मुस्ताङबाट १०३ वटा च्यांग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ
पोखरा : मुस्ताङबाट १०३ वटा च्यांग्रा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-७ मासवार बस्ने ५० वर्षीय मोहम्मद फकिर रहेका छन्।
असोज १ गते मुस्ताङको वारागुरङ मुक्तिक्षेत्र गाउँपालिका-३ वारागुरु बस्ने ताक्ला गुरुङको घरगोठमा गई फकिरसहित ३ जनाले ४२ लाखमा खरिद गर्ने र साथमा रकम नल्याएकोले पोखरामा गएर दिने बताएका थिए।
त्यसपछि गुरुङ समेतलाईसँगै ल्याएकोमा पोखरा ड्यामसाईड स्थित होटलमा सुतेको अवस्थामा उक्त च्याङ्ग्रा सहितको गाडी लिई सम्पर्कविहीन भएका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार उनलाई पोखरा महानगरपालिका-४ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए। पक्राउ परेका फकिरले असोज २ गते पोखरा-२५ घट्टेखोला स्थितबाट अन्यत्र सवारी साधनहरुमा लोड गरी बिक्री वितरण गरेको वयान दिएका छन्।