मुगु ६५ औं साक्षर जिल्ला घोषणा

मुगु ६५ औं साक्षर जिल्ला घोषणा
६५ औं साक्षरता जिल्ला घोषण सभा। तस्बिर : जीवन सेजुवाल।
सुन्नुहोस्

मुगु : मुगु जिल्ला ६५ औं जिल्लाका रूपमा पूर्ण साक्षर जिल्ला घोषणा भएको छ। सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।

जिल्लामा १ नगरपालिका र ३ गाउँपालिका गरी ४ स्थानीय तह छन्। सबै  स्थानीय तह साक्षर घोषणा भएसँगै सोमबार मुगु जिल्लालाई देशकै ६५ औं जिल्लाका रुपमा घोषणा गरिएको हो।

छायाँनाथ रारा नगरपालिका ९६.२५ प्रतिशत, सोरु गाउँपालिका ९६.५ प्रतिशत, मुगुमकारमारोङ गाउँपालिकाका ९५ प्रतिशत र खत्याड गाउँपालिका ९६ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ। साक्षर हुन तोकिएका सूचकहरू पूरा भएपछि  साक्षर जिल्ला  घोषणा गरिएको हो।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी , जिल्ला समन्वय समितिका प्रमुख मन्जनबहादुर कार्की , छायांनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम लगायत  पालिका प्रमुखहरूले सामूहिक प्रतिबद्धतासहितको हस्ताक्षर ब्यानरमा हस्ताक्षर गर्दै  साक्षर जिल्ला घोषणा गरेका छन्।

तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार छायाँनाथ रारा नगरपालिकालाई गत असोज २ गते खत्याड गाउँपालिका र मुगुमकामारोङ्ग गाउँपालिकालाई असोज ४ गते र सोरुगाउँपालिकालाई असोज ५ गते गरी चार वटै स्थानीय तह साक्षर घोषणापछि सोमबार मुगु जिल्लालाई नै साक्षर जिल्ला घोषणा गरिएको हो।

नेपालको जनगणना २०७८ अनुसार मुगुको कुल ६४ हजार ५ सय ४९ जनसंख्या छ। जसमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाइएको छ ।

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरू पूरा भएपछि पालिका तथा  जिल्लालाई  साक्षर घोषणा गर्ने नीति अनुरूप मुगु जिल्लाको साक्षरता सूचक ५० प्रतिशतभन्दा माथि पूरा भएकोले  साक्षर जिल्ला घोषण गरिएको जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले बताए। 

'हिजो गाउँ घरमा प्रदेशबाट आफन्तहरूले पठाएको चिठी पढ्नका लागि गाउँ गाउँमा पढेको मान्छे खोज्दै हिँडिनु पर्ने अवस्था थियो। तर अहिले त्यो अवस्था छैन,महिला दिदी वहिनिहरु कोहि साक्षर थिएनन्, कतै बजारतिर जाँदा सामानहरूको मूल्य अनुसार नगद दिन सक्ने साक्षर थिएनन्, आज सबै जान्न सक्ने भएका छन्', नेपाल शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भामले बताइन्।

कार्यक्रममा  नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिए पनि स्थानीय सरकारहरूले १२ सूचकहरू मध्ये ६ सुचक पूरा गरेका छन् बाँकी रहेका ६ वटा सूचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम, योजना बनाउँदा ध्यान दिन बताएका थिए।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले छायाँनाथ रारा नगरपालिका जिल्लाकै पहिलो साक्षर पालिका बनाउन सफल भएको बताएका छन्।  छायाँनाथ रारा नगरपालिकामा ५ वटा सामुदायिक सिकाइ केन्द्र स्थापाना भएका छन्। त्यसै अनुरूप अध्ययनका क्रियाकलाप अगाडि बढाइ छायाँनाथ रारा नगरपालिकाकालाई सत प्रतिशत साक्षर बनाउने योजनामा रहेको नगर प्रमुख भामले बताए।

दुर्गम जिल्लाको स्वास्थ्य,शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारका लागि आफूले कर्णाली प्रदेश सरकारमा उपलब्धीमुलक कार्यमा ध्यान दिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिवद्धता व्यक्त गरे। मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् भने अझै १२ जिल्ला साक्षर  जिल्ला घोषणा हुन बाँकी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.