जितियाको सामाजिक समरसता
जहाँ आस्थाको कुरा हुन्छ, त्यहाँ पौराणिक मान्यता र कथाहरू उब्जिन्छन्। हिन्दु धर्ममा विभिन्न चाडपर्व र चाडपर्वका आआफ्नै परम्परा र मान्यता हुन्छन्, जुन कुनै न कुनै कथासँग सम्बन्धित हुन्छन्। कथा र विश्वाससँग जोडिएको यस्तै एउटा व्रत हो ‘जीवितपुत्रिका’ जसलाई मानिसले बोलचालको भाषामा ‘जितिया’ पनि भन्छन्। तराईमा अहिले जितिया पर्वको रौनक र उल्लास छ। विशेषगरी आमाहरूले सन्तानको कल्याण र सुरक्षा सुनिश्चित गर्न कठोर उपवास गरी मनाउने धार्मिक अनुष्ठान हो।
यी पर्वहरूले लोकसँग साइनो गाँसेर मूलतः समाज र लोकहितकै पक्षमा महत्त्वपूर्ण योगदान मात्रै गरेका छैनन्, संस्कृतिको पहिचान र प्रतिधिनित्व कायम गरेका छन्। सांस्कृतिक रूपले बृहत् भू–भागमा आआफ्नै नाम र प्रकारले जितिया पर्व मनाउने गरिन्छ। थारू समुदायको मूल चिनारी बोकेको जितिया तराई हुँदै काठमाडौं उपत्यकामा पनि फैलिएको छ। किंवदन्तीअनुसार देवी पार्वतीले देवाधिदेव महादेव शिवलाई सोध्छिन्– पृथ्वीलोकमा महिलाले सन्तानको सफलता, समृद्धि, उन्नति आदि गर्न कुनै व्रतको व्यवस्था छ ? उत्तरमा महादेवले सुझाएछन्– ‘जितिया’। तत्पश्चात् नै सुरु भएको यो जितियाको व्रत आज पनि थारू समुदायमा छ। सँगै मिथिलाञ्चलका मधेसी समुदायअन्तर्गतका यादव, तेली, कोइरी, मलाह, ब्राह्मण, कायस्थ, चमार, मुसहर, खत्वे, धानुक, नुनिया, सुडी, हलुवाई, कामत, कलवार, केवट, रौनियार, देव, दुसाध, झागडलगायत ४८ भन्दा बढी जातीय समुदायले मनाउँछन्। थारू, राजवंशी तथा खवासहरूले पनि यो पर्व मनाउँछन्।
जितिया व्रतको वर्णन विभिन्न हिन्दु धर्मग्रन्थ र पुराणहरूमा पाइन्छ। महाभारतमा द्रौपदीलाई धौम्य ऋषिले जितिया व्रतको महत्त्व र यसको पालना गर्ने विधिहरू सिकाएका छन्। त्यसैगरी, ब्रह्मवैव्रत पुराणमा पनि जितियाको महत्त्व उल्लेख गरिएको छ। पौराणिक कथाअनुसार जितमहान नामका एक गन्धर्व राजा राजकाज त्यागेर आफ्ना बाबुको सेवा गर्न जंगल गए। जंगल घुम्दै गर्दा उनले एक जना शोकाकुल वृद्धालाई देखे। उनले महिलालाई शोकको कारण सोधे। महिलाको शोकका कारण उनको एकमात्र छोरा गरुडलाई बुझाउनुपर्ने भयो। महिलाका अनुसार उनी नाग वंशकी छोरी रहेको र उनको एकमात्र छोरा रहेको बताइन्। उनले गरेको भाकलका कारण छोरालाई भोलि गरुडलाई भेटी चढाउनुपर्ने भएकाले शोकमा रहेको बताइन्।
जितमहानले ती वृद्धाको छोरो बचाउने वाचा गरे। भोलिपल्ट ती महिलाले भेटी चढाउने ठाउँमा गए। तिनका छोराको साटो आफूलाई नै गरुडसामु समर्पण गरे। गरुडले खान खोज्दा उनी तर्सिएनन्, प्रसन्न र अभय पो देखिए। त्यस्तो अभय अवस्था देखेर गरुडले उनको परिचय मागे। जितमहानले विस्तारपूर्वक आफ्नो परिचय दिए। उनको निर्भीकता र उदारताबाट गरुड प्रसन्न भए। गरुडले त्यसउप्रान्त बली नलिने र जितमहानको उपासना गर्ने आमाहरूका सन्तानको भलाइ हुने वरदान दिए। यसपछि महिलाले जितमहानको उपसना गर्दै जितिया सुरु गरेको पाइन्छ।
