ओली नेतृत्वको वर्तमान सरकार लामो समय टिक्दैन : दाहाल

ओली नेतृत्वको वर्तमान सरकार लामो समय टिक्दैन : दाहाल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन्।

बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्दै कांग्रेस-एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे।

केही समयभित्रै कांग्रेस-एमालेको गठबन्धन भत्किएपछि के गर्ने भन्ने सोच्नुपर्ने अवस्था आएको उनले बताए। प्रचण्डले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उल्लेख गरे। सरकारबाट निक्लिँदै गर्दा कार्यकर्ताहरू सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएर निक्लेको उनको भनाइ छ।

त्यस्तै दाहालले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहीँ न कहीँ घेरा हाल्ने र माओवादी आन्दोलनलाई सिध्याउने षड्यन्त्र हुँदै आएको भन्दै षड्यन्त्रको घेरा तोड्दै अघि बढ्ने जिकिर गरे। ठूला दलहरू मिलेर अहिलेसम्मको उपलब्धिलाई नै उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झकाउने उनको भनाइ छ।

उनले समाजवादी मोर्चा र कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको बताए। केही समयभित्रै एकता र मोर्चाको नयाँ समाचार सुन्न पाउने उनले बताए। उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्त्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताए।

अध्यक्ष दाहालले लोकतान्त्रिक पद्धतिअनुसार संगठनका नेतृत्व चयन गर्न सुझाव दिँदै संगठनको नेतृत्व चयनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे। नेतृत्व निर्माणका क्रममा कुनै गुटबन्दी नगर्न उनले निर्देशनसमेत दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.