समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्छ : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा कांग्रेस महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै समाजलाई अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उनले कुनै पनि अवस्थामा मुलुक समावेशी समानुपातिक प्रणालीबाट पछि हट्न नसक्ने धारणा राखे । उनले भने, ‘समानुपातिक र प्रत्यक्ष चुनावमा केही समस्या छन्। तर समावेशी अति आवश्यक पनि छ। यो देशमा समावेशी प्रणाली मात्रै होइन, समावेशी सोसाइटी छ‚ यसलाई अझ बढी पारदर्शीमात्र होइन, उत्तरदायी बनाउनु पर्छ।’
मुलुकको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउन नसक्ने देखिएपनि आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने गरि तयारी गर्नुपर्ने उनको भनाई छ।