जितियासँग जोडिएको एउटा मात्र कथा छैन। अर्को कथा ‘चिल र स्याल’को छ। नर्मदा खोलाको किनारमा पाखरको एउटा रूख थियो। त्यस रूखमा एउटा माथिपट्टि पोथी चिलको बास थियो। त्यसको फेदमा पोथी स्यालको बास थियो। ती दुवैको आपसमा खुब मेल थियो। खोला नजिकको गाउँमा महिलाहरू असोजको कृष्ण पक्षमा जितमहान भगवान्को प्रार्थना गर्दै निर्जला व्रत बस्ने गरेको चिल र स्यालले थाहा पाए। उनीहरूले पनि गाउँका महिलाले झैं व्रत बस्ने निर्णय गरे। दुवै (स्याल र चिल) ले व्रत सुरु गरे। सोही दिन एक व्यापारीको छोराको मृत्यु भयो। साँझमा दाहसंस्कार गरेर सबै फर्केपछि बाँकी रहेका लास खाएर स्यालले व्रत तोड्यो। तर चिलले व्रत पूरा गर्यो।
अर्को जन्ममा चिल र स्याल दिदीबहिनी भएर जन्मिए। चिल (दिदी)को शिलवती र स्याल (बहिनी)को नाम कपुरावती रह्यो। कपुरावतीको बिहे त्यसै राज्यका राजा मलायकेतुसँग भयो। शिलवतीको बिहे बुद्धिसेन नामका साधारण व्यक्तिसँग भयो। जितमहान भगवान्को व्रत पूरा गरेकी शिलवतीले सातजना सुन्दर पुत्र जन्माइन्। कर्पुरावतीले पनि पुत्र जन्माइन् तर जन्मनासाथ मृत्यु हुने भएकाले जीवित कोही रहेनन्। कर्पुरावतीको मनमा ईष्र्या उत्पन्न भयो। उनले दिदीका छोराहरूलाई मार्ने षड्यन्त्र पनि रचिन्। तर भगवान् जितमहानको व्रत उपसना गरेको कारण शिलवतीका सातै छोरा जीवित रहे।
कपुरावती अन्तिममा यसको कारण पत्ता लगाउन दिदीको घर पुगिन्। दिदीले पूर्वजन्ममा चिल र स्यालको जुनीमा रहेका आफूहरू दुवै दिदीबहिनीले भगवान् जितमहानको व्रत बसेको कुरा स्मरण गराइन्। आफूले व्रत पूरा गरेको र बहिनी कपुरावतीले बीचमै व्रत तोडेको पनि सम्झाइन्। उनले त्यही व्रत पूरा गरेको प्रतापले छोराहरूको रक्षा भएको कुरा पनि बहिनीलाई सुनाइन्। त्यसै बेलादेखि आमाहरूले भगवान् जितमहानको पूजाआराधना सुरू गर्दै जितिया पर्व थालेको जनविश्वास छ। जितिया पर्वमा आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु स्नान गरी चोखो हुने हुन्छ। व्रतालुले नजिकैको पोखरीमा स्नान गरी घिरौंलाको पातमा पिना र तेल राखेर जिमुतवाहन देउतालाई अर्पण गर्छन्। साथै पर्वको संकल्प पनि गर्छन्।
व्रतालु महिलाहरूले तिथिअनुसार ओटघन (दर) खाने चलन हुन्छ, जसमा अनिवार्य रूपमा व्रतालु महिलाले ओल र माछा खाने चलन छ। यस्तै, सप्तमी तिथिको उत्तरार्धमा व्रतालु महिला ओङ्ठन गर्ने गरिन्छ। व्रत बस्नुअघि रात्रिको समयमा दही, चिउरा, मिठाईलगायतका सामग्री भोजनको रूपमा ग्रहण गरिन्छ। त्यसलाई ‘ओङठन’ भनिएको हो। अष्टमी तिथिको आरम्भसँगै उपवास सुरु हुन्छ। तिथिको समयमा हेरफेर भएको अवस्थामा व्रतालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ। नवमी तिथिको आगमनपछि पूजापाठ गरेर पारन गरेर अर्थात् खाएर जितिया पर्वको समापन हुन्छ।
विशुद्ध सामाजिक पर्व यसले सामाजिक मूल्य र मान्यता पालना गर्ने सन्देश दिन्छ। सामूहिक रूपमा नुहाउने, जितियाको कथा सुन्ने र नजिकको मेलामा गएर रमाइलो गर्ने जस्ता कुराले समाजमा एकअर्काको महत्त्व र सम्मानको भावना जागृत गर्छ। एक समुदायदेखि अर्को समुदायको अन्तरसम्बन्ध पनि यो पर्वले बनाउने गरेको छ। यसले समाजमा रहेको विभेद पनि धेरै हदसम्म अन्त्य गरेको छ।