दुईपांग्रे ट्याक्सी : सुरक्षा चुनौती, कहिले हुन्छ नियमन ?
मोटरसाइकल ट्याक्सी अर्थात्, भाडा लिएर मोटरसाइकलमा यात्रु ओसार्ने सेवा । छिटो, सजिलो र सस्तोमा यात्रा गर्न पाइने । तर, नियमन नहुँदा यो सेवा ‘जोखिमपूर्ण र असुरक्षित’ बन्दै गएको एक अध्ययनले देखाएको छ । महिलामाथि यौनजन्य दुर्व्यहारका घटना हुने, यात्रुको भेषमा गाडीमा सवार अपराधीबाट राइडर नै लुटपाटमा पर्ने, अपराध कर्मका लागि ‘अफलाइन’ सेवा लिने क्रम बढेको अध्ययनको निष्कर्ष छ ।
काठमाडौं : मुलुकका बेरोजगार युवाको सजिलो ‘जागिर’ बनेको छ– भाडा लिएर मोटरसाइकलमा यात्रु ओसार्ने। यसका लागि न शैक्षिक योग्यता चाहिने, न ‘भनसुन’ चाहिने। अझ सजिलो त, आफ्नो अनुकूलतामा चल्न पाइने। एउटा मोटरसाइकल लियो, आफूले चाहेको कम्पनीमा आबद्ध भयो।
अनि, यात्रु बोक्न सुरु गर्यो। हातको हात नगद कमाई। यसले एकातिर, बेरोजगारी समस्यालाई केही हदसम्म सम्बोधन गरेको छ। अर्कोतिर, यात्रुले पनि सहज र सस्तोमा यात्रा गर्न पाएका छन्। यस्तो सेवा दिन हाल ‘पठाओ’, ‘टुटल’, ‘इनड्राइभ’, ‘जुमजुम’, ‘आयो’ लगायतका ‘राइड सेअरिङ सेवा’ क्रियाशील छन्। काठमाडौंमा मात्रै १ लाख ९० हजार मोटरसाइकल र स्कुटरले यात्रु बोक्ने सेवा दिइरहेका छन्। यस्तो सेवालाई ‘मोटरसाइकल ट्याक्सी’ नामाकरण गरिएको छ। यो सेवा विश्वका धेरै देशमा छ।
तर, यस्तो सेवा ‘जोखिमपूर्ण र असुरक्षित’ बन्दै गएको एक अध्ययनले देखाएको छ। काठमाडौं मेडिकल कलेजअन्तर्गतको नेपाल इन्जरी अनुसन्धान केन्द्रले एक वर्ष लगाएर ‘मोटरसाइकल ट्याक्सी’ को अध्ययन गरेको थियो। इन्जरी अनुसन्धान केन्द्रका निर्देशक प्रोफेसर डा. सुनिलकुमार जोशीको नेतृत्वमा प्रोफेसर डा. जुली म्याटन, डा. जोनाथन फ्लावर, डा. प्रशन्ना लामा र सिनियर रिसर्चर सञ्जीव पौडेलले अध्ययन गरेका थिए।
अध्ययनको निष्कर्ष छ– दुईपांग्रे सवारी साधन असुरक्षित बन्दै गएको छ। यसलाई नियमन गर्न सरकारले अब ढिला गर्नुहुँदैन।’ बिना हेल्मेट यात्रु बोक्ने, महिलामाथि यौनजन्य दुर्व्यहारका घटना हुने, यात्रुको भेषमा गाडीमा सवार अपराधीबाट राइडर नै लुटपाटमा पर्ने र अपराध कर्मका लागि ‘अफलाइन’ सेवा लिने क्रम बढेको अध्ययनको निष्कर्ष छ।
हुन त, यस्तो सेवाको नियमनमाथि बारम्बार प्रश्न उठने गरेका छन्। सरकारले पनि यसलाई न खुलेर समर्थन जनाउन सकेको छ, न त यसको नियमनका लागि पहल नै गरेको छ। विभिन्न एप्सहरू उद्योग विभागमा दर्ता छन्। तर, यातायात सञ्चालन गर्ने कुनै नीतिले यसलाई चिन्दैन, जान्दैन। यातायात व्यवस्था ऐनले दफा (८) (१) ले भन्छ– निजी सवारी साधन सार्वजनिक यातायातका रूपमा प्रयोग गर्न पाइँदैन।’ उच्च अदालत पाटनले पनि कानुन बनाएर नियमन गर्न सरकारलाई आदेश दिइसकेको छ।
