आरोहीले खचाखच मनास्लु भिलेज

आरोहीले खचाखच मनास्लु भिलेज
आरोहीले भरिएको बेसक्याम्पस्थित मनास्लु भिलेज। तस्बिर सौजन्य : प्रबल लामा
सुन्नुहोस्

गोरखा : ४८०० मिटर उचाइमा अवस्थित मनास्लु बेसक्याम्प अहिले आरोहीले खचाखच छ। पर्यटन विभागबाट अनुमति लिएका ३ सयभन्दा धेरै आरोही अहिले सहयोगीका साथमा मनास्लु बेसक्याम्पमा आरोहण अभ्यास गरिरहेका हुन्। 

यो सिजनमा नेपालमा सबैभन्दा धेरै आरोहीले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्ने पर्यटन विभागको तथ्यांकमा उल्लेख छ। आरोही, शेर्पा, गाइड, पोर्टर, कुकलगायतका स्वदेशी, विदेशीहरू अहिले बेसक्याम्पमा रंगीचंगी टेन्ट गाडेर मनास्लु भिलेज बनाइ बसोबास गरिरहेका छन्।

मनास्लुको काखमा रहेको सामागाउँमा ट्रेकिङमा गएका पर्यटकले भरिभराउ छ भने बेसक्याम्पस्थित मनास्लु भिलेज आरोहीहरूले खचाखच छ। आरोही र पर्यटकका कारण सामागाउँ र बेसक्याम्पमा ठूलो चहलपहल रहेको स्थानीय वीरबहादुर लामा बताउँछन्। उनका अनुसार सामागाउँमा भन्दा बढी चहलपहल बेसक्याम्पमा छ। आरोहण सिजन सुरु भएसँगै गाउँलेहरू पनि भारी व्यवस्थापन गर्न आरोहीसँगै बेसक्याम्प पुग्ने गरेको उनले जानकारी दिए। 

‘अहिले गाउँमा भन्दा धेरै मान्छेहरू बेसक्याम्पमा छन्’, उनले भने, ‘आरोही, गाइड, भरिया, हिमाल आरोहण गराउने कम्पनी गरेर दैनिक रूपमा कम्तीमा पनि ३०० जना माथि (बेसक्याम्पमा) नै हुन्छन्।’ हिमाल आरोहण गर्ने सिजन सुरु भएसँगै गाउँमा उत्साह बढेकोे उनी बताउँछन्।  ‘आरोहणको सिजन सुरु भएसँगै स्थानीयवासीले पनि गाइड, भरिया बनेर राम्रो आम्दानी गर्ने गरेका छन्’, उनले भने, ‘हिमाली भेगको आम्दानीको मुख्य स्रोत पर्यटन नै हो, त्यसैले पनि यसको उचित व्यवस्थापन गर्नु जरुरी छ।’ nullसामागाउँमा पनि दैनिक ५०–६० जना ट्रेकिङ गर्ने विदेशी पर्यटकहरू आउने गरेको उनले जानकारी दिए। ‘पर्यटनले गर्दा नै यहाँका स्थानीयहरूले काम पाइरहेका छौं’, उनले भने। 

मनास्लु आरोहणका लागि यसवर्ष ३ सय ८ जना विदेशी आरोहीले अनुमति लिएका छन्। २८ टिमका २ सय २६ जना पुरुष आरोही र ८२ महिला अरोही अहिले मनास्लु आरोहणका लागि बेसक्याम्पमा आइसकेका छन्। उनीहरूबाट सरकारले ३ करोड ७१ लाख ४३ हजार १ सय ४३ रुपैयाँ राजस्व संकलन गरेको छ। मनास्लुलगायत देशभरका अन्य ९ हिमाल आरोहणका लागि यस वर्ष ३ सय ६२ जना आरोहीले अनुमति पाएका छन्। सबै गरी सरकारले चार करोड ५२ लाख ४५ हजार ८ सय ४८ रुपैयाँ राजस्व आम्दानी गरेको पर्यटन विभागको अभिलेखमा उल्लेख छ। 

मनास्लु आरोहणका लागि सबैभन्दा धेरै २०७९ सालमा ४ सय ४ जानले अनुमति लिएका थिए। २०८० मा २६ समूहका ३०१ जनाले अनुमति लिएका थिए भने यस वर्ष बढेर ३०८ जनाले अनुमति लिएका पर्यटन विभागकको तथ्याङकमा उल्लेख छ। 

मनास्लु बेसक्याम्पमा यही सेप्टेम्बर १०–१२ देखि टेन्टहरू बाँधेर क्याम्प लगाइएको थियो। अबको ९–१० दिनका उक्त क्याम्प हट्ने सामागाउँका स्थानीयहरू बताउँछन्। यो वर्षका लागि हिमाल आरोहणको समयावधी सकिन लागे पनि ट्रेकिङ सिजन भने मंसिरसम्म चल्ने छ। त्यतिबेलासम्म गाउँमा पर्यटकहरूको रौनक कायमै रहने सामागाउँका होटल व्यवसायीहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.