हिरासतबाटै कैदी किन भाग्छन् ?

‘कमजोर संरचना, प्रहरी लापरबाही’

हिरासतबाटै कैदी किन भाग्छन् ?
जिप्रका धनुषाको नयाँ भवन, जहाँबाट १० जना कैदी फरार भएका थिए ।
सुन्नुहोस्

‘जिल्लाको  सुरक्षा अवस्था यति धेरै बिग्रिएको छ कि २४ घण्टा प्रहरीको निगरानी हुने जिल्ला  प्रहरी कार्यालयबाट नै कैदी भाग्छन् । योभन्दा बढी अरु के सूरक्षा चुनौती हुन  सक्छ ।’

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सोमबार बिहान सवा ३ बजे १० जना कैदी फरार भए। धनुषा प्रहरीको नयाँ भवनको १० फिट माथिको भेन्टिलेसनको रड काटेर उनीहरू फरार भएका हुन्। सयौंको सुरक्षा घेराबाट कैदीहरू सहजै भाग्न सफल भएको घटनाले सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ।

प्रहरीको हिरासत कक्षबाट भाग्नेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठा घर भई हाल काठमाडौं चाबहिल गणेश मन्दिरनजिक बस्ने २५ वर्षीय अमित कुमार झा (लागुऔषध), धनुषाको विदेह नगरपालिका ७ गिद्धाका २६ वर्षीय रञ्जित मण्डल (लागुऔषध), सोही स्थान बस्ने २४ वर्षीय रोशनकुमार मण्डल, सिरहाको सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभाष्कर कुमार यादव (लागुऔषध) र धनुषाको औरही नगरपालिका–२ का २३ वर्षीय विशाल मुखिया भागेका थिए।

यसैगरी भाग्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षका सुमित मेस्तर नाबालक (अभद्र व्यवहार), धनुषाकै नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल (अभद्र व्यवहार) र धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका ४ का २२ वर्षीय विक्की कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। हिरासतबाट फरार अभियुक्त सबै पक्राउ परिसकेका छन्। 

चौबिसै घण्टा सुरक्षाकर्मीको चौघेरामा रहने हिरासतबाटै उनीहरू कसरी भागे ? १० जना थुनुवा भागुन्जेल प्रहरीले किन चाल पाएनन् ? प्रहरीको मिलेमतो बिना यस्तो सम्भव छ त ?  यसबारे प्रहरीले चित्तबुझ्दो जवाफ दिन सकेको छैन। हिरासत कक्षको ड्युटीमा प्रहरी सहायक निरीक्षकको कमान्डमा ७ सदस्यीय टोली रहने गरेको स्रोतको दाबी छ।

यद्यपि १० जना थुनुवा प्रहरीकै अगाडिबाट भागेको घटनामा चरम लापरबाही हुनसक्ने भन्दै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको डीआईजी लालमणि आचार्यले बताए। सुरक्षा कमजोरीका विषयमा छानबिन गरेर दोषीमाथि आवश्यक कारबाहीका लागि केन्द्रीय प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरिने पनि डीआईजी आचार्यले जानकारी दिए। समितिले थुनुवा फरार भएको समयमा ड्युटीमा रहेका प्रहरीको भूमिका लगायतका विषयमा अनुसन्धान गर्ने छ।

थुनुवाको हिरासत ब्रेक यो पहिलो घटना भने होइन । यसअघि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ जना कैदी पर्खाल फोडेर भागेका थिए । उनीहरूलाई कैयौं सातापछि प्रहरीले पुनः पक्राउ गरेको थियो । सोही घटना घटेको एक हप्ता नबित्दै जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका थिए । जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका १३, किरतपुरका राजाबाबु मुखिया फरार भएका थिए ।

हिरासतको कमजोर संरचना र प्रहरीको लापरबाही
एकपछि अर्को गर्दै हिरासत ‘ब्रेक’ का घटनाले मुख्य गरी दुई विषय इंगित गरेको पूर्वडीआइजी हेमन्त मल्ल बताउँछन् । उनका अनुसार यस्तो घटनामा हिरासतको कमजोर संरचना र प्रहरीको लापरबाहीमध्ये एउटाले मुख्य भूमिका खेलेको हुन्छ ।

अहिलेसम्म भागेका थुनुवाको अवस्था हेर्ने हो भने हिरासतलाई दोष लगाएर उन्मुक्ति हुने अवस्था देखिँदैन । अधिकांश घटनामा प्रहरीको लापरबाही देखिएको भन्दै आलोचनासमेत हुने गरेको छ । धनुषामा भएको अधिकांश थुनुवा घटना हिरासतबाट निकै चलाखीपूर्ण तरिकाले थुनुवा भागेको घटनाले पनि प्रहरीको लापरबाहीलाई पुष्टि गर्छ ।

