जलवायु परिवर्तनले कृषि प्रणाली र खाद्य सुरक्षामा चुनौती थपेको छ: मन्त्री अधिकारी

जलवायु परिवर्तनले कृषि प्रणाली र खाद्य सुरक्षामा चुनौती थपेको छ: मन्त्री अधिकारी
सुन्नुहोस्

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताएका छन्। 

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी (जिएफएसएस/यूएसएआइडी) कृषिमा प्रत्यक्ष वित्तीय लगानी (जिटुजी)को सोमबार काठमाडौंमा शुभारम्भ गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले दुई तिहाइ ग्रामीण जनताको जीविकोपार्जनको माध्यम कृषि रहेको बताएका हुन्। 

कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा लगभग २४५ योगदान पुर्‍याएको चर्चा गर्दै मन्त्री अधिकारीले भने, ‘कृषिमा उच्च लागत, कम उत्पादकत्व, मानव श्रममा आधारित, गुणस्तरीय कृषि सामग्रीहरू (बीउ, मल, सिँचाइ, मेशिन)मा सीमित पहुँच र अव्यवस्थित बजारहरूले बाधा पुर्‍याइरहेको छ।’

किसानहरू र उद्यमीहरूले कृषि ऋण र सरकारी सहयोग सहज रूपमा पाउन नसकेको जनाउँदै मन्त्री अधिकारीले त्यसलाई सहज, छिटो र छरितो बनाउन सरकार लागि परेको बताए।
 
जलवायु परिवर्तनको असर र प्रभाव कृषि क्षेत्रमा देखिन थालेको जनाउँदै मन्त्री अधिकारीले विश्व नै यस क्षेत्रमा संवेदनशील हुनुपर्ने बेला आएको बताए। जलवायु परिवर्तनको असरले कृषि उत्पादकत्व र उत्पादनलाई घटाइरहेको जनाउँदै मन्त्री अधिकारीले भने,‘कृषि प्रणाली र खाद्य सुरक्षामा थप चुनौतीको रूपमा देखिएको छ।’

कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषि क्षेत्रलाई व्यवसायीकरण र औद्योगिकीकरणतर्फ अग्रसर गराउन सरकारी, निजी, सहकारी र विकास साझेदारहरूको समन्वयात्मक प्रयास आवश्यक रहेको औँल्याए। विकास साझेदार, निजी क्षेत्र, सहकारी र किसानका नव प्रवर्द्धनशील  विचार, अनुभव र स्रोतहरूका सरकार हातेमालो गरेर अघि बढ्न चाहेको जनाउँदै मन्त्री अधिकारीले सबैलाई सहकार्यका लागि आह्वान गरे। 

सरकारले कृषिमा लगानीको दशक घोषणा गरेको काम गरी रहेको जनाउँदै कृषि मन्त्री अधिकारीले कृषिमा लगानी बढाउन आवश्यक र युवा पुस्तालाई आकर्षित गर्नका लागि आवश्यक कानुन संशोधनको तयारी पनि भइरहेको जानकारी दिए।

ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजीले कृषिमा आधारित आर्थिक विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषिलाई मजबुत बनाउने, खाद्य र पोषण सुरक्षामा सुधार गर्ने, गरिबी घटाउने, र निजी क्षेत्रको लगानी बढाउने नीति वातावरण सिर्जना गर्न मद्दत पुग्ने उनले दाबी गरे।

नेपालको आर्थिक समृद्धिको लागि कृषिमा रूपान्तरण भएकोमा जोड दिँदै त्यसका लागि लिनुपर्ने नीति र बाटो बारे थप सुझावको पनि आफूले अपेक्षा गरेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.