- घटना–१
यौन दुर्व्यवहार
घटना गत साउनको। राति त्यस्तै १० बज्दै थियो। सडकमा सार्वजनिक गाडी गुड्न छोडिसकेका थिए। एक युवतीलाई बानेश्वरबाट साँगासम्म पुग्नुथियो। सडक किनारमा यात्रु पर्खिरहेको ‘अफलाइन बाइक’ चढिन्। जब बाइक गुड्यो, राइडरले निकै स्पिड कुदाउन थाले। अचाक्ली रूपमा ‘घ्याच्च, घ्याच्च’ ब्रेक लगाउन थाले। युवती हुत्तिएर राइडरको शरीरमा टाँस्न पुग्थिन्। राइडरको मुखबाट ‘ह्वास्स गन्ध आउँथ्यो’ रक्सीको।
राइडर भर्खरका युवक थिए। ‘बिस्तारै चलाउनुस्’ भन्दा ती युवकले झन् स्पिड कुदाउँथे। यात्राको क्रममा युवतीले यौन दुर्व्यवहार पनि खेपिन। राइडरले बाटोमा युवतीको नम्बर पनि लिइसकेका रहेछन्। ‘पछि त ती केटाले मलाई फोन गरेर दुःख दिन थाले। अति नै गरेपछि त्यो केटाको फोन नम्बर नै ब्लक गरेँ’, पीडित युवती भन्छिन्, ‘धन्न कोठा नपुग्दै वरै ओर्लिएँ। नत्र त उसले झनै तनाव दिने रहेछ। हे, भगवान् कस्ता–कस्ता राइडर हुन्छन् !’
- घटना–२
डरमर्दो यात्रा
बालाजुमा बसले ठक्कर दिँदा स्कुटर पछाडि सवार एक महिलाको घटनास्थलमै ज्यान गयो। त्यो स्कुटी ‘दुईपांग्रे ट्याक्सी’ थियो। प्रहरीका अनुसार घटनापछि ‘अफलाइन राइडर’ फरार भए। यो घटना ५ असोज ०८० को हो। चालकले अफलाइनमा यात्रु बोकेका थिए। त्यसकारण राइडरको पहिचान गर्न प्रहरीलाई तुलनात्मक रूपमा बढी समय लाग्यो। त्यसअघि माछापोखरीमा एक महिलामाथि धारिलो हतियार प्रयोग भयो। घटनापछि हतियार प्रयोग गर्ने व्यक्ति ‘अफलाइन राइडिङ’ सेवा लिएर भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
- घटना–३
सिकारु राइडरले जोखिम
भदौ २६ गते सप्तरीका नवीन नरसिंह नेपाली अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘पठाओ’ मा चढे। बसमा ढिलो हुन्छ भनेर पठाओ चढेका थिए। नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनी चढेको पठाओले अर्को पठाओलाई ठक्कर दियो। उनी सडक दुर्घटनामा परे। हातमा चोट लाग्यो। झोलाको ल्यापटप पनि फुट्यो। नवीन भन्छन्, ‘संयोगले सडकको ट्राफिकको रातो बत्ती बल्यो। जसका कारण सबै गाडीहरू रोकिए। भगवान्को दया भनौं, ज्यान बच्यो।’ उनी पनि अफलाइनमा पठाओ चढेका थिए।
घाइते नेपालीलाई प्रहरीले नजिकैको सिभिल हस्पिटलमा उपचार गर्न पठायो। पठाओ चालकलाई मोटरसाइकलसहित कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय लग्यो। प्रहरीले ती पठाओ चालकलाई भन्यो, ‘यात्रुलाई उपचार खर्च र क्षतिपूर्ति दिनुहोला।’ १८ वर्ष उमेर जतिका पठाओ राइडर रुन थाले।
