१५ वर्षदेखि डेंगुको संक्रमण, किन भएन नियन्त्रण ?

१५ वर्षदेखि डेंगुको संक्रमण, किन भएन नियन्त्रण ?

काठमाडौं : मुलुकभर डेंगु फैलिँदा जो कोही व्यक्ति चाडबाडको मुखमा थला पर्ने जोखिम बढेको छ। यस वर्ष पनि डेंगुको संक्रमण उत्कर्षतिर छ। मुलुकभर १२ हजार ६ सय ४४ जनामा डेंगु संक्रमण पुुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यस वर्ष हुम्लाबाहेक ७६ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ। संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। डा. बुढाथोकी भन्छन्, ‘ज्यान गुमाएकामध्ये प्रायःजसो दीर्घरोगी भएको पाइएको छ।’

डेंगुले  विगत १५ वर्षदेखि पिरोलिरहेको छ। सरकारले लामखुट्टे खोज तथा नष्ट अभियानका लागि हरेक वर्ष करोडौं रकम विनियोजन गर्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ९८ लाख रकम विनियोजन भएको छ। साथै, ७७ वटै जिल्लामा पनि करिब २ करोड रकम विनियोजन गरिएको छ। तर, संक्रमण घट्नु साटो बर्सेनि बढ्दो छ। 

संघ, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष लामखुट्टेको प्रजनन स्थल नष्ट गरिरहेको दाबी गरे पनि प्रभावकारी हुन सकेको छैन। तर, हरेक वर्ष डेंगु संक्रमणबाट सर्वसाधारणको ज्यान गइरहेको छ। ‘सरकारले समयमै जिम्मेवारी बोध गरेन। सर्वसाधारण पनि हेलचेक्र्याइँ गर्ने प्रवृत्ति दोहोरिरहेको छ,’ स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘सरकारले जिम्मेवारी बहन नगर्ने र सर्वसाधारणले कर्तव्य नसम्झने प्रवृत्तिले डेंगुविरुद्धको अभियान प्रभावकारी हुन नसकेको हो।’

एउटा लामखुट्टेको जीवनखाला  सालाखाला ३० दिनको हुन्छ। एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब ५ सयदेखि १ हजार वटासम्म अण्डा पार्ने गर्छ। संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित हुन्छन्। यसको अण्डा पानी बिना पनि महिनौंसम्म जीवित रहन सक्छन्। हरेक अण्डाबाट नयाँ जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ। त्यसले अर्को स्वस्थ व्यक्तिलाई टोक्दा रोगबाट संक्रमित हुन पुग्छ। 

डेंगु फैलाउने एडिस जातिका (एजेप्टाई र एल्बोपिक्टस) हुन्। यी लामखुट्टेको बासस्थान नष्ट गर्न सरकारले १० करोड विनियोजन गरेको छ। तर, यही बेला कृषिमन्त्री रामनाथ अधिकारीलगायत सर्वसाधारण  डेंगुको चपेटामा परेका छन्। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी जलवायु परिवर्तनका कारण संसारका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष २१ फिटमाथि डेंगी गराउने लामखुट्टे सर्ने गरेको बताउँछन्। 

गण्डकीमा संक्रमण उच्च, पछ्याउँदै बागमती 

यस वर्ष डेंगु संक्रमणमा प्रदेशगत रूपमा सबैभन्दा बढी गण्डकी प्रदेश प्रभावित बनेको छ। कुल  संक्रमणको झन्डै ४८ प्रतिशत संक्रमित गण्डकीका बासिन्दा छन्। गण्डकीमा सबैभन्दा बढी ५ हजार ४ सय ८२ जना संक्रमित पुष्टि भएका छन्। गण्डकीको कास्की जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। कास्कीमा १ हजार ६ सय ७२ जना संक्रमित पाइएका छन्। कुल संक्रमितमध्ये कास्कीका मात्रै १४ दशमलव ५ प्रतिशत छन्।

