नागरिकता किर्ते कसुरमा जिल्ला प्रशासन कार्यालय धादिङका नासु पक्राउ
धादिङ : तिब्बती नागरिकलाई नागरिकता दिएको मुद्दाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय धादिङका नासुलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको छ। उपत्याका अपराध अनुसन्धान कार्यालयको अनुसन्धान र जिल्ला प्रहरी कार्यालयको मुद्दाको अनुसन्धान भइरहेकोले नागरिकता दिँदा किर्ते गर्न सघाएको आरोपमा नासु कृष्णबहादुर थपलियालाई पक्राउ गरिएको हो।
के हो त घटना ?
जुवा खालबाट काठमाडौंमा गत असोज ४ गते पक्राउ परेका सोनाम तामङलाई प्रहरीले सोधपुछ गर्दा ४ लाखमा नागरिकता किनेको आफ्नो घर तिब्बतको आम्दो भएको बताएपछि नागरिकताको किर्ते सम्बन्धी विषय छताछुल्ल भएको हो।
उपत्याका अपराध अनुसन्धान कार्यालय टेकुले सोनामलाई नागरिकता दिलाउन विचौलियको भूमिका खेलेका र काठमाडौंमा बस्दै आएका धादिङको नेत्रावती डबजोङ गाउँपलिका-१ का ३१ वर्षीय मदन बहादुर तामाङ, खनियाबास गाउँपालिका-५ का ५६ वर्षीय रामेश्वर रिजाल, सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका-४ का ५६ वर्षीय छिरिङ वाङदीन शेर्पा र भारत घर भएका ५३ वर्षीय छिरिङ ढुण्डुपलाई पक्राउ गरी गत हप्ता अनुसन्धान गरेको थियो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मा लगाएपछि गत सोमबार नागरिकता किर्ते मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
सोनाम भने पहिल्यै पक्राउ परेकोले काठमाडौंमा जुवा मुद्दामा अनुसन्धानको क्रममा छन्। जुवा मुद्दाको अनुसन्धान सकिएपछि सोनामलाईसमेत नागरिकता किर्ते मुद्दामा अनुसन्धानका लागि काठमाडौं प्रहरीले धादिङ पठाउने जनाएको छ।
सोनामले आफूले भारत घर भएका ५३ वर्षीय छिरिङ ढुण्डुपलाई ४ लाख दिएर नागरिकता किनेको र बाबुको नामसमेत जानकारी नभएको भताएपछि घटनाको पर्दाफास भएको थियो। सोनामले जिल्ला प्रशासन कार्यालय धादिङमा २०८१ असार ६ गते जारी भएको २६–०१–८१–०३२१७ नम्बरको नागरिकता प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले दस्तखत गरेको नागरिकता लिएका छन्।
जिल्ला प्रशासन कार्यालय धादिङमा असार ६ गते सोनाम तामाङको नामको नागरिकता फोटोसमेत टाँसेर जारी भएको स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले नागरिकता किर्ते मुद्दामा जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत नासु कृष्णबहादुर थपलियालाई पक्राउ गरेको जानकारी दिए।
नागरिकता लिएका सोनाम तामाङको बाबु भनिएका हर्कबहादुर २० वर्ष अघि नै मरिसकेका व्यक्ति भएकोले यस किसिमको किर्ते सिफारिस वडाले नगरेको बताउँदै किर्ते गर्ने सबैलाई कारबाही गर्नुपर्ने बताए। नक्कली नागरिकता बनाएको आरोप लागेका सोनाम तामाङ जुवा मुद्दा अनुसन्धानपछि नागरिकता किर्तेमा छानविनका लागि ल्याइने छ।