४५औं विश्व पर्यटन दिवस : ठाउँ चिनौं, चिनाऔं
नेपाल विश्वमै पृथ्वीको अनमोल रत्न हो। यहाँका प्राकृतिक, धार्मिक, ऐतिहासिक सम्पदाको प्रभावले विश्वलाई वशमा पारेको छ। तर पर्यटकीय स्थानको पहिचान, विकास, संरक्षण र संवर्द्धनमा भने खासै ध्यान छैन। यस्तै समस्याको सिकार भएका छन्, महोत्तरीको उत्तरी क्षेत्रका पर्यटकीय स्थलहरू। पर्यटनको प्रचुर सम्भावना बोकेको छ तर सरकारको नजरमा छैन। लोभलाग्दो चुरे पहाडमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटकीय स्थल छन्। ‘पर्यटन र शान्ति’ मूल नारासहित छ दिवसको। आज मनाइने दिवसमा पर्यटन व्यवसायी पनि, अरू बेला सबै बेखबर।
शिवालिक पहाडका फेदीहरू बस्ती विकासले भरिभराउ छन्। सहरी संरचनाले चिन्ता र चासो थपिएको छ। पर्यटनको अथाह सम्भावना बेकेको चुरे पानीको भण्डार पनि हो। मानवीय क्रियाकलापले यसको प्राकृतिक स्वरूप संकटग्रस्त बनिरहेको छ। अनियन्त्रित चुरे दोहन हुनुपछाडि मुख्य कारक हुन्। चुरेमा देखिएको चुनौतीलाई घटाउँदै यसको पर्यटकीय सम्भावनालाई चिन्नसक्ने हो भने पर्यटनबाटै समृद्धि हासिल गर्न सक्छौं। महोत्तरीका नदीनाला, वनजंगल, चुरिया पहाड र भूगोल नै यहाँका पर्यटन विकासका महŒवपूर्ण आधार हुन्।
राईमण्डल: नवलपरासीको कावासोती नजिकमै छ जटायु रेस्टुरेन्ट। जुन पिठौलीस्थित नमुना मध्यवर्ती सामुदायिक वनमा झन्डै १४ वर्षदेखि सञ्चालनमा छ। यहाँ गिद्धका लागि आहार जुटाइन्छ। यसले लोपोन्मुख यो पक्षीको संरक्षण भएको छ भने अर्कातिर पर्यटन केन्द्रको केन्द्र बनेको छ। अनि स्थानीयको आयआर्जनको माध्यम पनि। यस्तै गिद्धको बासस्थान राईमण्डल डाँडामा पनि छ। जहाँ असंख्यक गिद्धहरू छन्। तर स्थानीय सरकारले संरक्षण गर्न सकेको छैन। गिद्धको प्राकृतिक बासस्थानलाई कावासोतीकै रूप दिनसके यहाँ पर्यटनको ढोका खुल्छ, अनि प्रकृतिको कुचिकार गिद्धको पनि संरक्षण हुन्छ। मनोरम पहाडका फेदीमा रहेका बस्तीमा होमस्टे पर्यटन संस्कृतिको विकास गर्न सके ग्रामीण क्षेत्रको अर्थतन्त्रमा टेवा पु¥याउँछ।
हतियार कारखाना : नेपालका पुरातात्त्विक गौरवहरूको अनुसन्धानमा जर्मन नागरिक गुड्रन कर्विन्सको ठूलो योगदान छ। उनकै खोजीका कारण पाटु डाँडाले चर्चा बटुलिरहेको छ। जहाँ करिब १० हजार वर्ष पुरानो मध्यपाषण युगको हतियार कारखाना छ। कर्विन्सले १० वर्ष लगाएर अध्ययन गरेको पाटुको भूमि विश्वमै चर्चाको विषय बनेको छ। उनले २००७ मा प्रकाशित गरेको ‘प्रि–हिस्टोरिक कल्चर इन् नेपाल’ किताब बाहिर आएपछि यो भूमिको थप रहस्य उजागर भयो। प्रदेश र संघले बजेट नै विनियोजन गरेको छ। तर यसलाई कुन हिसाबले विकास गर्ने भन्ने टुंगो छैन।