चोरी मुद्दाका अभियुक्तले म्याद थप गर्न अदालत लगेका बेला अदालतको शौचालयमा उनीहरूका साथीले पूर्व योजनाअनुसार ‘ह्याक्सो ब्लेड’ राखिदिएका थिए । सोही ह्याक्सो ब्लेड शरीरमा लुकाएर हिरासतसम्म पुग्न सफल भएकाले ग्रिलको रड काटेर भाग्न सफल भएको स्रोतको दाबी छ ।

अदालतबाट म्याद थप गरेर लगिसकेपछि उनीहरूको शरीर खानतलासी गरिएको भए यस्तो अवस्था आउने थिएन । तर, प्रहरीले यति सामान्य कुरामासमेत ध्यान नदिँदा उनीहरू हिरासत तोडेर भाग्न सफल भएका थिए । प्रहरीले गरेको विभागीय कारबाहीले ड्युटीमा रहेका प्रहरीको सामान्य गल्ती भएको कुरालाई पुष्टि गर्छ । यसरी प्रहरीकै सुरक्षा घेराभित्र पटक–पटक कैदीबन्दी भाग्ने क्रम भने रोकिएको छैन । यस्ता घटनामा प्रहरीकै मिलेमतो हुन सक्ने आशंका उब्जिएको नागरिक समाजका अगुवा महाशंकर ठाकुर बताउँछन् ।

हिरासत खाली गरेर भागे
हिरासत कक्षमा रहेका १० जना थुनुवामध्ये भेन्टिलेसन फोडेर सबै निस्किएर भागे पनि १ जनालाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ । हिरासतबाट फरार भएका सबै थुनुवाहरू लागऔषध र चोरी मुद्दाका अभियुक्त हुन । 

जिप्रका धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरू फरार भएका थिए । थुनुवाहरूले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेको स्रोतको दाबी छ । थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचको विषयमा पनि अनुत्तरित प्रश्न उठिरहेको छ ।

थुनुवा कक्ष जस्तो संवेदनशील स्थानमा चौबिसै घण्टा प्रहरी तथा सीसीटिभीको निगरानी रहेको स्थानमा यस्तो लापरबाही प्रहरीका लागि चुनौतीको विषय भएको नागरिक समाजका अगुवा ठाकुरको भनाइ छ । थुनुवाहरूको कक्षसम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भए पनि प्रहरीले सुईकोसम्म नपाउनु जस्ता विषय शंकास्पद छन् ।

यसरी भागे कैदी जिप्रका धनुषाबाट सोमबार राति भागेका कैदीले हप्ता दिनअघि  नै भाग्ने योजना बनाएको रहस्य खुलेको छ । चोरी  मुद्दाका एक अभियुक्तले ७ दिन अघि नै बाहिरबाट भेट्न आउने आफन्तसँग ह्याक्सो  ब्लेड मगाएका थिए । ह्याक्सो ब्लेड मगाएर ५–६ दिन लगाएर रड काटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट  खुलेको छ । 

झन्डै १० फिट माथिको रड काटन एकले अर्कोको काँधमा चढेर पालैपालो रड काटेको अनुसन्धानमा  संलग्न एक अधिकृतले जानकारी दिए । उनले भने, ‘घटनामा एक जना चोरी मुद्दाका  अभियुक्तलाई अभद्र व्यवहारमा अनुसन्धानको लागि राखेका थियौं । उनी पटक–पटक पक्राउ परेर जिप्रका आउने गरेका थिए । उनले नै रड काटेर भाग्ने योजना बनाएका हुन् ।’ 

हिरासतमा  झन्डै २० भन्दा बढी कैदी थिए । अनुसन्धान अधिकृतले  भने, ‘टेलिभिजनको साउन्ड ठूलो पारेर रड काटने काम गर्ने रहेछन् । रड  काट्न बन्द भएपछि टिभी पनि बन्द गर्ने रहेछन् । रड काट्ने बेलामा एक जना कैदी सुरक्षाका लागि गेटमा बस्ने रहेछन् । 

प्रहरी अधिकारीहरू आउजाउ गरेको सूचना दिने रहेछन् ।’ प्रहरीले कैदीको चालै नपाई ड्युटी गर्दा उक्त घटना भएको अनुसन्धान अधिकृतले बताए । ‘४ घण्टा ड्युटीमा बस्ने प्रहरी पनि मोबाइलमा मात्रै झुन्डिएर समय  व्यतित गर्ने रहेछन्,’ उनले भने, ‘प्रहरी प्रमुख पनि निगरानीका लागि  त्यहाँ कहिल्यै पुग्दैनथे । 

अनुगमन पनि नाम मात्रैका लागि हुन्थ्यो ।  सुरक्षातर्फ कसैको ध्यान नै थिएन ।’ अर्का एक प्रहरी अधिकारीले भने, ‘जिल्लाको  सुरक्षा अवस्था यति धेरै बिग्रिएको छ कि २४ घण्टा प्रहरीको निगरानी हुने जिल्ला  प्रहरी कार्यालयबाट नै कैदी भाग्छन् । योभन्दा बढी अरु के सूरक्षा चुनौती हुन  सक्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.