एमालेको रामेछाप-काठमाडौं सम्पर्क मञ्च देशकै उत्कृष्ट कमिटी
काठमाडौं : नेकपा एमालेको रामेछाप-काठमाडौं सम्पर्क मञ्च कार्ययोजना अनुसार काम गर्ने देशकै उत्कृष्ट कमिटी बनेको छ। पार्टी हेडक्वाटर च्यासल ललितपुरमा आयोजित कार्यक्रममा नेकपा एमाले सम्पर्क समन्वय कमिटीले २०७८-०८० मा गरेको कामका आधारमा रामेछाप-काठमाडौं सम्पर्क मञ्चलाई प्रथम भएको घोषणा गरेको हो।
मञ्चको मुल्यांकन कमिटीका सहसंयोजक ठानेश्वर बस्यालको संयोजकत्वमा गठित मुल्यांकन कमिटीले ७४ जिल्ला सम्पर्क मञ्च तथा सात प्रदेश सम्पर्क कमिटीको कामको आधारमा मूल्यांकन गरेको हो। रामेछाप-काठमाडौं सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष राकेश श्रेष्ठले जिल्लाबाट राजधानी आएर पनि विभिन्न पेशा व्यवसाय गर्दै पार्टीको काममा निरन्तर खट्ने र योगदान गरेकालाई माथिल्लो कमिटीले मूल्याङ्कन र सम्मान गरेपछि पार्टीमा थप सक्रिय बन्न प्रेरित गरेको बताए।
मूल्यांकनमा गुल्मी-काठमाडौँ सम्पर्क मञ्च द्वितीय र ओखलढुङ्गा-काठमाडौँ सम्पर्क मञ्चले तृतीय बनेका छन्। सात प्रदेशहरूमा प्रथम स्थान बागमती प्रदेश सम्पर्क कमिटी, द्वितीय लुम्बिनी प्रदेश सम्पर्क कमिटी र तृतीय कोशी प्रदेश सम्पर्क कमिटी भएका छन्।
कार्यक्रम पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इञ्चार्ज लालबाबु पण्डितले उत्कृष्ट हुने जिल्ला सम्पर्क मञ्च र प्रदेश सम्पर्क कमिटीलाई प्रमाणपत्र र मेडलद्वारा सम्मान गरेका थिए।