अत्यधिक गर्मी बढेपछि वीरगन्जका विद्यालयहरू दुई दिनका लागि बन्द
वीरगन्ज : तराई–मधेसमा केही दिनयता अत्यधिक गर्मी बढेर विद्यार्थीहरू कक्षाकोठामै बेहोश हुन थालेपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै महानगरपालिकाले असोज ८ र ९ गते दुई दिन महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
सोमबार महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सार्वजनिक सूचना जारी गर्दै हाल अत्यधिक बढेको गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै असोज ८ र ९ गते महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरिएको बताएका छन्।
अत्यधिक गर्मी बढेर विद्यार्थीहरू कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरूले विद्यालयहरूमा बिदा दिनुपर्ने आवाज उठाउँदै आइरहेका थिए।
पर्सा तथा बारा लगायत मध्यतराईका जिल्लाहरूमा अहिले असोजमा पनि गर्मी अत्यधिक बढिरहेको छ। यस क्षेत्रमा तापक्रम बढेर अधिकतम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको छ। सोमबार मात्रै पर्साकै पोखरियास्थित जिल्ला उच्चांगल माविमा गर्मीले ८ जना छात्राहरू बेहोश भएका थिए।