मर्यादित पत्रकारिता, इज्जतदार पत्रकार

मर्यादित पत्रकारिता, इज्जतदार पत्रकार
सांकेतिक तस्बिर।

नेपालमा प्रविधिको विकास भएसँगै अहिले विभिन्न कुरामा थुप्रै परिवर्तन र चुनौती आएको देखिन्छ, जसमध्ये एउटा पेसा हो, पत्रकारिता। कसैले तपाईं के गर्नु हुन्छ ? भनेर प्रश्न गर्दा ‘पत्रकारिता’ भन्दा मान्छेको हेर्ने दृष्टिकोण नै फरक हुन्छ। के साँच्चिकै पत्रकार र पत्रकारिता पेसालाई यसरी नै हेरिन्छ त ? पत्रकारिता पेसालाई मान्छेहरूले नै बुझ्न नसकेको हो कि ? भनेर प्रश्नहरू उब्जन्छन्। धेरैजसो ठाउँ र व्यक्तिबाट पत्रकारिता पेसाबारे निकै नराम्रा टिकाटिप्पणी पनि सुन्दै आएका छौं। जसकारण मनमा अलि चिसो पसेकोे महसुस हुन्छ।

सायद स्वयं पत्रकार भएर होला, पत्रकार र पत्रकारिता पेसाबारे कसैले नराम्रो शब्द प्रयोग गर्दा भने मन खिन्न हुन्छ, जुन स्वाभाविक हो। अहिलेको समय सामाजिक सञ्जाल प्रयोग गर्नेहरूले समेत ‘म पत्रकार हुँ’ भनेर पत्रकारिता पेसाकै दुरूपयोग गरिरहेका छन्। के यो पेसा नै यति सस्तो छ त ? के पत्रकारिता पेसाको कुनै महत्व, नीतिनियम र आचारसंहिता छैन ? के भएर जोकसैले यसको गलत प्रयोग गर्दै आइरहेका छन् ? यस्ता चुनौतीको सामना गर्दै अहिले इमान्दार पत्रकारले पत्रकारिता पेसाको मानमर्यादाहरू जोगाएर अघि बढ्न निकै गाह्रो परेको देखिन्छ।

पत्रकारिता पेसा सुरुआत गर्दा रिपोर्टिङका लागि फिल्ड जान्थें। जहाँ कसैले पत्रकारलाई राम्रो व्यवहार गरेको देख्थें भने कसैले नराम्रो व्यवहारसँगै होच्याएर पनि बोलेको भेट्थें। त्यो देख्दा पत्रकार त सबै एउटै हुन् तर किन यसरी फरक व्यवहार गर्छन् ? भन्ने प्रश्न आउँथ्यो। त्यतिमात्र नभएर एउटा पत्रकारले नै अर्को पत्रकारको कुरा काट्दै हिँडेको देखें। आखिर त्यस्तो गर्नुको कारण के ? प्रश्न मनमा अनेक आउँथे। जब यसबारे अध्ययन गर्दै, सिक्दै र बुझ्दै गएँ, बल्ल मेरा सबै प्रश्नको जवाफ पाए।

किन होच्याउँछन् पत्रकारलाई ? : “पत्रकार हुँ’ भनेर इज्जत कमाउन सजिलो छ तर वास्तवमा त्यस्तो छैन। पत्रकारिता पेसामा लागेर कमाएको इज्जत जोगाएर राख्न अझै कठिन छ। स्थानीय प्रहरी प्रशासनलाई झुक्याएर गैरगतिविधि गर्ने र सवारीसाधनमा प्रेस लेखेर त्यसको दुरूपयोग गरेको समेत पाइन्छ। जसले गर्दा एउटा पत्रकारका कारण पूरै पत्रकारिता पेसामाथि प्रश्न उठ्छ, उठेको छ। व्यवसायीहरूलाई ‘म पत्रकार हो, मैले भनेको जस्तो गर्नुपर्छ नत्र भने...!’ जस्ता कुरा गरेर समाचार लेख्छु, भनी धम्क्याउने घटनाले पनि पत्रकारिता पेसामा नराम्रो धक्का लागेको छ।

अर्कोतर्फ ‘भाइरल’ र ‘भ्यूज’ बढाउने चक्करमा पत्रकारिताको सामान्य मर्म नै नबुझी जथाभावी र जसले पनि समाचार बनाइदिँदा समाचारको ‘मोडेल’ र ‘मूल्य’ हराएर गएको छ। अहिले पत्रकारिता र सञ्चारमाध्यम नियन्त्रणमा भएकै कारण गरिएको दुरूपयोगले समग्र पत्रकारिता पेसामा विभिन्न रूपमा प्रश्नहरू उठेका छन्। युट्युबको लोकप्रियता बढेसँगै यसको गलत प्रयोगले पनि पत्रकारिता पेसामा एक प्रकारको संकट निम्तिएको छ। ‘पत्रकार हुँ’ भनेर हातमा क्यामेरा बोकेर ‘कसको श्रीमति भागेर गयो’, ‘कसको श्रीमान्ले अर्को बिहे गर्‍यो’, ‘कसको घरमा झगडा भएको छ’, आदि भिडियो बनाएर युट्युबबाट पैसा कमाउने क्रियाकलापका कारण आज पत्रकार र पत्रकारिता पेसाप्रतिको दृष्टिकोण पृथक बन्दै गएको छ। यस किसिमका ‘पत्रकार !’ले सत्यको खोजी गर्नुभन्दा एकोहोरो आरोप देखाएर आचारसंहिताविपरित काम गरिरहेका छन्।