घाइते नेपालीको खुट्टा ढोग्न थाले। र, भने, ‘म कमाएर खाने मान्छे। मलाई छोडिदिनुहोस्। पुरानो बाइक किनेर पठाओ चलाइरहेको छु।’ उनले पनि दया मान्दै पठाओ चालकलाई छोडिदिए। घाइते नेपालीले न उपचार खर्च पाए न त ल्यापटप मर्मत खर्च नै। नेपालीलाई ५० हजार रुपैयाँ जतिको क्षति पुग्यो।
- घटना–४
यात्रुको भेषमा लुटेरा
यात्रुको भेषमा दुईपांग्रे सवारी चढ्ने र चालकमाथि नै लुटपाट मच्चाउने प्रवृत्ति पनि बढेको अध्ययनका क्रममा देखिएको छ। साउन ९ गते साँखुमा पठाओ चालक भक्तबहादुर खड्कामाथि लुटपाट भयो। उनको मोटरसाइकल, मोबाइल र ६ हजार रुपैयाँ पनि लुटपाट गरेका थिए।
प्रहरी प्रभाग साँखुले लुटपाट गर्ने सुनसरी धरान उपमहानगरपालिका–१५ का २३ वर्षीय राहुल तामाङ र उदयपुर नगरपालिका–५ का २१ वर्षीय मनिष कोइरालालाई पक्राउ गरेको थियो। उनीहरूले शंखरापुर–८ नाउपाखा सामुदायिक वनमा पठाओ चालक खड्कामाथि लुटपाट गरेका थिए।
- घटना–५
क्युआरमा झुक्याउने, अनि राइडरलाई लुट्ने
नियमन गर्ने कानुनको अभावमा राइडरले थरीथरीका घटनाहरू खेप्दै आएका छन्। अहिले धेरैले खल्तीमा पैसा बोक्न छोडेका छन्। क्युआर कोर्डबाटै किनमेल र आर्थिक कारोबार गर्छन्। हालै यात्रु बनेर राइडरलाई झुक्याउँदै लुटपाट गर्ने गिरोह काभ्रेको बनेपाबाट पक्राउ परेको छ। काभ्रेको भुम्लु गाउँपालिका–४ का २२ वर्षीय प्रकाश महत र ३२ वर्षीय युवराज महत पक्राउ परेका छन्।
‘आरोपीहरूले काठमाडौं तथा भक्तपुरबाट काभ्रेपलाञ्चोकको बिभिन्न ठाउँमा जान भनी पठाओ बुक गर्ने गरेका थिए। त्यसपछि बनेपा बजार तथा बिभिन्न स्थानमा पुगेपछि पठाओ चालकलाई विश्वासमा पार्थे’, प्रहरी भन्छन्, ‘पठाओ चालकलाई खाजा खान लैजाने अनि खाजा घरको बिल र पठाओ चालकको भाडा क्यआरमार्फत हालिदिने भन्थे। नेट नचलेको बहाना बनाउँदै क्युआर गरिदिन्छु भनी पठाओ चालकको मोबाइलसमेत लिएर भाग्थे।’
- घटना–६
रक्सी खाएका यात्रु ओर्सादाको हैरानी
ठमेल क्षेत्रमा रातिसम्म गानाबजाना र रमाइलो हुन्छ। धेरै मान्छेहरू अबेर रातिसम्म होटल, रोदीघर, रेष्टुराँमा रमाइलो गर्छन्। अनि घर फर्किन दुुईपांग्रे सवारी बुक गर्छन्। मोटरसाइकल वा स्कुटी पछाडि बस्ने यात्रुले रक्सी खाएर मातेको राइडरले थाहा पाउँदैनन्। यात्रुले भनेको गन्तव्यतिर जब राइडरले गाडी गुडाउँछन् अनि सास्ती सुरु हुन्छ। यात्रु लड्न खोज्छन्। कतिपयले राइडरको शरीरमै वान्ता गरिदिन्छन्। तथानाम गाली गर्छन्।
कतिपय अवस्थामा मोटरसाइकलबाटै लडेर घाइते पनि हुन्छन्। दुईपांग्रे सवारीको सडक सुरक्षाका अनुसन्धानकर्ता सञ्जीव पौडेल भन्छन्, ‘रक्सी खाएको मेडिकल रिपोर्ट आयो भने पछाडि बस्ने यात्रुले बिमा रकम पनि पाउँदैन।’ ठमेलमा यात्रुबाटै राइडर कुटिने पिटिने जस्ता घटनाहरू भइरहेको अध्ययनको क्रममा पाइएको छ।