संक्रमणका हिसाबले गण्डकी  प्रदेशलाई  बागमती प्रदेशले पछ्याएको छ। बागमती प्रदेशमा कुल  संक्रमणको झन्डै २८ प्रतिशत रहेको छ। बागमती प्रदेशमा ३ हजार १ सय ७८  जना संक्रमित पुष्टि भएका छन्। बागमती प्रदेशको काठमाडौं जिल्लामा १ हजार २ सय ८३ जना संक्रमित छन्। जुन कुल संक्रमणको ११ प्रतिशत हो। सबैभन्दा बढी  संक्रमित टप टेन जिल्लाहरूमा कास्की, तनहुँ, काठमाडौं, पर्वत, चितवन, गोरखा, ललितपुर, बाग्लुङ, स्याङ्जा, कैलाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितले टाउको दुख्ने, रिंगटा लाग्ने वाकवाकी लाग्ने, थकान र कमजोरी महसुस भएको बताएका छन् ।

गण्डकी र बागमती पछि तेस्रो बढी संक्रमित प्रदेशमा कोशी रहेको छ। कोशी प्रदेशमा  १ हजार १ सय ३२ जना संक्रमित भएको तथ्यांक छ। जुन कुल  संक्रमणको ९ दशमलव ८ प्रतिशत हो। त्यस्तै चौथोमा लुम्बिनी प्रदेश रहेको छ। यस प्रदेशमा ७ सय ८३ अर्थात कुल संक्रमणको ६ दशमलव ८ प्रतिशत हो। पाँचौंमा सुदूरपश्चिम रहेको छ। यहाँ ५ सय ८५ अर्थात ५ दशमलव १ प्रतिशत संक्रमित पाइएका छन्। छैटौंमा मधेस प्रदेश रहेको छ। यहाँ २ सय २५ संक्रमित अर्थात् १ दशमलव ९ प्रतिशत संक्रमित छन्। सातौंमा कर्णाली प्रदेश रहेको छ। यस प्रदेशमा १ सय ६० अर्थात् १ दशमलव ४ प्रतिशत संक्रमित पुष्टि भएको छ।

एडिस एजेप्टाई नामक लामखुट्टेको टोकाइबाट डेंगु रोग सर्छ। यो जातको लामखुट्टेले प्रायजसो  बिहान र दिउँसो घाम अस्ताउने समयमा बढी सक्रिय हुन्छ।  प्रजननका लागि अनुकूल वातावरणीय अवस्था भएका क्षेत्रहरूमा जोखिमका रूपमा देखा परेको छ। सामान्यतया सफा र जमेको पानीमा प्रजनन गर्न रुचाउँछन्। जुन मानव वासस्थान वरपर सजिलै हुन्छ। एडिस जातको लामखुट्टे बयस्क नहुँदासम्मको करिब ८० प्रतिशत जीवनचक्र (अण्डा, लार्भा र प्युपा) पानी भित्र वा पानीको सतहमा हुन्छ।

बजेट  सदुपयोग खै ?   

सरकारले  स्थानीय तहमार्फत बहुनिकायको सहकार्यमा लामखुट्टे खोज तथा नष्ट अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न चालु आर्थिक वर्षका लागि स्थानीय तहमा ७ करोड ८ लाख रकम विनियोजन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै, ७७ वटै जिल्लामा पनि करिब २ करोड बजेट विनियोजन गरिएको छ। 