प्रत्यक्ष रूपमा राजनीतिक हस्तक्षेप : अहिले कुनै बलियो र व्यावसायिक रिपोर्टिङ गर्न पत्रकारितामा कुटनीतिक तथा राजनीतिक पत्रकारिता गर्नेहरूको व्यावसायिक छाता संस्थाको आवश्यकता भइरहेछ। स्वतन्त्र मिडियामा देखिएको मुख्य चुनौती भनेकै प्रत्यक्ष रूपमा राजनीतिक हस्तक्षेप हो, जसकारण राजनीतिक हस्तक्षेपले पत्रकारिता पेसालाई संकटमा पुर्‍याएको छ। स्वतन्त्र मिडिया र पत्रकारिता पेसामा राजनीतिक हस्तक्षेपले गम्भीर चुनौती खडा गरेको छ। किनकि स्वतन्त्र पत्रकार औंलामा गन्नुपर्ने अवस्था छ। एउटा पत्रकारले कुनै राजनीतिक समाचार लेख्छ, लगत्तै अर्को पार्टीको पत्रकारले यसले हाम्रो पार्टीको समाचार लेखेछ, यसका विरुद्ध पनि लेख्नुपर्छ भनेर साटो फेर्छन्।

पत्रकार भएपछि के कुनै राजनीतिक पार्टीमा आवद्ध हुनैपर्छ ? के पार्टीमा लागेर मात्र पत्रकारिता गरिन्छ ? फाइदा, बेफाइदा दुवै होलान् तर यस्तो अवस्थामा गलत भएको ठाउँमा गलत भएको छ भन्ने हिम्मत जुटाउन त्यो पत्रकारले सक्दैन। यसले पत्रकारितामा गर्नुपर्ने आचारसंहिता उल्लंघन हुँदैन र ? यस्तो देख्दा एउटा इमान्दार र इज्जतदार पत्रकारले के सोच्छ ? अचम्म लागेर आउँछ। अध्ययन गर्दा बखतको पत्रकारिता बुझाइ र पत्रकार भएर काम गर्दा देखेभोगेको वास्तविकता फरक ढंगले बोध गरिरहेछु। कतिपय ठाउँमा त आचारसंहिता कागजमा सीमित देख्छु। सँगै गर्व लाग्ने काम पनि थुप्रै भेटेकी छु। धेरै पत्रकारहरू जसले राम्रो र उदाहरणीय काम गरेका छन् र पत्रकारिता पेसा मर्यादित भइरहन्छ भन्नेमा विश्वस्त हुन सकिन्छ।

पत्रकार भएर सत्य–तथ्य समाचार लेख्नु पत्रकारको धर्म हो। तर कतिपयले उल्टै ढाकछोप गर्ने गरेको पाइन्छ। गलत कार्यको समाचार लेख्नु पत्रकारको मर्यादा होइन ? धेरै घटना लेखेर भएका होलान्, तर केही यस्ता घटना छन् जुन नलेखेका कारण बदनाम भइरहेका छन्। कतिपय पत्रकारहरू महासंघको सदस्यता लिएका तर व्यावसायिक पत्रकारिता नगरी राजनीति बढी गरिरहेका कारण ‘पत्रकार’ र ‘पत्रकारिता’ प्रतिको आमबुझाइ नकारात्मक बढी भएको पाइन्छ। पार्टीको पत्रकार एउटा पाटो, पार्टी एकजना वरिष्ठ पत्रकारले मलाई प्रश्न गर्नुभयो, ‘तपाईं कुन पार्टीबाट हो ? सबै ठाउँमा पुगेको देख्छु त !’ मलाई त्यो कुरा सुन्दा रिस उठेन, बरु हाँसो लागेर आयो। मनले प्रश्न गर्‍यो, के पत्रकार हुन पार्टीको सहारा लिनैपर्छ ? के स्वतन्त्र पत्रकार भएर पत्रकारिता गर्न सकिँदैन ? मर्यादित पत्रकारिता गरेर इज्जतदार पत्रकार नबन्दा वा बन्न नसक्दा पत्रकारलाई आममानिसले हेर्ने दृष्टिकोण नै फरक भएको छ। यसलाई हामी पत्रकारले चिर्नुको अब विकल्प छैन। पत्रकार स्वयंले आफूलाई परिवर्तन गर्न जरुरी छ। यसको जरो भनेको सोच हो। 

सोच सकारात्मक भए मर्यादित पत्रकारिता सम्भव छ। मर्यादित पत्रकारिता भयो भने हामी इमान्दार र इज्जतिलो पत्रकार हुनेमा दुईमत छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.