खेल र संस्कृतिले विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्छ : प्रचण्ड
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृतिले विकास र समृद्धिको नयाँ यात्रा सुरु गरेको बताएका छन्। काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उनले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिएको बताएका हुन्।
‘राष्ट्रियता प्रवर्द्धन गर्ने, देशको विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजाने एउटा महत्वपूर्ण क्षेत्र खेलकुद हो।’ उनले भने, ‘संस्कृतिले देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र समुदायलाई जोड्दै सबै नेपालीलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्न यसको विशेष महत्व छ।’
उनले खेल र संस्कृति दुबै क्षेत्र राष्ट्रियता प्रवर्धन, जनताको अनुशासन र समाजको मर्यादा स्थापित गर्न महत्वपूर्ण क्षेत्र भएको धारणा राखे। नेपालको खेल क्षेत्रमा अहिले पनि आफूले भरोसा गरेका व्यक्तिहरुले नेतृत्व गरेको र खेल क्षेत्रले ऐतिहासिक परिणाम हात पारिरहेको उल्लेख गरे। अध्यक्ष प्रचण्डले ६० वर्षको इतिहासमा पहिलोपटक नेपालले ओलम्पिकमा पदक प्राप्त गरेकाले यो वर्ष नेपाली खेल क्षेत्रका लागि अविस्मरणीय वर्ष बन्ने पुगेको बताए।
उनले हिजो जनयुद्धकालमा जनमुक्ति सेना र पेशेवर कार्यकर्ताले खाली समय व्यतित गर्दै मानसिक तन्दुरुस्तीको लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गरे।