डेंगुबाट हुने मृत्युको जोखिमलाई कम गर्नका लागि, निजी तथा सरकारी अस्पतालहरूका ८ सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। डेंगु रोगको स्क्रिनिङका लागि ४६ हजार डेंगी किट प्रदेश तथा स्थानीय तहहरूमा वितरण गरिएको छ। गत साउन  महिनामा १७ हजार किट वितरणका लागि जिल्लाहरूमा पठाइ सकिएको प्रवक्ता डा. बुढाथोकी बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी लामखुट्टे ‘खोज र नष्ट’ गर्ने अभियानको समयतालिका नमिलेको बताउँछन्।  ‘डेंगु संक्रमण पोस्ट मनसुनमा बढी देखिन्छ। त्यसैले लामखुट्टेको खोज र नष्ट अभियानको निश्चित समयतालिका बनाउनुपर्छ।   तर यो  अभियान न प्रिमनसुन,न त पोस्ट मनसुनमा नै हुन सक्यो। यसले गर्दा डेंगु नियन्त्रण अभियान प्रभावकारी हुन सकेन,’ डा. मरासिनि भन्छन्, ‘हरेक  वर्ष   श्राद्ध गरे झैं लामखुट्टे मार्ने अभियान सञ्चालन भइरहेको छ।’

निश्चित समयतालिकमा नहुँदा लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट गर्नका लागि खोज र नष्ट  (सर्च एन्ड डिस्ट्रोय ) अभियानमा एकरुपता हुन सकेको छैन। नेपालमा विशेषगरी डेंगुको सेरोटाइप १, २, ३ र ४ रहेको छ। यही सेरोटाइपले संक्रमण तीव्र गराइरहेको मन्त्रालयले जनाएको छ। यो सेरोटाइपले एसियामा बढी संक्रमण गरिरहेको छ। डेंगु फैलाउने लामखुट्टेले एसियन टाइगरका रूपमा लिने गरिन्छ।

जोखिम कस्तो छ ?   
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार  संक्रमितहरू  केही दिन ज्वरो आउने, आँखा रातो हुने, टाउको, पेट, जोर्नी, मांसपेशी दुख्नेलगायतका लक्षणहरू बताउँदै उपचार गर्न आइरहेका छन्। 

एक पटक एउटा प्रकारको डेंगु लागिसकेपछि जीवनभर सामान्यतया त्यसै प्रकारको डेंगु रोग नलाग्ने  डा. पुन बताउँछन्। ‘दोस्रोपटक लाग्ने डेंगुको सेरोटाइप फरक भएको अवस्थामा पहिलेको तुलनामा बढी जोखिम हुन्छ,’ पुनले भने।  संक्रमितमा प्लेटलेटको संख्या पनि घट्न पुग्छ। पटक–पटक संक्रमणको मारमा परेकाहरूलाई डेंगु शक सिन्डोम हुने जोखिम रहेको विज्ञहरू बताउँछन्। डा. बुढाथोकीका अनुसार, हरेक २० जना संक्रमितमध्ये १ जनालाई जटिलता हुनसक्छ। र मृत्यृदर १ देखि २ प्रतिशत देखिन्छ।

गर्भवती, शिशु एवं बालबालिकाहरू र दोहोरिएर भएको संक्रमणमा जटिल समस्या आउन सक्छ।  ‘क्लासिक डेंगु सामान्य प्रकारको हो र आफैं निको हुन्छ तथा मृत्युको संभावना कमेै हुन्छ। यदि डेंगु हेमोरेजिक ज्वरो वा डेंगु शक सिन्ड्रोम भएमा उचित उपचार नगरे मृत्यु हुन्छ,’ डा. बुढाथोकी भने। तारन्तार बान्ता, असाध्य पेट दुख्ने, अति आलस्य, रक्त  श्राप जस्तै गिजा, नाक आदिबाट रगत बगे तथा रगतमा प्लेटलेटको संख्यामा तीव्र गतिले घट्ने अवस्था गम्भीर मानिन्छ।

लक्षणका आधारमा उपचार 

डेंगु संक्रमणलाई ठीक पार्ने औषधि छैन। यसको उपचार लक्षणको आधारमा गरिने चिकित्सकहरू बताउँछन्। समयमै उपचार गर्ने र प्रशस्त मात्रामा तरल र झोलिलो खाई लक्षणमा कमी आउने चिकित्सकहरू बताउँछन्। डा. बुढाथोकी बताउँछन्।null

