मानसिक स्वास्थ्यका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने
काठमाडौं : किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ र १६ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने जनाएको हो।
महाशाखाको नेतृत्व र बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्कको आयोजनामा हुने सम्मेलनमा नेपालसहित विभिन्न मुलुकका गरी २५० बढी विज्ञहरू सहभागी हुने नेटवर्कका अध्यक्ष बाल मानसिक रोग विशेषज्ञ डा अरुण कुँवरले जानकारी दिए।
युवाहरूमा मानसिक स्वास्थ्य समस्या व्यापक बन्दै गइरहेकाले त्यसलाई नियन्त्रण गर्न सम्मेलनको आयोजना गर्न लागिएको उनले बताए।
विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उदेश्यका साथ सम्मेलनको आयोजना गरिएको उनले बताए।
सम्मेलनमा पूर्ण सत्रहरू, सामूहिक छलफल, कार्यशाला र प्रस्तुतीकरणहरू समावेश हुने र निष्कर्षहरूलाई सरोकारवाला निकायमा सुझावका रूपमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ।