इरानले फेरि आफूलाई मार्ने प्रयास गर्न सक्ने ट्रम्पको आरोप
वासिङटन डिसी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको बताएका छन् । इरानले फेरि मार्ने प्रयास गर्न सक्ने उनले उल्लेख गरे।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो ज्यानलाई इरानबाट ठूलो खतरा छ । सम्पूर्ण अमेरिकी सेना सतर्क अवस्थामा छ। इरानले प्रयास गरेको थियो तर असफल भयो । उसले फेरि प्रयास गर्नेछ। यो अवस्था कसैको लागि राम्रो होइन। म धेरै मानिसहरू, बन्दुक र हतियारहरूले घेरिएको छु।'
उनले लेखेका छन्, ‘मेरो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा संसदलाई धन्यवाद । रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा खुसी लागेको छ। पूर्वराष्ट्रपतिमाथि हमला गर्नु भनेको आक्रमणकारीले आफ्नो मृत्यु निम्तो दिनुजस्तै हो ।'
ट्रम्पको यो भनाइपछि अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर बहस सुरु भएको छ । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गरिरहेका छन् । बीबीसी