चनौटे डाँडा : गर्मी छल्ने लेकाली चिसो मधेसमा पाइन्छ। यसोभन्दा अपत्यारिलो लाग्न सक्छ। तर, बर्दिबास नगरपालिका— ११ चनौटे डाँडामा सरर चल्ने चिसो हावाले पहाडी जनजीवन झैं आनन्द दिलाउँछ। पछिल्लो समय मधेस र भारतको विहारका व्यक्तिहरू यहाँ आउन थालेका छन्। छोटो दूरीमा उच्च पहाडी जिल्लाको जस्तो हावापानी र मनोरम दृश्य अवलोकन गर्न पाउनु यहाँको खास विशेष हो। तर, पर्यटकीय स्थानको रूपमा विकास गर्न सकिएको छैन।
सोलीघोप्टेको जडीबुटी : बर्दिवास नगरपालिका— ४ का डिल्लीराम पोखरेललाई अस्पताल, स्वास्थ्य चौकी गएर उपचार गरेको कमै सम्झना छ। यहाँका गाउँले रुघाखोकी, प्रेसर, सुगरजस्ता रोगले सताएपछि डिल्लीराम सोलीघोप्टे जंगलमा पुग्छन्। जहाँ औषधीय गुण भएका थुप्रै वनस्पति छन्। जसको आर्थिक, पर्यटकीय पाटोको चर्चा भएको छैन। जहाँ सयभन्दा बढी प्रजातिका जडीबुटी पाइन्छन्।
बेसारे भिर: बर्दिवासको वडा नं. ५ मा वरडाँडाबाट देखिने अग्लो पहाडको नाम हो बेसारे भिर। जहाँ स्थानीयहरू दुःख भुलाउन र खुसी मनाउन पुग्छन्। बेसारे डाँडो संरक्षण र विकास गर्नुपर्छ। यसको सुन्दरताले स्थानीय बासिन्दाको पीरमर्काको उपचार गर्छ भन्दा फरक पर्दैन। ‘पीडा बोकेर हामी सयौंपटक स्थानीय सरकारकोमा गयौं तर सुनुवाइ भएन’, ज्ञानबहादुर भोलन भन्छन्, ‘मनोरम बेसारे डाँडोलाई सरकारले ध्यान देओस्।’ यहाँको शिखरबाट तराईका उर्बर फाँट, बर्दिवास बजार अवलोकन गर्न सकिन्छ।
पाटु पहाड : पाटुको मध्य भागमा बीपी राजमार्ग (खुर्कोट—सिन्धुली—बर्दिबास) पर्छ। पाटु प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। कोइली, मयूर सौन्दर्यताको गीता गाउँछन्, यसैमा किसानहरू रमाएर खेती लगाउँछन्। जसको गौरवपूर्ण इतिहास छ। तर वर्तमान दयालाग्दो छ। नेपालमा रेकर्ड गरिएकामध्ये १३१० सालको पहिलो विनाशकारी भूकम्प पाटुमै गएको मानिन्छ। १३१० असार शुल्क तृतीय तिथि सोमबारका दिन काठमाडौं र काठमाडौं बाहिर गएको भूकम्पमा परेर हजारौं प्रभावित भएका थिए। तत्कालीन राजा अभय मल्लको समेत निधन भएको थियो।
भूगर्वविद् सोमनाथ सापकोटाका अनुसार त्यो डरलाग्दो भूकम्पबाट मधेसका शिवालिक क्षेत्रमा उच्च पहाड बनेका तथ्य छन्। त्यसैमध्येको एक हो, बर्दिवास–३ पाटुबाट देखिने पहाड। ८ सय वर्षअगाडिको इतिहास बोकेर ठिंग उभिएको यो पहाड। जसलाई हामीले पुरातात्त्विक पर्यटकीय केन्द्रको रूपमा चिनाउन सक्छौं।