दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण : छेडियो २३५७ मिटर जमिन

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण :  छेडियो २३५७ मिटर जमिन

दैलेख : दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषण आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरव बढाउने आयोजना पनि हो। यो आयोजना सफल भए देशको आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। किनकि यो आयोजनामा सफलता प्राप्त हुने आधारहरू भेटिएका छन्। दैलेखको पञ्चकोशी तीर्थस्थल क्षेत्रमा सदिऔंदेखि निरन्तर ज्वाला बलिरहेको छ। 

नेपालकै प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये श्रीस्थान, नाविस्थान र पादुकामा ज्वाला बलिरहेको छ। यस क्षेत्रमा बग्ने खोलाको पानी माथि पनि आगो बल्छ। अधिकांशले यसलाई दैवी शक्तिको कारण भन्छन्। कैयौंले ज्वाला बलिरहेको क्षेत्रमा पेट्रोलियम पदार्थ भएको अनुमान लगाउँथे। खोलामाथि पेट्रोलियम पदार्थ तैरिएको, मन्दिरमा ग्यास बलिरहेको लगायतबाट त्यहाँँ पेट्रोलियम पदार्थ रहेको पुष्टि हुने आधार उत्तिकै थियो। खानी तथा भूगर्भ विभागले यहाँ विगत चार दशकयता सम्भाव्यता अध्ययनको काम गरिरहेको थियो। पछिल्लो पटक यहाँ परिणाम दिनेगरि पेट्रोलियम पदार्थ अन्वेषणको काम चलिरहेको छ। पेट्रोलियम पदार्थको परिणाम पत्ता लगाउन चिनियाँँ र नेपालको खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले अध्ययन गरिरहेका छन्।

यसअघि टोलीले विभिन्न सर्भेको काम सकेको थियो। सोहि सर्भेबाट पेट्रोलियम र प्राकृतिक ग्यास छ भन्ने प्रमाणित भएपछि परिमाणसमेत पत्ता लगाउन ड्रिलिङ कार्य चलिरहेको छ। पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत अन्वेषणात्मक (वेल) ड्रिलिङको काम हालसम्म ५५ प्रतिशत सकिएको छ। चार महिनाभित्र ड्रिलिङको काम सक्ने गरी गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङ थालिएको थियो। ‘ड्रिलिङ’बाट उत्पादन गर्दा कति परिमाण, कति प्रतिशत र कुन प्रविधिले गर्न सकिन्छ  भनेर यकिन गर्न सजिलो हुन्छ। साथै तल रहेको ग्यास अथवा पेट्रोलियम पदार्थको गुणस्तर कस्तो छ भनेर नमुनाका रूपमा प्राप्त हुन्छ। त्यस आधारमा पछि तेलको उत्पादनको चरणमा जानुपर्‍यो भने ‘ड्रिल’ गरेको ठाउँलाई कसरी प्रयोग गर्ने भन्ने सबै कुरा प्राविधिक रूपले अनुमान गर्न सकिन्छ।

नेपाल र चीन सरकारबीच भएको सम्झौता बमोजिम चाइना–एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट अन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सिजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीबाट अन्वेषणात्मक (वेल) ड्रिलिङ सुरु भएको थियो। हालसम्म ५५ प्रतिशत ‘ड्रिलिङ’ अर्थात् जमिन छेड्ने काम सम्पन्न भएको छ। ड्रिलिङ भनेको पेट्रोलियम पदार्थबारे अन्तिम पुष्टि हो। पेट्रोलियम अन्वेषणमा बाहिरबाट जतिसुकै अप्रत्यक्ष रूपमा अध्ययन गरे पनि वास्तविकताबारे जमिनमा ‘ड्रिल’ नगर्दासम्म पत्ता लगाउन सकिँदैन।

  • पेट्रोलियम पदार्थको परिणाम पत्ताा लगाउन चिनियाँँ र नेपालको खानी तथा भूगर्भ विभागको प्राविधिक टोलीले अध्ययन गरिरहेका छन्। 
  •     पछिल्लो पटक यहाँ परिणाम दिने गरी पेट्रोलियम पदार्थ अन्वेषणको काम चलिरहेको छ।

वैशाखयता ५५ प्रतिशत ड्रिलको काम सकिएको खानी तथा भूगर्भ विभाग भूगर्भविद् प्रकाश लुइँटेलले बताए। ‘चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म २ हजार ३ सय ५७ मिटर ड्रिलिङ भइसकेको छ, यहाँ पेट्रोलियम पदार्थको छ वा छैन, छ भने कति मात्रामा छ भन्नेबारे ड्रिलिङको काम सम्पन्न भएपश्चात् मात्र भन्न सकिन्छ,’ लुइँटेलले भने। जमिनमुनि कडा चट्टानले गर्दा ड्रिलिङको काम तोकिएको समयभन्दा केही समय बढी लाग्न सक्ने लुइँटेलको भनाइ छ। ड्रिलिङको काम अन्तिम चरणमा पुगेपछि कति परिणाममा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिने लुइँटेलले बताए।

‘खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुनेछ, त्यसपछि मात्र उत्पादनका आवश्यक काम अगाडि बढ्नेछन्,’ उनले भने, ‘यसअघि पेट्रोलियम पदार्थ अन्वेषणका लागि विराटनगरमा ३५ सय मिटरसम्म ड्रिलिङका गरिएको थियो त्यहाँँ परिमाण फेला परेन। अहिले दैलेखमा नेपालको सबै भन्दा ठूलो ड्रिलिङको काम गर्दै आएका छौं। यहाँ सम्भावना देखेर काम अघि बढाइएको हो। दैलेखमा पेट्रोलियम पदार्थ फेला परे कर्णाली मात्र नभई मुलुक समृद्धितर्फ अघि बढ्छ।’ 

ड्रिलिङका लागि सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको कामका लागि आयोजना स्थलमा प्रमुख ‘ड्रिलिङ’ इन्जिनियरहरूसहित ३४ जना चिनियाँँ प्राविधिक टोलीले काम गर्दै आएका छन्। चिनियाँँ प्राविधिक टोली बाहेक ४० जना नेपाली कामदारले आयोजनाको काम गर्दै आएका छन्। दैलेखमा हाल चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषण कार्य सुरुमा तीन वर्षभित्र तीन चरणमा सक्ने गरी सम्झौता भएको थियो। कोरोना महामारीका कारण झन्डै दुई वर्ष काम ठप्प रह्यो। 

पहिलो चरणमा चिनियाँँ प्राविधिक टोलीले दैलेखको स्थलगत अध्ययन गरी पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थियो। त्यसैको आधारमा ड्रिलिङका लागि रिग हावस निर्माण थप कार्य सुरु भएको थियो। 

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननन्तर्गत पहिलो चरणको काम चिनियाँँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चारवटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरेको थियो। नेपालको संविधान २०७२ जारी भएपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदा तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने सहमति चीन सरकारसँग भएको थियो। 

सहमतिअनुसार खानी तथा भूगर्भ विभाग र चीनको जिओलोजिकल सर्वे कम्पनीबीच आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएको थियो। दैलेखमा सदीयौंदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुकालगायतका क्षेत्रहरूलाई आधार मानेर चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण टोलीले पहिलो चरणको काम गरेको थियो। पेट्रोलियम पदार्थ रहेको सफलताका संकेत फेला पर्न थालेपछि जिल्लावासीमा आशा जगाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.