गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ : राष्ट्रपति
चितवन : राष्ट्रपति रामचन्द्र पौडेलले गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको बताएका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको स्मरण गरेका हुन्।
‘स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको विदितै छ। यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो’, राष्ट्रपति पौडेलले भने, ‘दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवम् प्रभावकारी नविनतम प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने तर्फ सरकार र नीजि क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु।’
उनले स्वास्थ्यसम्बन्धी पूर्वाधार र प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र ( हब) का रुपमा विकास हुनु लागेकोमा खुसी व्यक्त गरे। उनले यसबाट उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास पनि व्यक्त गरे। उनले भने, ‘क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न तथा अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विषेश ध्यान पुर्याउनु आग्रह गर्दछु।’
राष्ट्रपति पौडेलले राष्ट्रियस्तरको यो अस्पताल हाल क्यान्सरका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणमा अगाडि बढेको जानकारी पाउँदा मलाई खुशी लागेको बताए। उनले क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याएर बिरामीको उपचारमा विशिष्टता अभिवृद्धिमा ध्यान दिए।