कोशीमा २०८२ लाई ‘पर्यटन वर्ष’ मनाउने घोषणा

कोशीमा २०८२ लाई ‘पर्यटन वर्ष’ मनाउने घोषणा

विराटनगर : कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ। त्यसका लागि ‘रमणीय कोशी’ भन्ने नारा तय गरिएको छ। 

पर्यटन वर्षका लागि सरकारले ‘८२ का लागि ८२ पर्यटकीय गन्तव्य’ सूची पनि तयार गरेको छ। सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा शुक्रबार  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन्।
नेपालकै होचो क्षेत्र झापाको केचनादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ। विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन्। मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा  ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्राथमिकतामा राखेका थिए। सरकारले पर्यटन वर्षका लागि १० करोड बजेट विनियोजन गरेको छ।

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट विनियोजन भएको छ। २०८२ सालका लागि ८२ स्थान छनोट गरेर पर्यटन वर्ष घोषणा गरिएको जानकारी उनले दिए।  
पर्यटन वर्षका लागि भारतीय नाकाबाट प्रवेश गर्ने  पर्यटकको सवारीमा स्टिकर टाँस्ने र स्टिकर टासेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने सरकारको तयारी छ। कोशी प्रदेशका पर्यटकीय उपजको प्रचारप्रसार र प्रवर्धन गर्दै पर्यटक आगमनमा वृद्धि गरी पर्यटन क्षेत्रलाई चलायमान बनाएर कोशी प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना छ। 

प्रदेशमा पर्यटकको संख्या र बसाइ अवधिलाई वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ। मुख्यमन्त्री कार्कीका अनुसार पर्यटन वर्षमा पर्यटकीय गन्तव्यहरुको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटनमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने र पर्यटन क्षेत्रलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने उद्देश्य राखिएको छ।

मुख्यमन्त्री कार्कीले भारत र चीनबाट मात्रै पर्यटक भित्राउन सके पनि ठूलो उपलब्धि हासिल हुने बताए। ‘मुलुकको राजनीतिक अस्थिरताले सोचेजस्तो उपलब्धि हासिल गर्न सकिएको छैन। पर्यटनका माध्यमबाट विदेशी मुद्रा आर्जन हुन्छ। विदेशी मुद्रा संचितीमा सहयोग पुग्छ,’ उनले भने, ‘पर्यटनको विकासका लागि हरेक प्रकारका पर्यटकलाई समुचित व्यवस्थापन गर्न सक्नुपर्छ। पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनको विकासका माध्यमबाट समृद्धिको आधार खोज्ने प्रयास सरकारले गर्ने छ।’

मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका माध्यमबाट राष्ट्रिय पुँजी वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए। ‘भिजिट नेपाल १९९८’ को सिकाइ र अनुभवका आधारमा प्रदेश सरकारले पर्यटन प्रवर्धनका लागि धेरै काम गरिरहेको उनको भनाइ छ। सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो। तर, कोभिड–१९ बाट विश्व नै आक्रान्त बनेपछि त्यसले पूर्णता पाउन सकेन। ‘विभिन्न प्रतिकूलतालाई छिचोल्दै प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरु गर्ने सोच र दृष्टिकोण निर्माण गरी अघि बढ्ने प्रयत्न गरिरहेको छ,’ कार्कीले भने, ‘यसको प्रस्थान बिन्दुका रुपमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई लिन सकिन्छ।’  

कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभइ विश्वकै उत्कृष्ट गन्तव्य भएको उनको भनाइ छ। यद्यपि, यथोचित प्रचारप्रसार र गन्तव्यहरुको प्रवर्द्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल नभएको मुख्यमन्त्री कार्की बताउँछन्। 

उनले पर्यटन क्षेत्रको विविधतालाई उजागर गर्दै विश्वसामु चिनाउ सक्दा कोशी प्रदेशलाई छिट्टै नै समृद्धिको यात्रामा अघि बढ्न मद्दत पुग्ने अपेक्षा गरे। नेपालको सबैभन्दा होचो भू–भाग झापाको केचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा रहनुले पर्यटकीय विकास र सम्भावनाका आधारहरु प्रशस्त रहेको उनको भनाइ छ। 

कार्कीले कोशी प्रदेशलाई प्राकृतिक, धार्मिक र सांस्कृति पर्यटनको गन्त्वयका रूपमा विकास गर्न सकिने मुख्यमन्त्री बताए। कोशीमा विभिन्न हिमश्रृङ्खलादेखि सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षजस्ता प्रकृतिक एवं पाथीभरा, वराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुरगढी, हिलिहांग, हतुवागढ़ी, बिराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ माङ्सेबुङ, तिम्बुङ्ग पोखरी, सभापोखरी, गुफापोखरीजस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरु छन्। 

साथै, पोकली, नमस्ते, ह्यात्रुङ झरना, कन्याम, श्रीअन्तु, नाम्जे, पाताले, भेडेटार, हिले, तीनजुरे  मिल्के, जलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय गन्तव्य कोशीमै पर्छन्। प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा एवं सामाजिक विविधताको जगमा उभिएर पर्यटन प्रवर्द्धन गर्न सक्दा कोशी प्रदेश मुलुककै पर्यटन ‘हब’ बन्ने कार्कीको भनाइ छ। 

कोशीमा साहसिक पर्यटनको सम्भावना पनि उत्तिकै रहेको उनले बताए। उनका अनुसार प्याराग्लाइडिङ, र्याफ्टिङ, चिया बगान, गुराँस, विश्वमै दुर्लभ रेडपान्डा, अर्ना, गुराँसलगायत पर्यटकका लागि आर्कषणको केन्द्र बन्नसक्छ। तीनजुरे, मिल्के र जलजले क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन्। 

कार्कीले हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोइङ, कायाकिंग, प्याराग्लाइडिङ आदि साहसिक पर्यटनमार्फत पर्यटक भित्राउन सकिने बताए। पर्यटनको माध्यमबाट रोजगारी सृजना गर्दै युवाहरुको विदेश पलायन रोक्न सकिने उनको भनाइ छ। निजी क्षेत्र र पर्यटन व्यवसायीको साथ लिएर सरकारले पर्यटन क्षेत्रको विकास र पर्यटन वर्षलाई उत्सवका रुपमा मनाउने जानकारी उनले दिए। 

तीनै तहको सरकारको सहकार्य, समन्वय र सहयोगमा पर्यटन क्षेत्रका पूर्वाधारको विकास र सुधारमा लाग्ने प्रतिबद्धता कार्कीले जनाएका छन्। जैविक, धार्मिक तथा सांस्कृतिक विविधता र सद्भावपूर्ण सामाजिक व्यवहारका कारण पर्यटन प्रबर्द्धनमा सहज हुने विश्वास उनले व्यक्त गरेका छन्। 
मुख्यमन्त्री कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ प्रदेशको पर्यटनसँग सम्बन्धित नीति निर्माण, संरचनाहरुको निर्माण र पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनमार्फत समृद्धिको आधार खोज्ने वर्षको रुपमा हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.