँदा रहेछन्। तस्करीको कपडालाई वैधानिक देखाउन मात्रै बिल काट्ने गरेको पाइयो,’ उनी भन्छन्, ‘दुवै फार्म कपडाको कारोबारमा कतै जोडिँदैनन्। बिल चैं बेच्ने गरेको खुलेको छ।’

बिल बेचेबापत ५ सयदेखि १ हजार रुपैयाँसम्म लिने गरेको पाइएको राजस्वले जनाएको छ। राजस्वका अनुसार दुवै फार्मबाट भ्याट र भीसीटीएसको बिल काटेर जेबी ट्रान्सपोर्टमार्फत कपडा काठमाडौं पठाउन लागिएको थियो। कृष्ण ट्रेडर्स विराटनगर–१४ र ग्लोबल ट्रेडर्स विराटनगर–९ मा छ। राजस्वको टोलीले कृष्णका सञ्चालक सुव्रत देलाई पक्राउ गरेको छ। देसँग मिलेर कपडा तस्करी गर्ने ओमप्रकाश साह र मनिष चौधरीलाई पनि राजस्वको टोलीले नियन्त्रणमा लिएको थियो। 

देलाई थुनामा राखेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताउँदै लुइँटेलले साह र चौधरीलाई सोधपुछ गरेर खोजेका बेला उपस्थित हुने गरी छाडिएको जानकारी दिए। उनका अनुसार तस्करीमा संलग्न भनिएका गणेश साह र शंकर साह फरार छन्। ग्लोबल ट्रेडर्सका सञ्चालक मञ्जर आलम पनि फरार छन्। राजस्वको टोलीले जेबी ट्रान्सपोर्टमा छापा हानेर कृष्ण ट्रेडर्सका सञ्चालकलाई पक्राउ गरेको थाहा पाएपछि मोबाइल अफ गरेर मञ्जर भागेको अधिकृत लुइँटेलको भनाइ छ। उनका अनुसार फरार भएकाको खोजी भइरहेको छ।  

बरामद गरिएको कपडा अन्दाजी ६ करोड मूल्य बराबरको रहेको बताइएको छ। ‘कपडाका पोका खोल्न बाँकी छ। खोलेर मूल्यांकन गरेपछि वास्तविक मूल्य थाहा हुन्छ। थप अनुसन्धान भइरहेको छ,’ लुइँटेलले भने। उनका अनुसार कपडाको तस्करी गरिरहेका राजकुमार रौनियारको गोदाममा पनि यसअघि छापा हानिएको थियो। विराटनगर भन्सार कार्यालयका एजेन्टसमेत रहेका रौनियारको कपडासहितको ट्याक्टर केही दिनअघि राजस्वले नियन्त्रणमा लिइएको थियो। रौनियार नामुद कपडा तस्कर रहेको राजस्वले जनाएको छ। 

तस्करीको कपडासहितको ट्याक्टर नियन्त्रणमा लिएर उनीसँग राजस्वले १५ लाख धरौटी माग गरेको थियो। त्यसबापत रौनियारले बैंक ग्यारेन्टी दिएका छन्। ‘लामो समयदेखि कपडाको तस्करी गरिरहेको सूचनाका आधारमा रौनियारको गोदाममा पटकपटक छापा हानिएको छ। प्राप्त केही प्रमाणले उनी कपडामा तस्करीमा संलग्न छन् भन्ने देखाउँछ,’ लुइँटेल भन्छन्। 

रौनियारले भने मुलुकलाई घाटा पुग्ने भएका कारण आफू तस्करीमा संलग्न नरहेको दाबी गरेका छन्। ‘म राजस्वमारा काम गर्दिनँ। तस्करी गर्नेका बारेमा सम्बन्धित निकायलाई सूचना चैं दिन्छु,’ उनले भने। तस्करीसँग सम्बन्धित धेरै सूचनाहरू आफूसँग रहेको रौनियार बताउँछन्। उनले आफू भन्सार एजेन्ट नरहेको र व्यापार गरेर बस्ने गरेको दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.