दुईपटक अस्पताल शिलान्यास, ६० लाख पेस्की, काम भने शून्य

दुईपटक अस्पताल शिलान्यास, ६० लाख पेस्की, काम भने शून्य
सुन्नुहोस्

डोल्पा : ५ शय्याको अस्पताल। दुई पटक उद्घाटन। तीन वर्षअघि नै ठेकेदारलाई ६० लाख पेस्की। तैपनि, अस्पतालको जग पनि खनिएन। सुन्दा अचम्म मान्नुहोला, तर विकट जिल्ला डोल्पाको कथा हो। ०७७ मंसिरमा मुलुकका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको भर्चुअल माध्यमबाट एकैपटक शिलान्यास गरियो। त्यस बेला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पाँच शय्याको आधाभूत अस्पताल बनाउने भन्दै शिलान्यास भयो। तर, तीन वर्ष भयो, अस्पतालको जग पनि बनेन। 

दुर्गम तथा ग्रामीण भेगका जनतालाई घर आँगनमै चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यकासाथ अस्पतालको शिलान्यास गरिएको थियो। अचम्म त, उक्त अस्पताल निर्माण सुरु गर्ने भन्दै दुई पटक त शिलान्यास नै गरियो। सुरुमा हालको नगर स्वास्थ्यचौकी भएको स्थानमै अस्पताल भवनको शिलान्यास गरियो। तर, जग्गा धनीले विवाद गरेपछि त्यहाँ स्थगित गरियो। पुनःअर्कोपटक वडा नं १ स्थित रल्लीमा तत्कालिन कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढाले अस्पताल भवनको शिलान्यास गरिन्। दुई पटक शिलान्यास भएको अस्पतालको काम तीन वर्ष बितिसक्दा पनि सुरु नै नभएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ३ करोड ५७ लाख ६६ हजार दुई सय २९ रुपैयाँमा रेलिगेर बुद्ध हिमाली जेभीले अस्पताल निर्माणको ठेक्का लिएको थियो। ठेकेदारलाई ताकेता गर्न पटक–पटक नगर कार्यपालिकाको बैठकमा कुरा उठाउँदा पनि सुनुवाइ नभएको जनप्रतिनिधिहरू नै गुनासो गर्छन्। जनताको स्वास्थ्यसँग जोडिएको अस्पताल बनाउन ढिलासुस्ती भएको भन्दै नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू सहितको कार्यपालिका बैठकमा कुरा राख्दासमेत सुनुवाइ नभएको त्रिपुरासुन्दरी नगरपालिकाका नगर कार्यपालिका सदस्य भक्तमान नेपालीले दुखेसो पोखे।

जबकी अस्पतालका लागि ठेकेदार कम्पनीलाई तीन वर्षअघि नै ६० लाख पेस्की दिइएको थियो। अस्पताल भवनका लागि हालसम्म एउटा सिन्का पनि नभाँचिनु सिंगो नगरपालिका र जनप्रतिनिधिकै बेइज्जत भएको नेपालीले बताए। 

उता, शिलान्यास भवनको काम सुरु नै नभएपछि अस्पतालको नाममा जग्गा पास गर्ने जग्गाधनीले शिलानै भत्काएर बाली लगाउन सुरु गरिसकेका छन्।

अस्पताल बनेर सेवा प्रवाह सुरु हुनुपर्ने ठाउँमा तीन वर्षदेखि मकै, सिमी, चिनो लगायतका अन्नबालीहरू लगाउन लागिएको हो। जग्गाको मुाअब्जा पनि लिने, बाली पनि आफैं लगाउने भन्दै रल्लीका स्थानीयले जग्गाधनीको बिरोध जनाएका छन्। तर, अस्पताल बनाउने कामका लागि जग्गा दिँदासमेत अहिलेसम्म काम सुरु गर्न नसक्नु नगरपालिकाको ठूलो कमजोरी भएको जग्गाधनी बलबित्ते नेपालीले बताए। अस्पताल बनेर जनताले स्वास्थ्य सेवा पाउने बेला कामको नाममा सिन्को नभाँचिएको उनको भनाइ छ। नगर स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले नगरपालिकामा एउटा आधारभुत अस्पताल अत्यावश्यक रहेको बताए। 

अस्पताल नहुँदा सामान्य जाँचका लागि पनि समय र पैसा दुवै खर्च गरेर सदरमुकाम दुनै जानुपर्ने अवस्था नगरबासीलाइ रहेको उनको भनाइ छ।

नगरपालिका भित्र अस्पताल बनेर सेवा सुरु हुनुपर्ने बेला शिलान्यास भएको तीन वर्ष बित्दा पनि काम सुरु नहुनु राम्रो संकेत नभएकाले तत्काल काम सुरु गर्न उनले आग्रह गरे।

कहाँ गयो ६० लाख पेस्की ?

