जिन्दगी जिऔं
१७ वर्षकी एक किशोरीले मनोसामाजिक परामर्शकर्तासँगको भेटमा जीवनप्रति चरम निराशा व्यक्त गरिन्। बाँच्ने इच्छा पटक्कै नभएको कुरा गरिन्। २२ वर्षको एक युवा आफूले मन पराएको युवतीको अर्कैसँग हिमचिम बढेको थाहा पाएपछि आत्महत्याकै बाटो रोजे।
जीवनप्रतिको चरम निराशा र त्यसको परिणामस्वरूप व्यक्तिको मनले रोजेको वा निर्णय गरेका कारण भएका यी त केही प्रतिनिधिमूलक घटना वा परिवेश हुन। तर समग्रमा व्यक्तिले आत्महत्याको बाटो किन रोज्दछन् ? के कारणले आत्महत्या गर्ने सोचलाई अझ बढाउँदछ ? आत्महत्याको पूर्वसंकेतहरू कसरी चिन्ने र यस्तो सोचाइ राखेका व्यक्तिहरूमा जीवनप्रतिको आशा कसरी जगाउन सकिन्छ ?
आत्महत्याको रोकथाम किन सोचे अनुरूप सबै पक्षसँग सहकार्य गरेर गर्न सकिएको छैन ? अब आत्महत्याको रोकथाममा घरपरिवार, साथीसँगी, विशेषज्ञ, सरकारी संयन्त्रसहित सबैको सहयोग लिएर कसरी योगदान पुर्याउन सकिन्छ ? यी सवै विषयमा बेलैमा सोच्नुपर्ने बेला आइसकेको छ, थप छलफल गर्नुपर्ने, संवाद गर्नुपर्ने, बहुपक्षीय कार्ययोजना बनाउनुपर्ने र कार्यान्वयनको लागि पनि बहुपक्षीय समन्वय र सहकार्य अब जरुरी भइसकेको छ।
आत्महत्या गर्ने कारणहरूमध्ये डिप्रेसन रोग प्रमुख हो। डिप्रेसनका कारण मनमा धेरै पीडा हुन्छ, बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र आत्महत्याको सोचाइ बलियो हुँदै गई यो समस्या भएका व्यक्तिले आत्महत्या गर्छन्। डिप्रेसन भएका बिरामीको मद्यपान वा लागूपदार्थ सेवन गर्ने बानी छ भने आत्महत्या गर्ने खतरा अरू बढ्छ। मानसिक असन्तुलन, मदिरापानको लत, लागूपदार्थको दुव्र्यसन, छारे रोग, दीर्घ खालको र धेरै पीडा हुने शारीरिक रोग र एचआईभी एड्सजस्ता कारणहरूले पनि मानिसहरूमा आत्महत्याको सोच ल्याउन सक्ने र आत्महत्याको प्रयास समेत गर्ने सक्ने सम्भावना हुन्छ।
आत्महत्या गर्ने सोचाइ बनाएका व्यक्तिले आफ्नो विचार वा सोचाइ घुमाउरो पाराले साथीभाइ वा परिवारका सदस्यलाई भनेका हुन्छन्। जस्तै यस्तो जिन्दगीको के सार, फेरि भेट हुन्छ कि हुँदैन आदि। यस्तो अवस्थामा त्यस्तो सोचाइ वा व्यवहार देखाएको व्यक्तिलाई एक्लै नछाड्ने, उसको बानी व्यवहार नियाल्ने, तपाईंको सहयोग लिन नमानेको खण्डमा उसले कुरा सुन्ने तथा सहयोग लिन चाहने आफ्ना आफन्त दाजुभाइ, साथीभाइ वा परिवारका सदस्यलाई यस अवस्थाको बारेमा जानकारी दिनुपर्छ। साथीको कुराहरूमा गोपनीयता राख्दै सहानुभूतिका साथ कुराकानी गर्ने र आवश्यकताअनुसार सहयोग गर्नुपर्छ। आफूलाई मर्न मन लागेको विचार व्यक्त गरेमा तुरुन्त मानसिक रोग विशेषज्ञ वा तालिम प्राप्त मनोपरामर्शकर्ताकहाँ लैजानुपर्छ।
किशोर र युवा उमेरसमूहका रहेका व्यक्तिको लागि विद्यालय, कलेज, शिक्षक र प्राध्यापकको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। विद्यालय र कलेजले आफ्ना विद्यार्थीलाई आफ्नो मनको कुरा निर्धक्कका साथ व्यक्त गर्न दिने वातावरण बनाउनुपर्छ। अत्यधिक निराशापन र आत्महत्याको जोखिम देखिएका विद्यार्थीलाई एक्लै छोड्नु हुँदैन, बढीभन्दा बढी समय उक्त विद्यार्थीसँग बिताउने, मनको भावना बुझी त्यहीअनुसार व्यवहार गर्ने र परिवारका सदस्यलाई समेत यसको बारेमा जानकारी गराउनुपर्छ। विद्यालय र कलेजले विद्यार्थीको मनको पीडा, असजिलो वा गुनासो सुन्नको लागि हरेक विद्यालय र कलेजमा तालिम प्राप्त मनोसामाजिक परामर्शकर्ता शिक्षकको व्यवस्थापन गर्न जरुरी छ, यसले आत्महत्याको पूर्वसंकेत थाहा पाउन र समयमै आत्महत्याको सोचाइ आएको वा योजना बनाएको व्यक्तिलाई सहयोग गरी आत्महत्या गर्नबाट जोगाउन सकिन्छ।