अफलाइनको यात्रा धेरै असुरक्षित
राइड सेअरिङ अफलाइन राइडरहरूले यात्रुलाई ठगी गर्ने गरेको गुनासो धेरै सुनिन्छ। मोलमोलाई गरी बढी रकम लिन्छन् तर यात्रीलाई गन्तव्यमा नपुर्याइ बाटोमै छोडेर भाग्ने गरेको समस्या पनि उस्तै छ। यो समस्या बाहेक सुरक्षा सम्बन्धी चुनौति पनि बढेको बताउँछन्,’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे। यसमा यात्रुहरू आफैं सचेत हुनुपर्ने उनी बताउँछन्।
‘यात्रीहरू पनि लापरबाही गर्छौं। किन कि हामी अफलाइन राइडरलाई रोज्छौं। यो पनि रिक्सको मुख्य कारण हो’, उनी भन्छन्, ‘अफलाइनमा यात्रा गर्दा त्यसको रेकर्ड एप्स कम्पनीसंग हुँदैन। जंगलमा लगेर यात्रुको भेषमा अपराधी गिरोहहरू राइडरहरूलाई लुटपाट गर्छन्। सकेसम्म यस्तामा यात्रा नगर्नुस्।’ नियमन गर्न दैनिक रूपमा प्रहरी टोली खटाउने गरिएको उल्लेख गर्दैै घिमिरे भन्छन्, ‘अन्य अपराधी क्रियाकलाप हुन नदिन ट्राफिकले कागजपत्र चेकजाँच गरिरहेका हुन्छ।’
रातो प्लेटको गाडी व्यक्तिगत सवारी भएकाले यसलाई सरकारले सार्वजनिक यातायातका रूपमा प्रयोग गर्ने नीति लिन नहुनेमा उनी जोड दिन्छन्।
कमजोर तथ्यांक, उदासीन सरकार
दैनिक जीवनमा दुईपांग्रे ट्याक्सी जति सजिलो बनेको छ, व्यवस्थापन र नियमन नहुँदा सुरक्षाको दृष्टिकोणले उत्तिकै असुरक्षित बन्दै गएको छ। तर, यसको सही तथ्यांक न यातायात कार्यालयसँग छ न त प्रहरीसँग। ०७५ सालदेखि भगवान् भरोसे दुईपांग्रे ट्याक्सी गुडिरहेका छन्।
काठमाडौं मेडिकल कलेजअन्तगर्तको नेपाल इन्जरी अनुसन्धान केन्द्रको अध्ययनका अनुसार सन् २०२१—२०२२ मा काठमाडौं उपत्यकाको यातायात कार्यालयमा १३ लाख ३० हजार २ सय ५४ मोटरसाइकल र स्कुटी दर्ता भए। यसै वर्ष ८ हजार ३ सय ६४ मोटरसाइकल र स्कुटी दुर्घटनामा परेका थिए। तर, प्रहरीको तथ्यांकमा ४१ वटा मात्रै दुईपांग्रे ट्याक्सी दुर्घटनामा परेको देखाइएको छ। जहाँ ५५ जना घाइते हुँदा २ जनाको ज्यान नै गएको थियो।
त्यसैगरी सन् २०२२—२०२३ मा १४ लाख ३६ हजार ७ सय ६० मोटरसाइकल र स्कुटी दर्ता भए। यसै वर्ष ८ हजार ३४१ दुर्घनामा परे। यसमध्ये २१ वटा दुईपांग्रे ट्याक्सी परेको तथ्यांक छ। जुन दुर्घटनामा २६ जना घाइते भए।
त्यस्तै सन् २०२३—२०२४ मा १५ लाख मोटरसाइकल र स्कुटी दर्ता भए। यसै वर्ष ७ हजार ६८४ दुर्घनामा परे। यसमध्ये २५ वटा दुर्घटनामा मात्रै दुईपांग्रेको तथ्यांक छ। जुन दुर्घटनामा ३ जनको मृत्यु र ३४ जना घाइते भएका थिए। दुईपांग्रे ट्याक्सीको तथ्यांक व्यवस्थापन निकै कमजोर रहेको सडक सुरक्षा र नीति विकासका अनुसन्धानकर्ता पौडेल बताउँछन्। उनी भन्छन्, ‘तथ्यांक व्यवस्थित नहुँदा यसको सुरक्षा चुनौती विश्लेषण, व्यवस्थापन र नियमका लागि कानुन निर्माणमै बाधा पुग्छ।’
