सांसदका छोराले चलाएको मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

सांसदका छोराले चलाएको मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

विराटनगर : कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका छोरा १८ वर्षीय अक्षत माझीले चलाएको मोटरसाइकलको ठक्करको ठक्करबाट १ जना युवकको मृत्यु भएको छ। 

दुर्घटनामा परेर घाइते भएका झापाको चारआली घर भइ मोरङको बूढीगंगा गाउँपालिका-१ मा बस्दै आएका २४ वर्षीय आकाश मण्डलको बुधबार बिहान मृत्यु भएको हो। मोरङको ग्रामथान गाउँपालिका-४ घर भएका अक्षतले हाँकेको प्रदेश १-०२-०४४ प ८४४ नम्बरको मोटरसाइकलले ४ दिनअघि पैदलयात्रामा रहेका आकाशलाई ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो। नेमुवाबाट तीव्र गतिमा विराटनगरतर्फ हुइँकिएको मोटरसाइकलले कोशी राजमार्गअन्तर्गत बूढीगंगा-१ स्थित हिमगिरी साबुन फ्याक्ट्रीअगाडि भदौ ५ गते शनिबार साँझ ७:१० बजेतिर आकाशलाई ठक्कर दिएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बाटो क्रस गर्दैगर्दा दुर्घटनामा परेका आकाशको उपचारका क्रममा बुधबार बिहानका राति २:३० बजेतिर मृत्यु भएको हो। आफन्तका अनुसार बूढीगंगा-१ मा कोठा भाडामा लिएर बस्ने आकाश र उनकी पत्नी उषा तामाङ स्थानीय अमन होटलमा काम गर्थे। 

‘दुर्घटना गराउने पक्षले आकाशको उपचारमा राम्ररी ध्यान दिएका थिए। उपचारमा कुनै कमी हुन दिएनन्। यहाँ ठीक नभए अन्यत्र लगेर भए पनि उपचार गराइदिन्छौं भन्थे। तर, घाइतेलाई बचाउनै सकिएन,’ आफन्त मनिषा माझीले भनिन्। 
 
दुर्घटनामा मोटरसाइकल चालक अक्षत माझी पनि घाइते भएका छन्। टाउको, अनुहार, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराटमै उपचार भइरहेको जानकारी डीएसपी बस्नेतले दिए। उपचारमा संलग्न चिकित्सकले अक्षतको करङसमेत भाँचिएको बताएका छन्। 

प्रहरीका अनुसार मोटरसाइकल चालक अक्षतसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) छैन। लाइसेन्स प्राप्त नगरिकन लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार मोटरसाइकल अक्षतकै नाममा छ। 

‘बिना लाइसेन्स मोटरसाइकल चलाउँदा दुर्घटना भएको देखिन्छ। मोटरसाइकल चालक सांसदका छोरा हुन्। अहिलेसम्म अस्पतालमै रहेका उनलाई जोगाउन अनेक चलेखल हुँदैछ,’ प्रहरी स्रोतले भन्यो, ‘प्रहरीलाई समेत दबाब आइरहेको छ। सत्ताको पहुँचका भरमा भित्रभित्रै घटनालाई मिलाउने र दबाउने प्रयास भइरहेको छ। चालकको गम्भीर लापरबाहीले दुर्घटना भएको हो।’ 

अक्षतविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी परेको छ। मृतक आकाशका परिवारले सवारी ज्यान मुद्दामा दिएको जाहेरीका आधारमा घटनाको थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए। उनका अनुसार शवको विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरिएको छ। परिवारका सदस्यले अन्त्येष्टिका लागि शव जिम्मा लिएर लगिसकेका छन्। 

प्रदेश सांसद ललिताकुमारीका पति धीरेन्द्र माझी फरवार्ड नामक लघुवित्तमा कार्यरत छन्। पूर्वमन्त्री एवं एमाले नेतृ भगवती चौधरी फरवार्ड लघुवित्तको संस्थापक हुन्। स्थानीयका अनुसार काठमाडौंमा बसेर पढ्ने छोरा अक्षत केही समयअघि घर आएका थिए। 

प्रहरी अधिकारीहरू दुर्घटना हुनुको पछाडि अभिभावकको पनि लापरबाही देखिने बताउँछन्। ‘लाइसेन्स नै प्राप्त नगरेका छोरालाई मोटरसाइकल किनेर चलाउन दिइएको रहेछ। त्यो अभिभावकको लापरबाही हो,’ प्रहरीका एक अधिकृत भन्छन्। 

ललिताकुमारी सत्तारुढ नेकपा (एमाले)को तर्फबाट कोशीको समानुपातिक सांसद छिन्। घटनाका विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन्। पटक-पटक गरिएको फोन नउठाएकी उनले घटना मिलाउन दौडधुप गरिरहेको स्रोतले बतायो।  

यस्तो छ कानुनी व्यवस्था 
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले चालक अनुमति प्राप्त नगरिकन सवारीसाधन चलाउन नपाइने व्यवस्था गरेको छ। ऐनको दफा ४५ मा कुनै पनि व्यक्तिले चालक अनुमति प्राप्त नगरी कुनै पनि सवारी चलाउन नहुने भनिएको छ। दफा ४७ को (ख)मा २ पांग्रे सवारीका लागि १६ वर्ष उमेर पूरा भएको व्यक्तिले चालक अनुमति पत्र प्राप्त गर्न सक्ने उल्लेख छ। 

तर, सांसद ललिताकुमारीका छोराले भने लाइसेन्स प्राप्त नगरिकन लापरबाहीपूर्ण तरकाले मोटरसाइकल चलाउँदा भएको दुर्घटनामा पैदलयात्रीको ज्यानै गएको छ। दुर्घटना गराएबापत हुने कारबाहीबाट छोरालाई जोगाउन उनले दौडधूप र अनेक चलखेल गरिरहेको प्रहरी स्रोतले बतायो। 

कति हुन्छ सजाय? 
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ मा सवारी दुर्घटनामा ज्यान मरेमा हुने सजायको व्यवस्था छ। उक्त दफाको उपदफा १ मा भनिएको छ, ‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काइस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ। कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी बलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ।’

उपदफा २ मा भनिएको छ, ‘कसैको ज्यान मर्न सक्छ भने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा यो बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै या मोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ।’

त्यस्तै उपदफा ४ मा भनिएको छ, ‘चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँसमेत जरिवाना हुनेछ। तर, जन्मकैद हुनेमा त्यस्तो थप जरिवाना हुने छैन।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.