सुस्तामा विद्युत पुग्यो, तर २५ प्रतिशत अन्धकारमै बस्नुपर्ने

सुस्तामा विद्युत पुग्यो, तर २५ प्रतिशत अन्धकारमै बस्नुपर्ने
सुन्नुहोस्

परासी : झोलुंगे पुल बनेसँगै नवलपरासीको सुस्ताबस्तीमा विद्युत पुगेको छ। नारायणी नदीका कारण पोल राख्ने समस्याले गर्दा त्यहाँ विद्युत पुग्न सकेको थिएन। पुल बनेसँगै सुस्तास्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो। 

विद्युत पुगे पनि त्यहाँका करिब २५ प्रतिशत सुस्तावासी बिजुली बाल्नबाट वञ्चित हुने देखिएको छ। पटक पटक भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको सुस्ताबस्तीका अधिकांशको लालपूर्जा र नागरिकता छैन। लालपूर्जा र नागरिकता नभएकै कारण बिजुली पुगे पनि मिटर राख्न नपाउँदा उनीहरू बिजुली बाल्नबाट वञ्चित हुने भएका हुन्। 

तीनतर्फबाट भारतीय भूमि र एकतर्फ नारायणी नदीले घेरिएको सुस्तावासीलाई आफ्नै भूमिमा आउन भारतीय बाटो भएर आउनुपर्ने बाध्यता थियो। सोही बाध्यतालाई मध्यनजर गरेर नारायणी नदीमा १ हजार ५७१ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको हो। यो नेपालकै सबैभन्दा लामो पुल भएको दाबी गरिएको छ। 

सोही पुलबाट पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँबायाँबाट ५ किलोमिटरको ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्‍याइएको नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख इन्जिनियर प्रशान्त कुमार झाले बताए। 

दुई हप्ताअघि विद्युतको सबै काम सकिएको हो। ‘लाइन टेस्टको कामसमेत सकिएर विद्युत बाल्न मात्र बाँकी छ। उद्घाटनपछि विद्युत बाल्ने भनिएकाले केही समय रोकेका हौं’, केन्द्र प्रमुख झाले भने। 

नयाँ बनेको पुल र विद्युत प्रसारण लाइनको उद्घाटन गर्न असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेल सुस्ता पुग्दै छन्। ‘उद्घाटनपछि सोही दिन सुस्तामा राष्ट्रिय प्रसारणको विद्युत बल्ने झाले बताए। सुस्ता गाउँपालिका-५ मा पर्ने नारायणी नदीपारीको सुस्ताबस्तीमा ३५० घरधुरीमा करिब ४ हजार बढीको बसोबास छ। जसमध्ये २५ प्रतिशत बढीको नागरिकता र लालपूर्जा नभएको वडा नम्बर ५ का सदस्य आदम खाँले बताए। 

वर्षौदेखि बसोबास गर्दै आएका अधिकांश स्थानीयको नागरिकता र लालपूर्जा नभएकै कारण मिटर राख्ने समस्याले उनीहरू विद्युत उपभोगबाट वञ्चित हुने भएको खाँको भनाइ छ। लालपूर्जा नभएपनि तिरो तिरेको प्रमाणका आधारमा धरौटी रकम लिएर मिटर जडान गरिदिने तर नागरिकता भने अनिवार्य रहेको विद्युत वितरण केन्द्रका प्रमुख झाले बताए। ‘नागरिकता नभई जग्गा जोतभोगकै आधारमा मिटर जडान गर्न सकिँदैन। त्यसैले उनीहरू विद्युत उपभोगबाट वञ्चित हुने देखिन्छ’, झाले भने।  

पालिकाको सिफारिसका आधारमा मिटर राख्न दिन माग 

यहाँको प्रमुख बाली उखु हो। उखुबाट भेलि उत्पादनका लागि स्थानीयले जेनेरेटरबाट क्रसर उद्योग सञ्चालन गर्दै आएका छन्। केहीले जेनेटरबाटै फर्निचर उद्योगसमेत सञ्चालन गर्दै आएका छन्। राष्ट्रिय प्रसारण लाइनको विद्युत नुहुँदा सोलारले क्षमता धान्ने नभएपछि जेनेरेटरबाट स्थानीयले उद्योग सञ्चालन गर्दै आएका थिए। 

