विद्यार्थीलाई शिक्षकले मरणासन्न बनाए, दबाबमा मिलाइयो घटना

विद्यार्थीलाई शिक्षकले मरणासन्न बनाए, दबाबमा मिलाइयो घटना
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचामा निजी स्कुलका शिक्षकले विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको घटना दबाबमा मिलाएको पाइएको छ। 

सुन्दरहरैँचा नगरपालिका-१० स्थित बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षक विजय राईको कुटाइबाट कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालिका घाइते भएकी थिइन्। उक्त घटनामा संलग्न शिक्षक राईले भने उन्मुक्ति पाएका छन्। उनीविरुद्ध कानुनी कारबाही नै भएन। पाइपले निर्घात कुटपिट गर्दा बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको छ। 

पीडित पक्षलाई दबाब दिएर घटना मिलाइएको पाइएको छ। प्रहरीका अनुसार सुन्दरहरैँचा-९ घर भएकी बालिकालाई शिक्षक राईले असोज ४ गते शुक्रबार कुटपिट गरेका हुन्। संखुवासभाको चिचिला गाउँपालिका-२ घर भएका राई सुन्दरहरैँचा-१२ मा बसेर बोर्डिङ पढाउँथे। उनी गणित विषय पढाउँछन्। 

अभिभावकका अनुसार लेखाइ गल्ती भएको र नपढेको भन्दै शिक्षक राईले पाइपले कुटपिट गर्दा घाइते भएकी बालिकाको विराट चोकस्थित सुकुना सामुदायिक अस्पतालमा उपचार गराइएको थियो। तर, चौतर्फी दबाब दिएर कानुनी कारबाहीमा जान रोक लगाइएको गुनासो उनीहरूको छ। दबाब दिएरै घटना सामसुम पारिएको उनीहरू बताउँछन्।

घटनापछि अभिभावक इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेका थिए। उनीहरूले कारबाहीको माग राखेर शिक्षक राईविरुद्ध किटानी जाहेरी दिने तयारी गरे। तर, जाहेरी दिनबाट रोक लगाइयो। घाइते बालिकाका बुवाले सबैको दबाबका कारण कुटपिटमा संलग्न शिक्षकविरुद्ध जाहेरी दिन नपाएको गुनासो गरे। 

उनका अनुसार शिक्षकले शरीरका विभिन्न भागमा अन्धाधुन्ध पाइपले कुटपिट गरेका हुन्। ‘कुटपिटबाट छोरीलाई चोटपटक लागेको छ। कुटाइ पनि कति हो कति,’ उनी भन्छन्, ‘शरीरको पछाडिको भागमा अति धेरै चोटपटक छ। छोरी अहिलेसम्म राम्ररी उठ्न र हिँडडुल गर्न सकिरहेकी छैनन्।’

बालिका निद्रामा पनि डराउने र तर्सिने गरिरहेको अभिभावक बताउँछन्। पीडा सहन नसकेर छोरी रुने र विद्यालय जान नमान्ने गरेको बुवाले बताए। ‘हामीले थाहा पाउँदा शौचालयसमेत जान सक्ने अवस्था थिएन। शौचालय पनि साथीहरूले लगेछन्। अमानवीय तरिकाले कुटपिट गरिएको छ। चोटपटक हेर्दा शरीर नै सिरिङ्ग हुन्छ। अहिले समेत राम्ररी हिँडडुल गर्नसक्ने अवस्था छैन। डरका कारण विद्यालय जान नमान्ने गरेकी छन्,’ उनले भने। 

आफू कुटपिटमा संलग्न शिक्षकलाई मुद्दा हाल्नुपर्छ भन्ने पक्षमा भएपनि अरूले दबाब दिएका कारण सम्भव नभएको उनको गुनासो छ। ‘गाउँघरको घटना भएकाले मिल्नुपर्छ। मुद्दा हाल्न हुँदैन भन्दै सबैले दबाब दिएपछि हाम्रो केही लागेन,’ उनी भन्छन्, ‘त्यसपछि आगामी दिनमा यस्तो घटना नहोर्‍याउने भनी कागज गरेर छाडिएको छ। छोरीको अवस्था हेर्दा चैं आफ्नै आँसु थामिदैन।’ घटनाका बारेमा प्रहरी कार्यालयमै छलफल र मिलापत्र भएको बालिकाका बाबुको भनाइ छ। 

शिक्षक राईले स्कुलमा अरु बालबच्चालाई पनि कुटपिट गरेको कुरा विद्यार्थीहरूले सुनाएका उनले बताए। भने, ‘मेरी छोरीलाई कुटेको दिन अरु २ जनालाई पनि कुटपिट गरिएको रहेछ। अरुलाई चोटपटक लागेन। मेरी छोरीलाई चैं मरणासन्न हुने गरी कुटेछन्। शरीरभरि चोट छ। धदौ १७ गतेसमेत विद्यार्थीलाई कुटपिट गरेका रहेछन्। निजी स्कुलमा शिक्षकको अत्याचार धेरै भयो। बालबालिकामाथि बारम्बार कुटपिट भइरहेको खुल्यो।’ 

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्रीले घटनाका बारेमा प्रहरी जानकार रहेको बताए। कुटपिटमा संलग्न शिक्षकसँग सहमति गरेर जाहेरी नदिइकन पीडित पक्ष हिँडेकाले कानुनी कारबाहीको प्रक्रिया भने अघि बढाउन नपाइएको उनको भनाइ छ। 

स्कुलका प्रिन्सिपल गणेशप्रसाद दाहालले घटनालाई सामान्य भनेका छन्। ‘विद्यार्थीलाई कुटेको भएपनि अभिभावकसँग कुरा मिलिसक्यो। अबदेखि त्यस्तो गल्ती नगर्ने सहमति शिक्षक र अभिभावकबीच भएको छ। हामीसँग अभिभावकहरू हातेमालो गरेर जानु भयो। अहिले सबै कुरा सामान्य भइसकेको छ,’ उनले भने।

शिक्षकले कुटपिट गरेर बालिकालाई घाइते बनाएको विषयमा २ पक्षबीच छलफल गरेर सहमति गरिएकाले अन्यथा सोच्न आवश्यक नभएको दाहाल बताउँछन्। भन्छन्, ‘विद्यार्थी कुट्ने शिक्षकलाई हामीले कारबाही गर्नुपर्ने अवस्था भएन। अबदेखि उहाँ (शिक्षक)ले नै म पढाउन आउँदिन भन्नु भएको छ।’

घटनापछि शिक्षक राई भने मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका छन्। मोबाइल अफ भएकाले घटनाका बारेमा उनीसँग थप बुझ्न पाइएन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.