पर्सामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै, सेवा दिने संस्था र जनशक्तिको अभाव

पर्सामा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै, सेवा दिने संस्था र जनशक्तिको अभाव
सुन्नुहोस्

वीरगन्ज : पर्सामा सुरक्षित गर्भपतन गराउने युवती र महिलाको संख्या बढ्दै गएको छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० को भन्दा गत आर्थिक वर्ष २०८०/८१ मा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको हो।

आइतबार वीरगन्जमा आयोजित सुरक्षित गर्भपतनका लागि जवाफदेहिता विषयक अन्तरक्रियामा स्वास्थ्य कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकमा गत आर्थिक वर्षमा १ हजार ६ सय ७१ जना महिलाले सुरक्षित गर्भपतन गराएको उल्लेख छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार ४ सय ९८ मात्र थियो। 

स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत मीरा यादवका अनुसार पर्सामा गत आर्थिक वर्षमा २० वर्ष मुनिका १३७ जना युवतीले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्ष माथि उमेरका १ हजार ५३४ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन्। 

तीमध्ये १२ हप्तासम्मको गर्भपतन गराउनेको संख्या १ हजार ६२६ छ भने १२ हप्ताभन्दा बढीको गर्भपतन गराउनेको संख्या ४५ मात्र रहेको यादवले जानकारी दिइन्। यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने पर्सा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार ४९८ मात्र थियो। तीमध्ये २० वर्ष मुनिका ५९ र २० वर्षमाथिको संख्या १ हजार ४३९ थियो। अघिल्लो आर्थिक वर्षमा पर्सामा १२ हप्तासम्मको गर्भपतन गराउने १ हजार ४६९ जना र १२ हप्ताभन्दा बढीको गर्भ पतन गराउने २९ थिए। 

यस्तै वीरगन्ज महानगरपालिकामा पनि सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको छ। महानगरपालिकाको स्वास्थ्य महाशाखाले उपलब्ध गराएको तथ्यांकमा वीरगन्ज महानगरमा गत आर्थिक वर्ष २०८०/८१ मा १ हजार ३७७ जनाले सुरक्षित गर्भपतन गराएका छन्। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने १ हजार २८९ मात्र थियो। 

महानगरमा गत आर्थिक वर्षमा २० वर्ष मुनिका १२९ जना युवतीले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्ष माथि उमेरका  १ हजार २४८ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन्। तीमध्ये १२ हप्तासम्मको गर्भपतन गराउनेको संख्या १ हजार ३३२ छ भने १२ हप्ता भन्दा बढीको गर्भपतन गराउनेको संख्या ४५ जनामात्र रहेको स्वास्थ्य महाशाखाकी अधिकृत इन्दिरा लोहनीले जानकारी दिइन्। 

यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने वीरगन्ज महानगरपालिकामा सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार २८९ मात्र थियो।  तीमध्ये २० वर्ष मुनिका ५९ जना र २० वर्षमाथिको संख्या १ हजार २३६ जना थियो। अघिल्लो आर्थिक वर्षमा वीरगन्ज महानगरपालिकामा १२ हप्तासम्मको गर्भपतन गराउने १ हजार २६० जना र १२ हप्ताभन्दा बढीको गर्भ पतन गराउने २९ जना थिए। 

पर्सामा सुरक्षित गर्भपतनका बारेमा नागरिकमा सचेतना बढ्दै गएका कारण यो सेवा लिनेहरुको संख्या बढेको स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्सिङ अधिकृत यादवले बताइन्। उनका अनुसार केही वर्ष यता जिल्लाका १४ वटै पालिकामा किशोरकिशोरलाई लक्षित असुरक्षित यौनसम्पर्क, यसले पार्ने असरका साथै सुरक्षित गर्भपतन बारे सचेतनामुलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ।

गत वर्षमात्रै स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लाका चार स्थानमा समुदायमै सुरक्षित गर्भपतन सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्। 

हाल सुरक्षित गर्भपतन सेवा उपलब्ध जिल्लाका ७ सरकारी स्वास्थ्य संस्थामा पनि दक्ष जनशक्तिको अभाव रहेकाले सेवा प्रवाहमा समस्या भइरहेको यादवले बताइन्। उनका अनुसार सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्यकर्मीले एसबिए (दक्ष प्रसूतीकर्मी )को दुई महिना तालिम लिएपछि एमए (मेडिकल एबोर्सन)को पनि ५ दिनको थप तालिम लिनुपर्छ। अनि मात्र उ सुरक्षित गर्भपतन सेवा दिनका लागि दक्ष हुन्छ।

तर उक्त तालिम लिएका स्वास्थ्यकर्मीको कमीका कारण जिल्लाका बाँकी १० पालिकाका सरकारी स्वास्थ्यबाट सुरक्षित गर्भपतनको सेवा सञ्चालन गर्न नसकिएको यादवले बताइन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.