करेन्ट लगाई माछा मारेको आरोपमा ५ जना पक्राउ
स्याङ्जा : करेन्ट लगाई माछा मारेको आरोपमा वालिङ नगरपालिकाका ५ जना पक्राउ परेका छन्। माछा मारेर फर्कँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
बिजुली प्रयोग गरी अवैध तरिकाले माछा मारेको भन्दै उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो। पक्राउ पर्नेमा वालिङ नगरपालिका-१३ पाठेखोलाका २८ वर्षीय गोपाल जिटी, २५ वर्षीय मनोज साहानी, ४२ वर्षीय प्रमोद साहानी, २८ वर्षीय सन्जय साहानी र ३२ वर्षीय बालकृष्ण साहानी रहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
जिटी वडा सदस्य हुन। अन्य ४ जना भने रौतहट जिल्ला घर भई वालिङमाबसी रंगरोगन काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ। पाँचै जनालाई वालिङ नगरपालिका-१ रामवाच्छाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
करेन्ट प्रयोग गरी माछा मारिरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले माछा मार्न प्रयोग भएको विद्युतीय सामग्रीसहित माछा र गाडी समेत पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारबाही हुने रानाले जानकारी दिए। जलचर ऐन अनुरूप खोलामा करेन्ट प्रयोग गरी माछा मार्न निषेध गरिएको छ।