किसानलाई योगदानमा आधारित पेन्सन
सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई पनि योगदानमा आधारित पेन्सन (निवृत्तिभरण) को व्यवस्था गर्ने भएको छ। कृषि पेसालाई मर्यादित र सम्मानित बनाउन गाउँपालिकाले जिल्लामै पहिलो पटक किसानलाई पेन्सनको व्यवस्था गर्न लागेको हो।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) का अनुसार चालू आर्थिक वर्षबाट ‘कुटो कोदालो औजार छ हातमा : मरिण सरकार छ किसानको साथमा’ भन्ने मूल नारासहित कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानका लागि पेन्सन दिने व्यवस्था मिलाइएको हो।
‘गाउँपालिकाले वास्ताविक किसानको पहिचान गरी उनीहरूको योगदानमा आधारित पेन्सनको व्यवस्था गर्नेछ। यसका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममै उल्लेख गरेर बजेट सुनिश्चित गरेको छ,’ उनले भने।
किसान पेन्सनका लागि गाउँपालिकाले चालू आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘यो पहिलो वर्ष हो। हामी यसलाई सफल कार्यान्वयनका लागि आवश्यक ऐन, नियम तथा कार्यविधि बनाउन यसका जानकारहरूसँग छलफलमा छौं,’ उनले थपे।
संघीय सरकारले दशकअघिदेखि नै किसानलाई पेन्सनको व्यवस्था गर्ने उल्लेख गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन। तर, मरिण गाउँपालिकाले भने वास्तविक किसानको पहिचान गरी चालू आर्थिक वर्षबाटै किसानको उत्पादन हेरेरमात्र पेन्सनको व्यवस्था गर्न लागेको हो।
कृषिमा आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिँदै गाउँपालिकाले किसानमैत्री र हितका लागि किसान पेन्सनको कार्यक्रम ल्याएको र यसको प्रभावकारिताको आधारमा आगामी वर्षबाट थप रकम विनियोजन गरिने मोक्तानको भनाइ छ। ‘किसानलाई उत्पादनमा आधारित रहेर गाउँपालिकाले यसअघिदेखि नै अनुदान दिँदै आएको छ’, उनले भने, ‘अब किसानले उब्जाएको वस्तुको न्यूनतम मूल्य पनि स्थानीय सरकारले तोक्नेछ। त्यसको ढुवानी र बजारीकरणसमेत स्थानीय सरकारले नै गर्ने गरी कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गरी कृषिकै माध्यमबाट गाउँपालिकालई समृद्ध बनाउने गरी योजना बनाउने छौं।’
स्थानीय युवालाई विदेश पलायन हुनबाट रोक्न कृषि उपज उत्पादनमा प्रोत्साहन, किसानलाई बिनाधितो ऋण र अनुदानको व्यवस्था गरी कृषिको विकास गर्न सकेमात्रै देशमा आर्थिक समृद्धि आउने अध्यक्ष मोक्तानको भनाइ छ। ‘जमिन बाँझो राख्न पाइँदैन,’ अध्यक्ष मोक्तानले भने, ‘यहाँ उपलब्ध जैविक विविधता र प्राकृतिक स्रोतको समेत अधिकतम उपयोग गरी कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्ने किसानलाई पेन्सन पनि दिन्छौं। कृषि पेसालाई मर्यादित, सम्मानित बनाउँदै किसानका उत्पादनलाई वृद्धि गर्न अनुदान र बजारीकरणको समेत व्यवस्था मिलाउने छौं।’
कृषि पेसामा मजदुरको अभाव हुन नदिन पालिकाले कृषिमा व्यावसायिकता ल्याउने किसानलाई अनुदानमा यान्त्रीकरण, उत्पादनमा वृद्धिका लागि मल तथा खाद्यको साथै उन्नत जातको बिउबिजनको उपलब्धता र सीप तथा तालिमको समेत व्यवस्था मिलाउँदै आएको गाउँपालिकाले जनाएको छ।
मरिण गाउँपालिका अन्न र पशुजन्य उत्पादनको भण्डारको रूपमा परिचित छ। गाउँपालिकाले उत्पादनमा आधारित रहेर अनुदान दिन थालेपछि परम्परागत कृषिमा निर्भर रहेका यहाँका किसानहरू हाल पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिकतर्फ आकर्षितसमेत हुँदै गएका छन्।