कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका वडा अध्यक्ष यादवको निधन
कपिलवस्तु : शुद्धोधन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तिलकराम यादवको निधन भएको छ । मस्तिष्कको ट्युमरको उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल उपचाररत वडा अध्यक्ष यादवको उपचारकै क्रममा मंगलबार साँझ निधन भएको सोही गाउँपालिका प्रमुख कमलेश शरण चौधरीले जानकारी दिए।
६८ वर्षीय वडा अध्यक्ष यादव नेपाल सरकारको गाविस सचिव पदबाट अनिवार्य अवकाश भई नेपाली कांग्रेस पार्टीबाट राजनीति सुरू गरेका थिए । नेपाली कांग्रेसबाट २०७४ र २०७९ सालमा गरी दुई पटक गरी वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेस कपिलवस्तुले नेता यादवको निधनप्रति समवेदना प्रकट गरेको छ । शुद्धोधन गाउँपालिकाले आज वडा अध्यक्ष यादवको निधनप्रति शोक विदा दिएको छ। उनको स्थानीय सोहसा घाटमा अन्त्येष्टि भएको छ ।