‘एस्प्रिन र बु्रफिन जस्ता औषधि सेवन गर्नुहुँदैन,’ डा. बुढाथोकी भन्छन्, ‘समयमै उपचार गर्ने र खानपानमा ध्यान दिने हो भने रोगका जटिलता र सम्भावित मृत्युलाई १० प्रतिशतभन्दा कम गर्न सकिन्छ।’ डेंगुको खोप विकसित मुलुकहरूमा उपलब्ध छ। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, खोपले डेंगुको जटिलता ९० प्रतिशतले कम, अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ एक वर्षका लागि। 

हरेक तीन वर्षमा  प्रकोप 

हरेक तीन वर्षमा डेंगुले प्रकोपका रूपमा देखिने गरेको छ। जलवायु परिवर्तन र बढ्दो सहरीकरणले गर्दा डेंगु फैलाउने लामखुट्टे हिमाली र पहाडी जिल्लामा समेत संक्रमण फैलाएको छ। यस वर्ष हुम्लाबाहेक सबै  जिल्लामा डेंगु संक्रमितहरू पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  त्यसमाथि सरकारी लापरबाही र सर्वसाधारणको हेलचेक्र्याइँले  गर्दा डेंगुले प्रकोपका रूप लिइरहेको छ। डेंगु संक्रमणसम्बन्धी पछिल्लो दुई 
दशकको तथ्यांक नियाल्दा यसको जोखिम हरेक वर्ष बढिरहेको देखिन्छ।

२० वर्षअघि अर्थात् सन् २००४ मा नेपालमा पहिलोपटक डेंगु संक्रमण पुष्टि भएको थियो। सन् २००६ देखि हरेक वर्ष मुलुकमा डेंगु संक्रमणले सास्ती दिँदै आएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगुका तीन किसिमको सेरोटाइपले मुलुकभर संक्रमण गरिरहेको छ।

सन् २००४ मा एक जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सन् २००५ मा भने संक्रमणको अवस्था शून्य रह्यो। सन् २००६ मा ३२ जनामा संक्रमण पुष्टि भयो। त्यसपछिका तीन वर्षमा वर्षमा पनि संक्रमण सामान्य नै रह्यो। संक्रमितको संख्या ३२ भन्दा तल नै रह्यो। तर, २०१० मा डेंगु संक्रमण ह्वात्तै बढ्यो। ९ सय १७ जनामा संक्रमण पुष्टि भयो। २०११ मा ७९ जनामा संक्रमण भयो। २०१२ मा १ सय ८३ जनामा संक्रमण पुष्टि भयो। २०१३ मा संक्रमण तेब्बरले बढ्यो। यस वर्ष ६ सय ८६ जनामा संक्रमण भयो। त्यसपछि एकैचोटी २०१६ मा संक्रमण पुनः ह्वात्तै वृद्धि भयो। यस वर्ष १ हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भयो। 

२०१६ को चार वर्षपछि डेंगु संक्रमणले पुनः उचाइ लियो। सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण भयो। त्यसको तीन वर्ष पनि डेंगुको संक्रमण उकालो लाग्यो। सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा संक्रमण पुष्टि भयो।

नियन्त्रणको चुनौती

गत वर्ष  उपराष्ट्रपति रामसहाय यादव र तत्कालीन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमणपछि उपचारका लागि अस्पतालमा भर्ना हुनु पर्‍यो। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी  लामखुट्टे जहाँ पनि  र जुनसुकै स्थान  पाइने भएकोले डेंगु नष्ट घरबाटै भन्दै अभियान चलाउन जरुरी भएको बताउँछन्। ‘हरेक परिवारलाई हरेक शनिबार ३० मिनेट समय छुट्ट्याएर आफ्नो घरभित्र र बाहिर लामखुट्टेको फुल पार्ने ठाउँलाई खोजौं र नष्ट गरौं। कर्मचारीलाई कार्यस्थल वरिपरि निरन्तर सफा राख्नपर्छ। पूरा बाहुला भएको पोसाक अनिवार्य लगाऔं,’ उनले सुझाए। 