३ करोड ५७ लाख ६६ हजार दुई सय २९ रुपैयाँमा रेलिगेर बुद्ध हिमाली जेभीले अस्पताल निर्माणको ठेक्का लिएको थियो। ०७८ साल जेठ २४ गते त्रिपुरासुन्दरी नगरपालिका र निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार ०८० कात्तिक ३१ गतेसम्ममा अस्पताल निर्माणको काम सक्नुपर्ने हो। तर, हालसम्म कामनै सुरु गरिएको छैन।

सम्झौता भएको एक महिनापछि ०७८ असार ३१ गते तत्काल काम सुरु गर्ने भन्दै निर्माण ब्यवसायि जनक केसीलाई नगरपालिकाले साठी लाख पेस्की दियो। तर, पेस्की दिएको तीन वर्ष बितिसक्दा समेत कार्यारम्भ भएन। आधारभूत अस्पताल निर्माणमा अहिलेका नगर प्रमुख जनचन्द्र रोकायलगायतका जनप्रतिनिधिले चासो नदिएकै कारण निर्माण कार्य अलपत्र परेको नगरपालिकाकै अधिकारीहरू बताउँछन्।नगर प्रमुख जनचन्द्र रोकायले अस्पताल निर्माणमा ढिलाइ भएको स्विकार गरे। १५ शय्याको अस्पताल निर्माण गर्नुपर्नेमा पाँच शय्याको अस्पतालको डीपीआर भएपछि काम सुरु हुन नसकेको उनले बताए। पेस्की बापत् लिएको ६० लाख रुपैयाँ शतप्रतिशत हर्जाना सहित फिर्ता गर्न ताकेता गरिएको समेत उनले जनाए।

रेलिगेर बुद्ध हिमालीसँग सम्झौता भएको ठेक्का एक वर्षअघि २०७९ मंसिर १३ गते नै तोडिसकिएको र तत्काल पेस्की असुलका लागि छलफलसमेत भइसकेको उनको भनाइ छ। अब छिट्टै नयाँ ठेक्का खोलेर निर्माण कार्य सुरु गर्ने उनको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शय्याको अस्पताल बनाउन बजेट पठाउँदा पनि पाँच शय्याको ठेक्का खोल्नु नगरपालिकाको प्राविधिक कमजोरी भएकोले ढिलासुस्तीको जिम्मेवारी पनि उसैले लिनुपर्ने बताएको छ।

के भन्छन् निर्माण व्यवसायी ?

रेलिगेर बुद्ध हिमाली जेभीका जनक केसीले नगरपालिकाकै कमजोरीका कारण आफूले काम गर्न नसकेको बताए। ‘पन्ध्र शय्याको डीपीआर बनाउनुपर्नेमा पाँच शय्याको बनाएर ठेक्का खोल्नु नगरपालिकाको प्रमुख गल्ती हो। मैले काम गर्छु भनेर एक्साभेटरलगायतका निर्माण सामग्रीसमेत तयार पारेको थिएँ। तर, नगरपालिकाले काम गर्न दिएन’, केसीले भने, ‘नगर कार्यपालिकाको निर्णय गरेर आफुले लिएको ६० लाख पेश्कीको अन्य कुनै काम गरेर फस्र्यौट गर्ने भनियो तर कहाँ गर्ने के गर्ने भनेर भनिएन। म काम गर्न सधंै तयार छु।’ ठेक्का तोडेको एक बर्ष बितिसक्दा पनि आफूलाई थाहा नभएको ब्यवसायी केसीको भनाइ छ। आधारभुत अस्पताल निर्माणका लागि वडा नं १ मा पर्ने रल्लीमा जग्गासमेत जुटाइसकिएको छ। जग्गा उपलब्ध गराएबापत नगरपालिकाले झन्डै ३६ लाख रकम बाँडिसकेको निवर्तमान नगर उपप्रमुख चन्द्रकुमारी बुढाका सल्लाहकार शेरबहादुर बुढाले बताए।

त्यतिबेला नै अस्पताल निर्माणको सम्पुर्ण प्रक्रिया टुंगिए पनि हालसम्म पनि काम सुरु हुन नसक्नु दुखत भएको उनको भनाइ छ। आधारभूत अस्पताल निर्माणको नाममा तीन वर्षअघि दिएको ६० लाख पेश्की निर्माण व्यवसायीले अझै फस्र्यौट नगरेको भन्दै महालेखा परीक्षकको कार्यालयलेसमेत ताकेता गरिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.