प्रचण्डको प्रस्ताव- सांसदलाई कानुन बनाउने काम दिउँ, मन्त्री विज्ञबाट छानौं
काठमाठौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्री विज्ञबाट छान्नुपर्ने बताएका छन्। संविधान कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रममा सोमबार उनले निर्वाचन जितेका सांसदहरूलाई कानुन बनाउन केन्द्रित गर्नुपर्ने बताए।
उनले निर्वाचन प्रणालीमा समस्या हुँदा सांसदहरू मन्त्री बन्न तछाड मछाड गरेको र मन्त्री बनेपछि निर्वाचन खर्च उठाउन उद्धत रहेको बताए। 'जोसँग करोडौं पैसा छ, उसले चुनाव लड्ने अनि जोसँग छैन, उसले चुनाव लड्नै नपाउने? करोडौं खर्च गरेर चुनाव जित्ने मान्छेहरूको अर्को लक्ष्य भनेको मन्त्री बन्ने हुन्छ। मन्त्री बनेपछि निर्वाचनमा भएका खर्च उठाउने हुन्छ,' प्रचण्डले भने। सोही कारण देशमा भ्रष्टाचार मौलाएको उनको आरोप छ।
'अब सांसदलाई कानुन बनाउन केन्द्रित गरौं। जो कार्यकारी हुन्छन्, उनले विज्ञबाट मन्त्री बनाउँछन्। किनकि ५ वर्षभित्र विकास निर्माणका काम पनि गर्नुपर्ने हुन्छ। सांसदलाई विधेयक बनाउनमात्र लगाएपछि भ्रष्टाचार पनि हुँदैन। मन्त्री बन्न लछार पटार पनि गर्दैनन्,' उनले भने।
अध्यक्ष दाहालले संविधान संशोधनको विरोधी आफूहरू नभएको बताए। छलफल गरेर आवश्यक संविधान संशोधन गर्न सकिने उनको भनाइ छ। उनले संविधान संशोधनमा सबैभन्दा बढी तर्क राख्ने राजनीतिक अधिकार पनि आफूहरूलाई भएको बताए। 'निर्वाचन प्रणाली, शासकीय स्वरूप र समावेशी समानुपातिकताका विषयमा एकपटक गम्भीर समीक्षा गरौं। संविधान संशोधनमार्फत जनताको हित हुनेगरी संविधानमा व्यवस्था गरौं। यही पद्धति र प्रक्रियाबाट हामी झन् अप्ठ्यारोमा जान्छौं,' उनले भने।
अध्यक्ष दाहालले थ्रेस होल्ड र दुई दलीय व्यवस्था ल्याएर अधिनायकवाद लाद्न खोजेको आरोपसमेत लगाए। संविधानले बहुदलीय व्यवस्था भनिरहेका बेला दुई दलीय व्यवस्था ल्याइ देश खतरामा जाने उनको भनाइ छ। 'संविधानलाई अनावश्यक छेडखानी र्ने हो भने 'प्यान्डोरा बक्स' खुल्नेछ। त्यसले देशमा सम्हाल्नै नसक्ने खतरा हुन्छ। अराजकता बढ्छ,' उनले भने।