डेंगु सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले, त्यसबाट जोगिनु र लामखुट्टेको निर्मुल गर्र्नु नै रोकथाम हो। डा. बुढाथोकीका अनुसार, बिदेशमा डेंगु नियन्त्रणका लागि सरकार र स्थानीय समुदाय अत्यन्तै संवेदनशील भएर काम गर्छन।

सिंगापुरमा संक्रमण नियन्त्रणका लागी कसैको घर वा गमलामा एउटा लामखुट्टे भेटिए १ हजार डलर तिराइन्छ। ‘हटस्पट तथा जोखिम क्षेत्रहरू समयमै पहिचान गर्न र प्रभावकारी प्रतिकार्य गर्न गाह्रो भएको छ,’ प्रवक्ता डा. बुढाथोकी भन्छन्, ‘संघीयताको वर्तमान संरचनामा समुदाय र बहुक्षेत्रीय संलग्नता तथा परिचालन  प्रभावकारी हुन सकेको छैन।’

स्वास्थ्य मन्त्रालयको रणनीति : कति प्रभावकारी ?  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोेकथाम र नियन्त्रणका लागि दुइटा रणनीति अपनाएको छ। ती हुन्, लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्ने।

यी दुवै रणनीतिमा मन्त्रालयको कामकारबाही अपेक्षाकृत प्रभावकारी देखिएको छैन। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, पहिलो रणनीति प्रभावकारी भइरहेको दाबी गर्छन्। तर, दोस्रो रणनीतिमा कमीकमजोरी भएको घुमाउरो ढंगले स्वीकार्छन्। डा. बुढाथोकी भन्छन्, ‘दोस्रो रणनीति बढी महत्वाकांक्षी भएर होला सफल हुन सकेनौं। हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। तर, ज्यान गुमाउने संक्रमितहरू सबै दीर्घरोगी हुनुहुन्थ्यो।’

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेष डा. सुशीलनाथ प्याकुरेलका अनुसार, लामखुट्टेको प्रजननस्थल (बासस्थान) खोजी र नष्ट गर्ने अभियान नै ढिलो सुरुभएको बताउँछन्। ‘चार महिनाअघि नै डेंगु रोकथाम र नियन्त्रणका लागि प्रजननस्थल तथा लार्भा/प्यूपा खोज र नस्ट गर अभियान अघि बढाउनुपथ्र्यो,’ डा. प्याकुरेलको सुझाव छ।

  • कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ। ६३ वर्षीय मन्त्री अधिकारी एकसातादेखि संक्रमणविरुद्घ जुधिरहेका छन्। 
  • त्रिभुवन विश्वविद्यालय, शिक्षण  अस्पताल महाराजगञ्जमा कार्यरत डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीहरू पनि डेंगु संक्रमण भएको छ। अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले भन्छन्, ‘डेंगु संक्रमण भएको पुष्टि भएपछि घरमै आराम गर्न बिदा लिनेहरू बढेका छन्।
  •  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आकस्मिक कक्ष डेंगु संक्रमितले भरिएको छ। खाली प्यासेजमा राखेर संक्रमितको उपचार भइरहेको छ।  

डा. बुढाथोकी संघ, प्रदेश र स्थानीय सरकार तथा सम्बद्ध निकायहरूले गर्नुपर्ने सक्रियतापूर्वक रोकथाम र नियन्त्रणका क्रियाकलापहरू गर्नुपर्नेमा जोड दिन्छन्। यसका लागि रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ स्वीकृत भई कार्यान्वयनका लागि सबै प्रदेश र स्थानीय तहमा पठाइसकिएको छ।