कानुनले चिन्दैन दुईपांग्रे ट्याक्सी
उपत्यकामा दुईपांग्रे ट्याक्सी प्रयोगमा आएको ६ वर्ष भयो। तर, यसको व्यवस्थापन र नियमन गर्न कानुनकै अभाव छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरी पनेरुले दुईपांग्रे सवारी साधनमा यात्रु बोक्नका लागि कानुनले स्वीकृति नदिएको बताउँछन्।
‘कानुनअनुसार दुईपांग्रे सवारी सार्वजनिक यातायातमा प्रयोग गर्न पाइँदैन’, उनी भन्छन्, ‘एउटा प्रयोजनका लागि दर्ता भएको सवारी अर्को प्रयोजनमा प्रयोग गर्न पाइँदैन।’ यातायातको सञ्चालन र व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई रहेको उनी बताउँछन्, ‘निजी प्रयोजनका लागि दर्ता भएको सवारी साधन सार्वजनिक यातायातका रूपमा प्रयोग हुँदा सुरक्षा चुनौती थपिएको छ।’
यता दुईपांग्रे ट्याक्सीलाई नियमन गर्ने कानुनको अभाव रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशील बाबु ढकाल बताउँछन्। ‘हामी जहिले पनि सरल, सजिलो र सस्तो नै खोज्छौं तर, दुईपाग्रे सवारी साधन दुर्घटनामा पर्यो भने समस्या हुन्छ’, उनी भन्छन्, ‘हामी अगाडि भइरहेको कुरा राज्य र सरकारको निगरानीमा हुनुपर्छ कि पर्दैन ? यो मुख्य विषय हो।’
कानुन बनाउँदै प्रदेश सरकार
विभिन्न देशमा निजी नम्बर प्लेटका मोटरसाइकल र स्कुटीलाई सार्वजनिक सवारी साधनमा प्रयोग गर्न कानुनी मान्यता दिइएको उदाहरणहरू छन्। काठमाडौं मेडिकल कलेज अन्तर्गतको नेपाल इन्जरी अनुसन्धान केन्द्रका निर्देशक डा. सुनिलकुमार जोशीले सरकारले दुईपांग्रे सवारी साधनलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्। ‘यात्रुको सुरक्षालाई सरकारले ध्यान दिनुपर्छ। अहिले उपत्यकामा करिब १ लाख ९० हजार बढी दुईपांग्रे ट्याक्सी प्रयोगमा छन्।’
यातायात सञ्चालन, व्यवस्थापन र नियमनको सबै अधिकार कानुनले प्रदेश सरकारलाई दिएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सचिव बलराम निरौला भन्छन्, ‘दुईपांग्रे ट्याक्सीलाई व्यवस्थित बनाउन कार्यविधि बनाएर छलफल गरिसकेका छौं। मन्त्रिपरिषद्मा लाने तयारीमा छौं। अन्तर्राष्ट्रिय अभ्यासमा रातो प्लेटको निजी सवारी पनि सार्वजनिक यातायातको रूपमा प्रयोग भइरहेको छ।’ प्रदेशको यातायात ऐनले यसलाई व्यवस्थापन गरेर सञ्चालन गर्ने अधिकार दिएको उनी बताउँछन्।
‘यात्रुका लागि हेल्मेट अनिवार्य हुनुपर्छ’
अध्ययनले भन्छ्, ‘सडक ट्राफिकबाट हुने मृत्युमध्ये लगभग एकतिहाइ मोटरसाइकल समावेश छन्, जुन दक्षिण–पूर्वी एसियामा ४३ प्रतिशतसम्म बढ्दै गएको छ। जहाँ तिनीहरू प्रायः ट्याक्सीको रूपमा प्रयोग गरिन्छन्।’ तर, नीति निर्माताहरू सार्वजनिक यातायातका यी रूपलाई औपचारिक बनाउन ढिलासुस्ती गर्छन्।
