आज जितियाको दोस्रो दिन, सन्तानका लागि ३६ घण्टे कठोर व्रत बस्दै मिथिलानी

आज जितियाको दोस्रो दिन, सन्तानका लागि ३६ घण्टे कठोर व्रत बस्दै मिथिलानी
फाइल तस्बिर।
सुन्नुहोस्

महोत्तरी :  सन्तानको सुस्वास्थ्य अनि पारिवारिक कल्याणको कामनासहित मिथिलाञ्चलका महिलाले ३६ घण्टे कठोर जितिया पर्व आरम्भ गरेका छन्। थुकसमेत निनिकीकन अनि सेचत भई जीतिया पर्वका लागि उपवास बसेका छन्।

पर्वको अवधिभरि जानीनजानी कुनै सामग्री भाँचिए वा टुट्न गए व्रत नै अधुरो रहने जनविश्वास छ। त्यसपछि पुनः अर्को वर्ष पनि पर्व मनाउन नपाइने धार्मिक मान्यता रहेको छ।

पर्वको पहिलो दिन हिजो नहाय खाय विधि मनइयो। व्रतालुहरू चोखो भएर पर्व आरम्भ गरेका थिए। त्यस्तै आज दोस्रो दिन पर्वको मुख्य दिन हो। आज एका बिहानै दर खान्छन्। मंगलबार एकाबिहान सूर्योदयभन्दा चार घडीपूर्व व्रतालुहरु वेसारको पातमा दही, च्यूरा, फलफूलसहित भगवान जितुवाहनलाई प्रसाद अर्पण गरी दर खाने चलन छ। भगवानलाई अर्पण गरेको प्रसाद बिहानीपख बच्चाहरूलाई खान दिइन्छ।

भनिन्छ यो व्रत अन्य पर्वको तुलनामा धेरै नै कठिन मानिन्छ। उपवासको क्रममा व्रतालुले  थुकसमेत निल्न हुँदैन भन्ने मान्यता छ। यस वर्ष व्रतको प्रारम्भ सोमबारबाट भएको हो। पहिलो दिन जलाशयमा गई व्रतालु स्नान गरि घिरौलाको पातमा सरसोको तेल र खँडी (पिना) चढाएका थिए। ती तेल आ–आफ्ना सन्तानको शरीरमा दलेर सुख शान्ति एवं दीर्घायुको कामना गरेका थिए। त्यसपछि सदुवा महिलाले माछा एवम् कोदोको रोटी खाएका थिए भने विधवा महिलाले भात च्यूरा र कोदोको रोटी खाएका थिए।

व्रत अवधिमा व्रतालुले नजिकको जलाशयमा गई सामुहिक रुपमा राजा जितवाहनको कथा सुन्छन्। आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन्।

जितिया दुई प्रकारको रहेको गौशालाकी शिक्षिका ववि सिंहले बताइन्। उनी भन्छिन्, 'अविवाहित महिलाले गर्ने व्रतलाई ‘खर जितिया’ भनिन्छ। त्यस्तै विवाहितले महिलाले गर्ने व्रतलाई ‘जितिया’ भन्ने गरिन्छ।'

आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानलाई सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने व्रतालु रामकली देवीले बताइन्। उनी भन्छिन्, 'सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित व्रतालु मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन व्रत बस्ने परम्परा छ। यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै व्रतालुले दिवङ्गत आफन्त महिलालाई तर्पण दिने गर्दछन्।

द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका  पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक लोककथामा उल्लेखित रहेको गौशाला दुर्गा मन्दिरका पूजारी शिवशंकर मिश्राले बताए।  सोही धार्मिक मान्यताले यो कठोर व्रत बस्ने परम्परा बसेको पूजारी मिश्रा बताउँछन्। राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको उनको भनाइ छ।
 
यस्तो छ व्रतको विधि
 
जितिया पर्वको पहिलो दिन भदौ शुक्लपक्ष सप्तमीमा नुहाएर खाना खाने चलन छ। यस दिन व्रतालुहरू पोखरी वा कुनै जलाशयमा गइ नुहाएर सूर्य भगवानलाई जलको अर्घ दिन्छन् र तोरीको तेल, पिना र सिन्दूर भगवान् जितमाहनलाई र आफ्नो स्वर्गीय माता–पिता तथा सासू–ससुराको नाममा चढाउँछन्।

यस दिन खानाको रूपमा कोदोको रोटी, साग, भात र माछा खाने विशेष परम्परा छ। अरु पर्वहरूमा पर्व सुरु हुनुभन्दा दुई–तीन दिनअघिदेखि नै माछामासुजन्य खानेकुरा खान वर्जित गरिन्छ। तर जितिया एउटा यस्तो पर्व हो जसमा माछा खाएर पर्व सुरु गरिन्छ। 

दोस्रो दिन अष्टमीको रात करिब ३–४ बजेतिर घिरौंलाको पातमा दही, चिउरा, मिठाइ, केरा, काँक्रो, अम्बा जस्ता फलफूल जितमाहन, पितृ तथा चिलको नाममा चढाइन्छ। चिलका नाममा चढाइएको पातलाई घरमाथि छानोमा फालिन्छ भने पितृ तथा भगवान् जितमाहनको नाममा चढाइएको पातलाई व्रतालुले आफ्ना श्रीमान् वा छोराछोरीलाई खान दिन्छन्। 

व्रतालुले पनि आफूले चढाएको प्रसाद खान्छन्। यो खाना राति ३ बजेसम्ममा खाइसक्नुपर्ने परम्परा छ। यो खाना (दर) नै ब्रत अगाडिको अन्तिम खाना हो। तेस्रो दिन अर्थात् नवमीको दिन पनि फेरि एकाबिहानै पहिलो दिन जसरी नै बेसारको पातमा दही, चिउरा, मिठाई, केरा, काँक्रो, अम्बा, लड्डु, आँपको अमोट, तुलसीको पात आदि भगवान् जितमाहन, पितृ तथा चिलका नाममा चढाई अगरबत्तीले पूजा गरिन्छ र त्यसलाई पानीले छर्की पूजाको समापन गरिन्छ। सप्तमीदेखि सुरु भएर नवमीसम्म चल्ने यस पर्वमा अष्टमीको दिन, रात र नवमीको पारणसम्म पूर्णरुपले निराहार र निर्जल गरेर ब्रत बस्ने गरिन्छ।

जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरूमा भगवान जितुवाहनको प्रतिमा राखी पूजा आजासँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ।

यस वर्ष व्रतालुले बुधवार दिउँसो व्रतको विधिवत् रुपमा समापन गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.