विदेशी विनिमय सञ्चिति, हालसम्मकै अधिक

विदेशी विनिमय सञ्चिति, हालसम्मकै अधिक
फाइल तस्बिर।

काठमाडौं : समग्र अर्थतन्त्रमा बाह्य क्षेत्रमा देखिने गरी सुधार हुन थालेसँगै यतिबेला मुलुकमा विदेशी विनिमय सञ्चिति अधिक मात्रामा थुप्रिएको छ। परिणामस्वरूप अहिलेसम्मकै उच्च विदेशी मुद्रा थुप्रिएको हो। 

यसले गर्दा मुलुकमा साढे १३ महिनाको वस्तु तथा आयात गर्न सक्ने क्षमता बनेको छ। जबकि हिजोको दिनमा कोरोनाकालमा ६ महिनासम्म मात्रै आयात धान्न सक्ने अवस्था थियो। जसले गर्दा मुलुक श्रीलंका होला भन्ने आशंका पनि गरिएको थियो। तर अहिले परिस्थिति धेरै सबल बनेको तर अधिक विदेशी मुद्रा सञ्चितिको समयमै सदुपयोग नगरे मुलुकलाई हानि पुग्ने सरोकारवालाहरू सुझाव दिन्छन्। 

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) सम्ममा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। यो सञ्चिति अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रुपैयाँ हो। सो सञ्चिति गत साउनको तुलनामा ३३ प्रतिशतले वृद्धि भएको छ। गत आव २०८०/८१ साउनसम्ममा १५ खर्ब ७३ अर्ब रुपैयाँ हाराहारीमा थियो। अझ गत असारको तुलनामा साउन महिनामा एक महिनाको अन्तरमा मात्रै आधा खर्ब अर्थात् ५१ अर्ब हाराहारीमा विदेशी मुद्रा थपियो। हाल कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ८३ अर्ब ४२ करोड र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ८ अर्ब ७९ करोड कायम छ। उक्त कुल विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत छ। केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।

यसअघिका केही आवमा सञ्चिति वृद्धिदर घटेको अवस्थामा पनि थियो। नेपाल राष्ट्र बैंककै तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा २.५८ प्रतिशतले घटेर १० खर्ब ६४ अर्ब रुपैयाँमा सीमित थियो। यस्तै आव २०७८/७९ मा पनि अघिल्लो आवको तुलनामा ५.७७ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्बमा सीमित थियो। यससँगै आव २०७९/८० मा पनि अघिल्लो वर्षको भन्दा ११.५२ प्रतिशतले घटेर ११ खर्ब ९७ अर्ब रुपैयाँमा सीमित थियो। तर अहिले यसको आकार धेरै फराकिलो हुँदै गएको छ। 

अहिले सञ्चिति बढ्नुको कारण औंल्याउँदै अर्थविद् डा. रमेशचन्द्र पौडेल मुलुकमा अधिक अवधिको आयात धान्ने विदेशी मुद्रा सञ्चिति पनि उचित नभएकाले यसको प्रयोग बढाउनु पर्ने सुझाव दिन्छन्। उनका अनुसार मुलुकका लागि अधिकतम ८ महिनाको बस्तु तथा सेवा आयात गर्ने क्षमता भए सहज (कन्फरटेवल) हुन्छ। ‘तर अहिले साढे १३ महिनालाई धान्ने वैदेशिक मुद्रालाई ठीकठाकसँगले परिचालन गर्न नसकेको देखिन्छ। अहिले आयात धान्न सजिलो देखिए पनि उक्त २० खर्ब बढी विदेशी मुद्रालाई कुन ठाउँमा प्रयोग गर्ने मुख्य चुनौती छ,’ डा. पौडेलले अन्नपूर्णसँग भने। उक्त मुद्रालाई जथाभावी प्रयोग गर्न पनि नहुने उनले सुझाए। यसकारण अब सरकारले सो मुद्राको प्रयोग बढाउन विकास निर्माणमा पुँजीगत खर्च बढाएर आयात बढाउन जरुरी भएको औंल्याउँछन्। यसले राजस्व पनि बढाउने र मुद्रा प्रयोग पनि हुने डा. पौडेलले बताए। यससँगै अब राष्ट्रिय उत्पादन बढाउने खालका र उन्नत खालको प्रविधिको आयातमा लगानी बढाउन पनि सकिने उनको भनाइ छ। अर्का एक अर्थविद्का अनुसार अब पनि विदेशी मुद्रा सञ्चिति अधिक भयो भने पनि खतरा हुन सक्छ। ‘धेरै महिनाको आयात धान्न पुग्छ भनेर ढुक्क हुने होइन। ‘धेरै बचत गर्नेमा केन्द्रित हुने होइन। अर्थतन्त्र त चलायमान हुनुपर्छ। त्यसलाई परिचालन गर्नुपर्छ। परिचालन गरिएन भने उल्टो नोक्सान हुन्छ। यसो हुँदा दायित्व बढ्छ,’ उनले अन्नपूर्णसँग भने। 

कोरोनापछि मुलुकमा विदेशी सञ्चितिले ६ महिनाको आयात धान्न पनि नसक्ने स्थिति देखेपछि मुलुक श्रीलंका बन्न सक्छ भन्दै सरकार र नेपाल राष्ट्र बैंकले आयातमा नियन्त्रण गरेका थिए। यसले कारणले कमी भएको र पछि खुलाएको थियो। 

विशेष गरेर सञ्चिति बढ्नुको मुख्य कारण रेमिट्यान्स बढ्दो रूपमा भित्रिएकोले हो। परिणामस्वरूप यस्ले विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै अधिक बनाउन सफल भएको छ। विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि चालु आवको पहिलो महिनामै विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ रहेको छ। 

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा अधिक हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा छ। चालु आवको पहिलो महिनासम्ममा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ। गत आवको सोही अवधिमा शोधनान्तर स्थिति रु. ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाख रुपैयाँले बचतमा रहेको छ। यस्तै, चालु खाता पनि ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा छ। गत आवको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा २३ करोड ४ लाखले बचतमा छ। यस्तै, सो अवधिमा प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रहेको छ। 

सेवा खाता घाटामा

मुलुकबाट पढ्न, उपचार गर्न र घुम्न जानेले विदेशमा गर्ने खर्च बढ्दा सेवा खाता घाटामा छ। चालु आवको साउनसम्ममा खुद सेवा आय १५ अर्ब २६ करोड रुपैयाँले घाटामा छ। गत आको सोही अवधिमा खुद सेवा आय ११ अर्ब २५ करोड रुपैयाँले घाटामा रहेको थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई ४ अर्ब ७६ करोड पुगेको छ। सेवा खाताअन्तर्गत भ्रमण व्यय ३०.४ प्रतिशतले वृद्धि भई रु. २२ अर्ब ५० करोड पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.