क्यानाडाको क्यालगरी सहरमा ‘नेपाल दिवस’
काठमाडौं : क्यानाडाको क्यालगरी महानगरपालिकाको प्रांगणमा ‘नेपाल दिवस’ मनाइएको छ। अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्थाहरू एनसीएससी, सीएनसीए एवं गैरआवासीय नेपाली संघ क्यानडासमेत मुख्य आयोजक र क्यालगरीस्थित अन्य स्थानीय संस्थाहरूले कार्यक्रमको संयुक्त आयोजना गरेका हुन्।
कार्यक्रममा ज्येष्ठ नागरिक, स्थानीय र प्रान्तीय सरकारका प्रतिनिधि र नेपाली जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा आगन्तुक आयोजक समितिका अध्यक्ष ध्रुव राईले स्वागत गरेका थिए।
च्याम्बरका अध्यक्ष समीर पाण्डेले च्याम्बरले सबैसँग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको बताए। एनसीएससीका अध्यक्ष प्रकाश बस्याल र सीएनसीएका तर्फबाट विनोद केसीले नेपाल दिवसको शुभकामना दिए।
गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष माधव दुलालले मन्तव्य राखेका थिए। कार्यक्रममा अल्बर्टा प्रान्तका इमिग्रेसन तथा मल्टिकल्चरल मन्त्री मोहम्मद यासिन, वडा नं ५ काउन्सिलर राज धालिवाल तथा अल्बर्टा सरकार प्रमुखका प्रतिनिधि ह्याप्पी मानले नेपाल दिवसको शुभकामना दिएका थिए।