युनाइटेड सिमेन्टस लिमिटेडद्वारा विद्यार्थीलाई पोशाक वितरण
धुनिवेशी : जुगेडी युनाइटेड सिमेन्टस लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका अन्तर्गत पर्ने बाराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ।
यो कार्यक्रम विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीहरूलाई पठनपाठनमा उत्साहित गर्न आयोजित गरिएको थियो। युनाइटेड सिमेन्टस लिमिटेडले स्थानीय समुदायसँगको सहकार्यलाई बलियो बनाउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस अवसरमा कम्पनीका महाप्रबन्धक हरि उप्रेतीले भने, ‘हामी आफ्नो व्यावसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिन्छौं। यस प्रकारका सहयोगले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नेछ र शिक्षामा थप प्रगति गर्न प्रेरित गर्नेछ।’
धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले युनाइटेड सिमेन्ट लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै भने, ‘विद्यार्थीहरूको शैक्षिक प्रगतिको लागि यस्तो सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ र यसले विद्यार्थीहरूमा थप उत्साह र लगाव उत्पन्न गराउनेछ।’
युनाइटेड सिमेन्टस लिमिटेडले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।