‘दुईपांग्रे ट्याक्सी सुरक्षाका लागि नीति नियमन विकास’ बारे काठमाडौं मेडिकल कलेज अन्तर्गतको नेपाल इन्जरी अनुसन्धान केन्द्रले गरिएको अध्ययन अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा यात्रु, सेवाप्रदायक संस्था र सरकारका प्रतिनिधिहरूले दुईपांग्रे ट्याक्सीलाई नियमन गर्न कानुनको आवश्यकता रहेको बताएका छन्।
क्रिकेटको राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्मा भन्छिन्, ‘जसरी खेलाडीलाई चोटपटकबाट जोगाउन क्रिकेट हेल्मेट महत्वपूर्ण छ, त्यसरी नै यात्रु र सवारीको सुरक्षाका लागि दुईपांग्रे ट्याक्सी सुरक्षित वातावरणमा चल्ने सुनिश्चितता आवश्यक छ।’ महिला राइडर रुथ सुब्बा थप्छिन्, ‘दुईपांग्रे ट्याक्सीलाई छुट्टै नम्बर प्लेटको व्यवस्था गरिनुपर्छ। कानुन बनाएर नियमन गर्नुपर्छ।’
टुटल प्रतिनिधि रुबिक जोशीले भने, ‘दुईपांग्रे ट्याक्सी सवार र यात्रु दुवैको सुरक्षामा सुधारका लागि सरकार नै जिम्मेवार भएर अघि बढ्नुपर्छ।’ इनड्राइभ प्रतिनिधि सुनिता राईले हेल्मेटले दुईपांग्रे सवारी साधनको सुरक्षालाई सन्तुलनमा राख्न मद्दत गर्ने बताइन्। यात्रुका लागि पनि अनिवार्य हेल्मेटको प्रयोग गर्ने व्यवस्था अनिवार्य गर्नुपर्ने बताउँछन्, सडक बोर्ड नेपालका निर्देशक चेतना थापा। विश्व स्वास्थ्य संगठनका प्रतिनिधि गम्पो दोर्जीले सबैले हेल्मेट लगाउनुपर्ने बताए। ‘सवारी साधनको ठक्करबाट जीवन बचाउन र अपांगतालाई न्यूनीकरण गर्न दुईपांग्रे सवारी प्रयोगकर्तामा विश्वव्यापी हेल्मेट प्रयोग गर्नु नेपालका लागि अपरिहार्य छ।’
चाहेर होस् या नचाहेर होस् नेपालमा दुईप्रांग्रे सवारी अभ्यासमा आएको राष्ट्रिय सडक सुरक्षा परिषद्का इन्जिनियर सरोज प्रधानले बताए। ‘सजिलो, सुविधा र सस्तो पर्ने भएकाले उपभोक्ताको आकर्षण बढेको हो’, उनी भन्छन्, ‘तर, कस्तो चालकले चलाउने, सवारीको अवस्था कस्तो हुने, यात्रुले हेल्मेट लगाउनुपर्ने हो वा के हो ? कुनै कानुन बनेको छैन। सरकार हामी नै हो, हामीले यसको नियमन गर्नुपर्छ।’
अफलाइनबाट यात्रा नगरौं
विनोद घिमिरे,प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी।
यात्रीहरू नै लापरबाही गर्छौं। किन कि हामी अफलाइन राइडरलाई रोज्छौं। यो पनि रिक्सको एउटा मुख्य कारण हो। सकेसम्म यस्तोमा यात्रा गर्नु हुँदैन। राइडरलाई लुटेर पठाइदिने खालका घटनाहरू पनि भएका छन्। अफलाइनमा जानेहरूले एकान्त ठाउँमा पुगेपछि मोबाइल लुट्ने, गरगहनाहरू थुत्ने जस्ता घटनाहरू भएको पाइएको छ। रातो प्लेटमा यात्रु ओर्सान सरकारले दिनुहुँदैन। रातो प्लेटको गाडी व्यक्तिगत गाडी हो।