आत्महत्याको रोकथाममा सञ्चारमाध्यमको पनि महत्त्वपूर्ण भूमिका छ। आत्महत्याको विचार वा सोचाइ आएमा कहाँ, कसलाई सम्पर्क गर्ने भन्ने बारेमा सही सूचना दिने, आत्महत्या रोकथामको बारेमा सही सूचना सम्प्रेषण गर्नुपर्छ। जीवनका सामान्य तनावहरूको व्यवस्थापन कसरी गर्ने, आत्महत्याको सोचाइसँग कसरी सामना गर्ने, आत्महत्यासम्बन्धी समाचारलाई केन्द्र बिन्दु नबनाउने, सनसनीपूर्ण शीर्षक नबनाउने, फोटो, भिडियो वा डिजिटल लिंकको प्रयोग नगर्ने, अनावश्यक रूपमा नदोहोर्याउने, आत्महत्यालाई सनसनीपूर्ण बनाउने भाषाको प्रयोग नगर्ने, आत्महत्याको साधन वा तरिकाको बारेमा व्याख्या नगर्ने, आत्महत्या भएको स्थानको विस्तृत जानकारी नदिनेजस्ता कामहरू गरेर आत्महत्याको रोकथाममा मिडियाकर्मीहरूले भूमिका खेल्न सक्छन्।
आत्महत्या रोकथाममा केही सरकारी संरचना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत केही पहल गरिए पनि देशभरका जनताको लागि त्यो पर्याप्त छैन। राज्यका संरचना, सहयोगी संघसंस्थाहरू, सेवा प्रदायक, घरपरिवारका सदस्यहरूबीच एकआपस समन्वय र बहुपक्षीय सहकार्य नहँुदा आत्महत्या रोकथाममा नेपालले सोचेअनुसार उपलब्धि हासिल गर्न सकेको छैन। मानसिक स्वास्थ्यको प्रवर्धन, मानसिक रोगको रोकथाम र मानसिक स्वास्थ्य सेवाको विस्तार र निरन्तरतामा जोड दिनुपर्ने हुन्छ। सरकारका स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत सबै खालका प्राथमिकताका वर्ग तथा क्षेत्रहरूमा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन जरुरी छ।
स्थानीयस्तरका सामुदायिक संघसंस्थाहरू, गैरसरकारी संस्था, जोडी समूहहरू, किशोरकिशोरी समूह, युवा क्लबमार्फत मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्न र आत्महत्याको सोचाइ राखेका व्यक्तिहरूमा आशाको सञ्चार गराई उनीहरूको जीवन जोगाउन उल्लेख्य पहल गर्न सकिन्छ। आत्महत्याको रोकथामको विषयमा जागरुक गराई उनीहरूको क्षमता अभिवृद्धि गर्न सकियो भने त्यस्ता संघसस्थाहरू, समूह, क्लब, विद्यालयमार्फत आत्महत्याको रोकथाममा उल्लेख्य सहयोग गर्न सकिन्छ।
विशेष गरेर स्थानीय निकायहरूले खासगरी त्यस्ता संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आफ्नो कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यक्रम लैजान सक्यो भने आत्महत्याको सोचाइ गरेका तथा प्रयास गरेका व्यक्तिहरूलाई जोगाउन सकिन्छ। डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याका सोचाइ राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्या गर्ने सोचाइ आउने सम्भावना कम हुन्छ। आत्महत्याको रोकथाममा परिवार, समाज, साथीसंगीहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ। आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यहार गर्नुपर्छ। उनीहरूको मनको कुरा सुनिदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा घरपरिवारका सदस्य तथा आफन्तहरूले सहयोग गर्नुपर्छ।