जलविद्युतबाटै देश समृद्ध हुन्छ : ऊर्जामन्त्री खड्का
नुवाकोट : नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले जलविद्युतबाटै नेपाल धनी हुने बताएका छन्। नेपालका नदी तथा खोलाको उचित सदुपयोग गरेर नेपाललाई जलविद्युतले सम्पन्न बनाउने बताए।
नुवाकोटको विदुरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री खड्काले नुवाकोट, रसुवालगायतका नदी तथा खोलाबाट धेरै भन्दा धेरै विद्युत निकाल्ने र त्यसबाटै परिवर्तन हुने बताए। उनले सरकारको योजनामा साथ दिन सम्पूर्ण राजनीतिक दल, स्थानीय तथा प्रदेश सरकार र कर्मचारीलाई आग्रह गरे।
जलविद्युतबाटै देशको परिवर्तन र विकास हुने दोहोर्याउँदै मन्त्री खड्काले सरकारले जलविद्युत उत्पादन गरी देशको हितमा बेचेर समृद्ध बनाउनेसमेत बताए। यसका लागि सबै पक्षले सहयोग पुर्याउनुपर्ने मन्त्री खड्काको भनाइ छ।
मन्त्री खड्काले विभिन्न जलविद्युत प्रसारण लाइन निर्माणको काम समयमै सक्न निर्माण पक्षलाई निर्देशनसमेत दिए। प्रसारण लाइन निर्माणमा ढिलाई हुँदा सरकारलाई दैनिक करोडौँ रुपैया नोक्सानी भइरहेकोसमेत बताए। 'गरिब तथा विपन्न जनताको लगानी रहेको यस्ता आयोजनाको काम ढिलाई हुँदा जनताहरू प्रत्यक्ष मारमा परेका छन्। त्यसैले अब हेलचेक्राइ गर्ने छुट छैन,' उनले भने।