दुईपांग्रे ट्याक्सीलाई कानुनले चिन्दैन
ईश्वरी पनेरु, सूचना अधिकारी,यातायात व्यवस्था विभाग
दुईपांग्रे ट्याक्सी चलाउन हालकोे कानुनले स्वीकृति दिँदैन। एउटा प्रयोजनका लागि दर्ता भएको सवारी अर्को प्रयोजनमा प्रयोग गर्न पाइँदैन। पठाओ, टोटललाई हामीले अनुमति पनि दिएका छैनौं। हाम्रोमा ती एप्सहरू दर्ता पनि छैनन्। यसलाई व्यवस्थित गर्न प्रस्तावित संघीय यातायात ऐनमा व्यवस्था हुने गरि प्रस्ताव गरेका छौं। त्यो अझै संसद्मा दर्ता भएको छैन।
यात्रुको सुरक्षा महत्वपूर्ण हो
सुशीलबाबु ढकाल, सहसचिव एवं प्रवक्ता,भौतिक पूर्वधार तथा यातायात मन्त्रालय
दुईपांग्रे सवारीको नियमन गर्ने कानुन बनेको छैन। यदि दुर्घटनामा पर्यो भने समस्या हुन्छ। यदि दुर्घटना भयो भने बिमाले सम्बोधन गर्छ कि गर्दैन ? गाडी चालकको मानसिक अवस्था र भौतिक रूपमा कतिको उपयुक्त पात्र हो ? चलाउने गाडीको अवस्था कस्तो छ ? हामी गाडी चढ्दा सवारी र चालक कस्तो छ भन्ने कुरा हेर्दैनौं। यो हेर्ने, नियमन गर्ने दायित्व राज्य हो।
सडक सुरक्षामा ध्यान दिनुपर्ने जरुरी
रतिन्द्र नारायण श्रेष्ठ, प्रिन्सिपल, काठमाडौं मेडिकल कलेज
जनसंख्या बढ्दो छ। गाडी चढ्नेदेखि चलाउनेसम्मलाई हतार छ। अब त राइडरले यात्रुलाई घरसम्मै पुर्याउने वातावरण बनेको छ। तर, चालक व्यवहारले यात्रुको भविष्य निर्धारण गर्छ। सडक सुरक्षामा कडाइपूर्वक ध्यान दिनुपर्छ। कति स्पिडमा कुदाउने ? कहाँ कस्तो लेन अनुशासन हुन्छ ? यसबारे स्कुल तहकै पाठक्रममा राख्नुपर्छ। ट्राफिक प्रहरी सडक सुरक्षाभन्दा चिट काट्ने तिर बढी ध्यान दिन्छन्।
सडक सुरक्षाका लागि राजनीतिक प्रतिबद्धता
डा. सुमन वैद्य, सल्लाहकार भौतिक पूर्वधार, बेलायती दूतावास काठमाडौं
सडक सुरक्षाको सवाल गम्भीर छ। सडक सुरक्षालाई व्यवस्थित गर्न जनशक्ति, प्रविधि, तथ्यांकको व्यवस्थापन आवश्यक पर्छ। यातायात व्यवस्थापन भौतिक पूर्वधार तथा यातायात मन्त्रालय, गृह, सूचना तथा सञ्चार मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग जोडिएको छ। त्यसैले दुईपांग्रे ट्याक्सीको व्यवस्थापनमा प्रधानमन्त्री स्वयंले लिड लिनुपर्छ।
छिट्टै नियमन गर्ने कानुन बन्छ
बलराम निरौला. सचिव, श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश
दुईपांग्रे ट्याक्सीलाई नियमन गर्न कार्यविधि मस्यौदा गरिसकेका छौं। व्यापक छलफल गरेर मन्त्रिपरिषद्मा लाने तयारीमा छौं। यी सवारीसधान दर्ता भएर चल्नुपर्ने हो। हामीले भाडा तोक्छौं।
हामी डेभलप गरेको सिस्टमबाट चल्नुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासमा रातो नम्बरको निजी सवारीले पनि राइडसेयरिङ गरेको अध्ययनबाट पाइएको छ।