बबिता हत्या प्रकरण : नेपाल प्रहरीको उपस्थिति बिना भारतीय प्रहरीले गरे मृतकको कोठा खानतलासी

बबिता हत्या प्रकरण : नेपाल प्रहरीको उपस्थिति बिना भारतीय प्रहरीले गरे मृतकको कोठा खानतलासी
मृतक बबिता राजवंशी

झापा : भारतमा हत्या गरी केरा बगान शव भेटिएकी झापा भद्रपुरकी ३२ वर्षीया बबिता राजवंशीको घर कोठा भारतीय प्रहरी आएर खानतलासी गरेको छ। नेपाल प्रहरीको उपस्थिति बिना सादा पोसाकमा आएका भारतीय प्रहरीले बबिताको कोठा खानतलासी गरेको हो। 

श्रीमानसँग छुट्टिएर छोराहरूसँगै भद्रपुर-६ स्थित गिरी चोकमा घर भाडा लिएर बस्दै आएकी बबिताको कोठाबाट भारतीय प्रहरीले विवाह दर्ता, भारतमा उपचार गराएको कागजात र लुगा कपडा लगेको एक प्रत्यक्षदर्शीले बताएका छन्। पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला अन्तर्गतको खोरीबारी पुलिस थानाबाट आएका चार जना सादा पोसाकका प्रहरीले मृतक बबिताको आफन्तसँग समन्वय गरेर कोठा खानतलासी गरेको भद्रपुर ६ नम्बर वडाध्यक्ष रतिया राजवंशीले जानकारी दिए। 

वडाध्यक्ष राजवंशीले भने, ‘मृतक र मृतकका आफन्तहरू यही वडाको बासिन्दा हुन्। गिरी चोकमा मृतकका आफन्तजनलाई देखेपछि मोटरसाइकल रोकेर घटना बुझ्न खोजे।’ प्रहरीले बोलाएरचाहिँ म गएको होइन। बङ्गाल प्रहरीले कोठाभित्र छेरेर खानतलासी गरेको बताउँदै उनले भने, ‘घटनास्थलमा वडा प्रहरी कार्यालयबाट कोही पनि थिएन। बङ्गाल प्रहरीमात्र थियो।’ 

भारतीय प्रहरीले बबिताको घर कोठा खानतलासी गर्दा नेपाल प्रहरी घटनास्थलमा नहुँदा त्यहाँ भएका प्रत्यक्षदर्शीहरू आफ्नै आश्चर्यमा परेका थिए। 
एक प्रत्यक्षदर्शीले अन्नपूर्णलाई भने, ‘भारतीय प्रहरीले घटनाको अनुसन्धान गर्नु राम्रो हो। तर मृतकको कोठा सर्च गर्दा नेपाल प्रहरी पनि सँगै हुनु पर्थ्यो।’ भारतमा गएर नेपाल प्रहरीले कसैको घर कोठा यसरी सर्च गर्न पाउँथ्यो त? ‘सुरक्षाको दृष्टिकोणले यो काम एकदमै गलत भयो। नेपाल प्रहरीको गम्भीर लापरबाही देखियो,’ उनले थपे। 

घटनाको अनुसन्धान गर्न मंगलबार दिउँसो भारतीय प्रहरी सादा पोसाकमा नेपाल आएको वडा प्रहरी कार्यालय भद्रपुर आएको इन्स्पेक्टर लोककृष्ण दाहालले बताए। आफू त्यस बेला सङ्गठनकै कामको सिलसिलामा बाहिर थिए। उहाँहरूले वरिष्ठ सईलाई भेटेर मृतकका आफन्तलाई बोलाइदिन भन्नुभयो। ‘आफन्तजनलाई बोलाइदिएपछि उहाँहरू उनीहरूसँगै जानुभयो,' इन्स्पेक्टर दाहालले भने, ‘भारतीय प्रहरीले मृतकको कोठा खानतलासी गर्न जाँदैछ भनी हामीलाई जानकारी नगराई गएको रहेछ।’ हामीलाई जानकारी गराएको भए नेपाल प्रहरी पनिसँगै हुन्थ्यो। कोठा खानतलासी गरेर आएपछि वडा प्रहरीकै रोहबर भारतीय प्रहरीले मृतकका आफन्तलाई बबिताको कोठाको चाबी जिम्मा लगाएको उनको भनाइ छ। 

भारतीय प्रहरी नेपालमा आएको भनी जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसी र जिल्ला प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दलाई पनि थाहा छैन। एसपी केसीले भने, ‘मृतकको कोठा खानतलासी गरी आवश्यक कागजात लगेको घटनाको बारेमा आफूलाई थाहा नै छैन।’ ‘भारतीय प्रहरी आउँदा कम्तीमा नेपाल प्रहरीसँग समन्वय गरेर कोठा खानतलासी गर्नुपर्थ्यो,’ डीएसपी चन्दले थपे। 

घटना विवरण अनुसार सागसब्जी बिक्री गर्दै परिवार पाल्दै आइरहेकी बबिताको शव भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीबारी थाना अन्तर्गतको बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकैको केरा बगानमा फेला परेको थियो। उनको शव कुहिएको अवस्थामा खोरीबारी पुलिसले फेला पारेको थियो। घटनास्थल नेपाल-भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्व उत्तर पर्छ। बबिता भदौ ३० गते सीमावर्ती भारतीय बजारमा सागसब्जी लिन गएको उनका जेठाजु जितेन राजवंशीले बताए। 

बबिता केही दिनदेखि हराइरहेको अवस्थामा एक महिलाको शव बोर्डर पारी भारतमा फेला परेको खबर सुनेर उनका परिवारजन तत्काल भारतीय प्रहरीसँग समन्वय गरेका थिए। परिवारजनले उनले लगाएको कपडाको आधारमा शवको पहिचान गरेका थिए। ‘बबितालाई हत्या गरी केरा बगान लगी शव लुकाएर राखेको हुनुपर्छ,’ उनका जेठाजु जितेनले भने। घटना शङ्कास्पद भएकोले खोरीबारी पुलिस थानामा गएर चार जनाको नाममा किटानी जाहेरी दिएको उनको भनाइ छ। भारतीय प्रहरीले पनि उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.