भ्रामक सूचनाबाट महिला झन् बढी प्रताडित : परराष्ट्रमन्त्री राणा

भ्रामक सूचनाबाट महिला झन् बढी प्रताडित : परराष्ट्रमन्त्री राणा
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भ्रामक सूचना (डिसइन्फर्मेसन्) बाट महिला झन् बढी प्रताडित भएका बताएकी छन्।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकको शनिबार  समापनका क्रममा उनले भनिन्, 'विश्वमा अहिले गलत सूचना अर्थात भ्रामक सूचनाको बाढी नै आएको देखिन्छ । तथ्य र तथ्याङ्कमै नपुगी गरिने यस्ता सूचनाको सम्प्रेषणले  समाजलाई गलत दिशातर्फ उन्मुख पनि गराएको छ । यस्तो सूचनाका कारण पुरुषभन्दा अझ बढी महिला शिकार हुने गरेका पाइएको छ ।'

महिला नेतृत्व र भ्रामक सूचना विषयक सत्रलाई सम्बोधन गर्दै उनले आफू पनि नेपालमा यस्तै गलत सूचनाहरुको सिकार भएको अनुभव राखिन्। यस्ता सूचनाहरुले आफ्नो व्यक्तिगत तथा राजनीतिक अर्थात संस्थागत क्षति गर्न खोजिएको प्रसङ्ग उनले राखे। 

विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी सो बैठकमा उनले भनिन्, 'मसँग यस्ता धेरै उदाहरण छन् कि मलाई भ्रमपूर्ण सूचनासँग जोडेर, काल्पनिक घटना तथा प्रकरणहरु खडा गरेर म आफूँ कहीँकतै संलग्न नै नभएका विषयमा जबर्जस्ती तानेर दोषी देखाउने अनेक प्रयास भएका थिए । जुन कुराको कुनै प्रमाण नभएकाले कानुनबाट कहिल्यै पनि प्रमाणित हुन सक्दैन । अध्ययनबाट मैले थाहा पाएको छु कि नेतृत्वमा रहेका र जान चाहने महिलाका विरुद्धमा अन्यत्र पनि यस्तै हुने गरेको छ ।' 

प्रविधिले दिएको विकासलाई यसरी सूचनाको दुरुपयोगमा प्रयोग गर्न नहुने उनको सुझाव थियो । सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा अहिले तीव्र गतिमा विकास भइरहेको र यससँगै अनेक चुनौती पनि थपिएका उनको तर्क थियो । 

भर्चुअल दुनियाँमा विशेष गरी सामाजिक सञ्जालमा धेरैजसो महिलाविरुद्धमा यस्ता सूचनाहरु दिने गरिएको पनि उनले बताइन्। यसबाट महिलका विरुद्धमा अनेक प्रकारका दुर्व्यवहार हुने, विभिन्न प्रकारका हिंसा र उत्पीडन हुने पनि देखिएकाले यस्ता भ्रमपूर्ण सूचनाहरुबाट पुरुषभन्दा महिला बढी प्रताडित भएका पनि उनले बताइन्। 

विभिन्न अध्ययनहरूले महिला राजनीतिज्ञ एवं नेतृत्वमा जान चाहनेहरुका विरुद्धमा यस्ता सूचनाहरु लक्षित हुने गरेका देखिएको पनि उनको भनाइ थियो । 

अल्पसङ्ख्यक समूहका महिला राजनीतिकर्मी, नेतृत्वमा जान चाहने महिला, नारीवादी मुद्दाहरूको वकालतमा क्रियाशील महिला यस्तो प्रवृत्तिको अझ बढी शिकार हुने गरेका उनको भनाइ थियो । 

यी समस्याको समयमै सम्बोधन गर्न नसकिए यसले महिला विरुद्धको हिंसा झन् बढाउने र महिला सशक्तीकरणमा हाल प्राप्त उपलब्धिलाई पनि खोस्नसक्ने खतरा रहेको उनले बताइन्। 

डिजिटल दुनियाँको कुनै सिमाना नहुने भएकाले यो समस्याको समाधानका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको र यसका लागि डिजिटल र सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरू समेतको सहकार्यमा बहुपक्षीय दृष्टिकोण अपनाउनु जरुरी रहेको मन्त्री डा राणाले बताइन्। 

अर्को कुरा भ्रामक सूचनाले प्रायःः द्वन्द्व र हिंसा बढाउने, भेदभावको अवस्थालाई प्रश्रय दिने र मानवअधिकारहरूको उल्लङ्घन गर्ने भएकाले यसलाई रोकेर सही सूचनाको प्रवाहका लागि विश्वव्यापी सञ्जाल निर्माण गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा पनि मन्त्री डा राणाले जोड दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.