एसईई ग्रेडवृद्धिमा स्याङ्जाका करिब ३४ प्रतिशत उत्तीर्ण
स्याङ्जा : माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि (पूरक)परीक्षामा स्याङ्जाका सहभागी परीक्षार्थीमध्ये करिब ३४ प्रतिशत ग्रेडेड (उत्तीर्ण) र ६६ प्रतिशत ननग्रेड भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यका अनुसार, ‘एसईईको ग्रेड वृद्धितर्फ ३३ दशमलब ४८ प्रतिशत उतीर्ण भए। परिक्षार्थीमध्ये ग्रेडवृद्धिमा ७१७ जना विद्यार्थी सफल भएका छन्। सहभागीमध्ये एक हजार ४२४ जना ननग्रेडेड भए। ननग्रेडेड हुने ६६ दशमलब ५१ प्रतिशत छ। दुई हजार १४१ विद्यार्थी ग्रेड परीक्षामा सहभागी थिए।’
ग्रेडेड अन्तर्गत ३.६ देखि ४ जिपिए ल्याउनेमा ४ जना छन्। यसैगरी, ३ दशमलब २ देखि ३ दशमलब ६ जिपिए ल्याउने १० जना छन्। यस्तै २ दशमलब ८ देखि ३ दशमलब २ जिपिए पाउने १ सय ९६ जना, २ दशमलब ४ देखि २ दशमलब ८ जिपिए प्राप्त गर्ने ४२५ जना छन्। यसैगरी, २ दशमबलदेखि २ दशमलब ४ जिपिए ल्याउने ८२ जना छन्।
राष्ट्रिय नतिजाको तुलनामा स्याङ्जाको नतिजा कमजोर देखिएको र सबै विषयमा परीक्षा दिन पाउने यस वर्षको व्यवस्था अनुसार २ विषय लाग्ने विद्यार्थी भन्दा अन्य विद्यार्थीले फाइदा लिन नसकेको समन्वय अधिकारी आचार्यले बताए।
एक हजार ४२४ जना अनुत्तीर्ण भएका छन्। २०८० को एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो।