प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरसबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ। स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघको भवनमा ओली र गुटेरेसबीच भेटवार्ता भएको हो।
अहिले प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा छन्।
प्रधानमन्त्री ओलीलाई जोनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली काबा महावाणिज्यदूत चक्र सुवेदी तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री ओलीले नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्ने कार्यतालिका छ ।
यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि हुनेछ। प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच असोज ६ गते आइतबार स्थानीय समयअनुसार साढे ५ बजे भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
गत भदौ २२ गते प्रधानमन्त्री ओलीले फराकिलो मनले संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका थिए। उनले भारत लामो संस्कृति भएको छिमेकी मित्र भएको र नेपालले खुलारूपमा छिमेकीसँग कुरा गर्नुपर्ने बताएका थिए। भेटमा पनि उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरुको अध्यक्षको हैसियतले सम्बोधनसमेत गर्नेछन्।