धोबिनीको बजेटमा कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता
वीरगन्ज : पर्साको धोबिनी गाउँपालिकाको १०औं गाउँसभा सम्पन्न भएको छ । गत असारमै हुन हुनुपर्ने गाउँसभा हालै सम्पन्न भएको हो ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष मन्जु देवीले चालु आर्थिक वर्षका लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् । उनले ३९ करोड १ लाख १८ हजार रुपैयाँको बजेट प्रस्तुत् गरेकी हुन् । धोबिनी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ल्याएको नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटनलगायतका विषयलाई मुख्य प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले बताए ।
गाउँपालिका अध्यक्ष मदन चौहानले असारमै हुनुपर्ने गाउँसभा विविध कारणवस हुन नसक्दा विकास निर्माण, सेवा प्रवाहलगायतमा निक्कै समस्या भएको बताए । उनले अब भने गाउँसभा सम्पन्न भएसँगै ती समस्याको निराकरण हुने बताए । विगतका कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा पालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विकास निर्माणका काममा विगतका भन्दापनि अझ राम्रो हुने गरी अगाडि बढ्ने उनले बताए ।