सहकारी ठगी प्रकरण : म्याद थपका लागि पूर्वडीआईजी जोशी कास्की अदालतमा

सहकारी ठगी प्रकरण :  म्याद थपका लागि पूर्वडीआईजी जोशी कास्की अदालतमा

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई  जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। अनुसन्धानका लागि म्याद थप गर्न जोशीलाई अदालत उपस्थित गराएको कास्की प्रहरीले जनाएको छ।

सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक जोशीलाई प्रहरीले आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको थियो। काठमाडौं महानगरपालिका–१ नक्साल निवासी जोशी सेवा निवृत्त नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) समेत हुन्। उनको जन्मघर मालारानी–२ अर्घाखाँची हो।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदनमा जोशीलाई कानुनअनुसार कारबाहीका लागि सिफारिस गरेको थियो। समितिले जोशीसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको छ। समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएलगत्तै त्यसलाई सरकारसमक्ष पठाउन सभामुखले निर्देशन दिएका थिए।

उनीहरूले सुप्रिम, सूर्यदर्शन,सानोपाइला, सहारा र स्वर्णलक्ष्मी सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम लिएर ठगी  गरेको समितिले ठहर गरेको छ। यी सहकारीबाट मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँ प्रवाह भएको समितिका सभापति सूर्य थापाले बताएका छन्। सञ्चालकको हैसियतले जोशीको पनि रकम अपचलनमा संलग्नता पुष्टि भएको समितिको ठहर छ।  तर, जोशीले समितिको बैठकमा सहकारीमा आएको रकमबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए। समितिको अध्ययनले भने उनको दाबी पुष्टि गर्दैन। 

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलन गरेको जाहेरीमा पूरक अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। जोशीलाई पक्राउ पछि आइतबार नै जहाजमार्फत पोखरा लगिएको थियो।

सोही प्रकरणमा मुछिएका जीबी राईलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। 

गोर्खा मिडिया दर्ता गर्दा २०७७ साल भदौ १० गते जीबी राई र छविलाल जोशीले ५०/५० प्रतिशत सेयर लगानी गरेका थिए। त्यसबेला सुरुमा पुँजी ५ करोड थियो। पुँजी बढाएर १२ करोड पुर्‍याउने प्रक्रियामा छबीले आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिएका थिए। त्यसपछि जीबीको ५०, छविको ३५ र रविको १५ प्रतिशत सेयर कायम भएको थियो। छविले आफू प्रहरी परिसरमा कार्यरत रहँदा जीबीसँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग भेट भएको समितिलाई जवाफ दिएका छन्। ०७५ सालमा सेवा निवृत्त भएपछि जोशी जीबीले चलाएको नेटवर्किङ व्यवसाय नेचर हव्र्समा जोडिएका थिए। उनीसँगै व्यावसायिक साझेदारका रूपमा पछि गोर्खा मिडिया नेटवर्कमा पनि साझेदारी गरेका थिए।  

समितिको प्रतिवेदनअनुसार,छविले बुटबलको सुप्रिम सहकारीबाट २ करोड ५० लाख रुपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए। वीरगञ्जको सानो पाइला सहकारीबाट १ करोड ८६ लाख रुपैया ऋण लिएका थिए। पछि मनमुटाव बढेपछि जोशी गोर्खा मिडियाबाट अलग भएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.