जितिया पर्व मनाउँदै थारू महिला, ठाउँठाउँमा महोत्सव
काठमाडौं : थारू समुदायलगायत तराईमा बसोबास गर्ने महिलाहरूले आज जितिया पर्व मनाउँदैछन्। जितियाको अवसरमा पूर्व झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलाहरू व्रत बसेका छन्। गाउँदेखि सहरसम्म व्रतालु महिलाका लागि ठाउँठाउँमा जितिया महोत्सवको आयोजना गरिएको छ।
काठमाडौं उपत्यकामा थारू महिलाहरूले तीन ठाउँमा जितिया महोत्सवको आयोजना गरे छन्। थारू महिला समाजले राष्ट्रिय नाचघर जमल, थारू महिला सभाले पर्यटन बोर्ड भृकुटीमण्डप र थारु सांस्कृतिक विकास मञ्चले ललितपुरको कुप्णडोलमा जितिया महोत्सव आयोजना गरेका हुन्।
मंगलबारदेखि सुरू भएको जितिया तीन दिनसम्म मनाइने थारू महिला समाज उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरीको भनाइ छ। हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन्। परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ।
थारू संस्कृतिविद भुलाइ चौधरीका अनुसार यसपटक जितियाको पहिलो दिन लाई/ लहाइ अर्थात नुहाए खाने दिन आज (मंगलबार), ब्रत (बुधबार) र समापन (बिहीबार) रहेको छ।