काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईं
काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पदबहाली गरेका छन्। सरकारले गत भदौ २७ गते गुरागाईंलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको थियो। यसअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत थिए।
पदबहालीका क्रममा गुरागाईंले प्रशासन विभागका प्रमुखको अधिकार प्रत्यायोजन पत्रमा हस्ताक्षर गरेका थिए। उनले प्रशासन विभागका प्रमुख नमराज ढकाललाई अधिकार प्रत्यायोजन गरेर कार्य प्रारम्भ गरेका थिए। विभाग प्रमुख ढकालले निवर्तमान प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन प्रदान गरेका थिए।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नेतृत्वको प्रतिष्ठा तथा ओजले काठमाडौंको गौरव वृद्धि भएको र प्रतिष्ठा बढेको उल्लेख गरे। अहिलेको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी सहकार्यबाट काम गर्नुपर्ने उनको भनाइ छ। उनले नेतृत्वको नीति र कर्मचारी संयन्त्रको कुशल प्रशासनिक एवं व्यवस्थापकीय सीपले काठमाडौंको उचाइ बढ्दै जाने बताए।
यसअघि रहेका प्रमुख प्रशासकीय अधिकृत रहेका प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।