तर, विद्युत पुगे पनि मिटर राख्न नपाउने भएपछि उनीहरू समस्यामा परेको वडा सदस्य आदम खाँले बताए। लालपूर्जा र नागरिकता नभएका कारण क्रसर उद्योग लगायतका विद्युतबाट सञ्चालन हुने अन्य उद्योग सञ्चालन गर्न समस्या भएकाले पालिकाको सिफारिसका आधारमा विद्युत मिटर जडानको व्यवस्था गरिदिन जनप्रतिनिधिहरूले माग गर्दै आएका छन्। वर्षौंदेखि बसोबास गर्दै आए पनि नागरिकता र लालपूर्जा पाउन नसकेकालाई बसोबासका आधारमा दुवै प्रमाण उपलब्ध गराउन पटक पटक संघीय सरकारसँग माग गरे पनि वास्ता नगर्दा सामान्य सुविधा उपभोगबाट सुस्तावासी वञ्चित हुन परेको वडा सदस्य खाँले बताए। 

सोलार प्लान्टबाट बिजुली बाल्ने क्रसरमा जडान भएका मिटरलाई नै प्रयोग गर्ने वा नयाँ मिटर राखेर स्थानीयलाई विद्युत उपलब्ध गराउने भन्ने विषयमा वैकल्पिक ऊर्जा प्रवर्द्धनसँग छलफल भइरहेको विद्युत वितरण केन्द्रका प्रमुख झाले बताए। समुदायमार्फत सोलार विद्युतको व्यवस्थापन हुँदै आएको छ। वैकल्पिक प्रवर्द्धन केन्द्रसँग सोलार प्रयोग गर्दा राखेका मिटर प्रयोग गर्ने सहमति भएपनि स्थानीयहरूसँग नागरिकता  र लालपूर्जा मागेर विद्युत वितरण गरिने झाको भनाइ छ। 

तर, उद्योग सञ्चालन गरेका स्थानीयसँग नागरिकता र लालपूर्जा नभएका कारण उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने भएको स्थानीय रविन्द्र जयसवालले बताए। राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले नयाँ विद्युत मिटर जडानका लागि स्थानीयसँग निवेदन माग गरिएको वितरण केन्द्र प्रमुख झाले बताए। करिब १ करोड ३३ लाखको लागतमा सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याइएको हो। 

राष्ट्रपति सुस्ता जाँदै

सुस्तामा निर्माण भएको झोलुंगे पुल र राष्ट्रिय प्रसारण लाइनको विद्युत उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल असोज १० गते बिहीबार सुस्ता जाने भएका छन्। सुस्ता गाउँपालिका-५ को सुस्ताबस्ती पुग्न नारायणी नदीमा १ हजार ५७१ मिटर लम्बाइको पुल निर्माण गरिएको छ। त्यस्तै सोलारबाट विद्युतीकरण हुँदै आएको सो बस्तीमा दुई हप्ता अघि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्‍याइएको छ। पुल र विद्युत प्रसारण लाइन दुवैको एकै पटक उद्घाटन गर्न राष्ट्रपति पौडेल सुस्ता आउन लागेको बताइएको  छ। 

राष्ट्रपति बिहीबार दुई बजे आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन्। तत्कालीन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा पुल निर्माण कार्य सुरु भएको हो। २०७२ सालमा निर्माण सम्झौता भएपछि तिमिल्सिनाले शिलान्यास गरेका थिए। सम्झौता भएको ८ वर्षपछि निर्माण कार्य सम्पन्न भएको झोलुंगे पुलको उद्घाटन नभएपनि महिना दिनअघिबाट आवतजावत सुरु गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.