त्यस्तै डेंगु रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा राष्ट्रिय डेंगु टास्क फोर्स गठन गरिएको छ। स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली (र्‍यापिड रेस्पोन्स टिम) परिचालन भइरहेको प्रवक्ता बुढाथोकी बताउँछन्। सङ्क्रमण उच्च रहेका जिल्लाका अस्पतालहरूबाट बिरामीहरूको रक्तनमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत डेंगु भाइरसको प्रजातिबारेअध्ययन हुने गरेकोछ। सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गत रहने गरी इन्टोमोलोजिकल ल्याब स्थापना भई सातै प्रदेशका तोकिएका अस्पतालमा (सेन्टिनेलसाइट) सर्भिलेन्सका कार्यहरू भइरहेका छन्। 

डा. बुढाथोकीका अनुसार, गत वर्षमा डेंगु संक्रमण बढी देखिएका सुुनसरी, तनहुँ, झापा, धादिङ, कास्कीलगायत १३ जिल्लामा १ सय २६ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख, स्वास्थ्य संयोजक तथा सरोकारवालाहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गरी डेंगु प्रतिकार्यका अल्प तथा दीर्घकालीन योजना तथा नीति निर्माण सम्बन्धमा छलफल भइसकेको छ। सचेतना अभिवृद्धिका लागि नेपाली भाषालगायत थप १२ वटा राष्ट्रिय भाषामा डेंगुसम्बन्धी रेडियो सन्देश, टोल फ्री हटलाइन टेलिफोन नं १११५, टिभी रेडियोहरूमा नियमित सन्देश प्रसारण भइरहेको छ। तर, पनि डेंगु संक्रमण बढेको बढ्यै छ।

अहिलेसम्म डेंगुको औषधि अथवा खोप नेपालमा उपलब्ध छैन। तर, सुरुवाति लक्षणका आधारमा चिकित्सकले डेंगु निको पार्न सक्छन्।  डा. प्याकुरेल भन्छन्, ‘ डेंगु संक्रमणबाट जोगिने सरल र सजिलो उपाय अपनाऔं। लामखुट्टेको टोकाइबाट बच्नु नै हो।’

संक्रमणको हटस्पट तथा जोखिम क्षेत्रहरू समयमै पहिचान गर्न र प्रभावकारी प्रतिकार्य गर्न गाह्रो भएको छ। डेंगु नष्ट अभियान हरेक घरदैलोबाटै सञ्चालन गर्नु जरुरी छ।
डा. प्रकाश बुढाथोकी, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

लामखुट्टे ‘खोज र नष्ट’ गर्ने अभियान  प्रिमनसुन र  पोस्ट मनसुनमा हुनुपर्छ। तर, निश्चित समयतालिका नै भएन।  हरेक  वर्ष   श्राद्ध गरे झैं लामखुट्टे मार्ने अभियान सञ्चालन गरिएको छ।  डेंगु नियन्त्रण प्रभावकारी हुन सकेन।
डा. बाबुराम मरासिनी, वरिष्ठ जनस्वास्थ्य विज्ञ

लामखुट्टेको अण्डा, लार्भा, प्युपा नष्ट गर्न राजनीतिक दलले पनि लाखौं युवा कार्यकर्ता परिचालन गर्नुपर्छ। लामखुट्टेको बासस्थान एवं प्रजननस्थान नष्ट नगर्दासम्म डेंगु संक्रमण दोहोरिरहन्छ। त्यसैले तीन तहको सरकारबीच समन्वय र सहकार्य प्रभावकारी हुनुपर्छ।
डा. सुशीलनाथ प्याकुरेल, पूर्वप्रमुख  विशेषज्ञ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

दोस्रोपटक लाग्ने डेंगुको सेरोटाइप फरक भएको अवस्थामा पहिलेको तुलनामा संक्रमितलाई बढी जोखिम हुन्छ। यो जोखिम जो 
कोहीलाई छ। 
डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.