पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन

पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन

बेनी  : गण्डकी प्रदेशको कास्की, पर्वत र म्याग्दी जिल्ला समेटेर तयार भएको पर्वत-भमरकोट-घोडेपानी पदमार्ग सञ्चालन भएको छ। 

१३ वर्षअघि पहिचान भएको कास्कीको नयाँ पुलदेखि नयाँपुल-मोहरिया-सरौ-ताङले-भूमरकोट-फलाते-डाडाकेटेरो-थामको डिल–हम्पाल–जलजला–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालन भएको हो।

आधारभूत स्तरको पूर्वाधार तयार भएको पदमार्ग ४५ औ विश्व पर्यटन दिवसको अवसरमा शुक्रबारदेखि सञ्चालन गरेको पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काले जानकारी दिए। ‘पदमार्ग, आश्रयस्थल र खाने बस्ने ठाउँको व्यवस्थापन भएपछि पर्वत–भमरकोट–घोडेपानी पदमार्ग सञ्चालन गरिएको हो,’ उनले भने ‘कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो।’

२०६८ सालमा स्थापना भएको संस्था मार्फत तत्कालीन जिविस, संघीयतापछि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको एक करोड ६० लाख रुपैयाँ सहयोगमा नयाँ पुलदेखि पर्वतको सबैभन्दा उच्च स्थानमा समुद्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा रहेको हम्पालसम्म १६ किलोमिटर पदमार्ग निर्माण भएको खड्काले बताए। 

ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउनुका साथै १० वटा विश्रामस्थल निर्माण भएको छ। हम्पालदेखि जलजला जोड्ने पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेशसभा सदस्य भक्त कुँवरले बताए।  

जलजलादेखि मोहेरेडाँडादेखि घोडेपानी जोडेने पदमार्ग करिब १५ वर्षदेखि सञ्चालनमा छ। यो पदमार्गले पर्वतको मोदी गाउँपालिकाको १, २, ३ र ५ नम्बर, जलजला गाउँपालिकाको ५ र ६ तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडालाई समेटेको छ।

हिमाल, पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्लेमा होमस्टे (घरवास) सञ्चालन भएको छ। मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्माण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो।

दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजंगलमा विभिन्न प्रजातिका जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ। गाईभैसीका घुम्ती गोठहरु देख्न सकिन्छ। धौलागिरी र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ। 

पदमार्गमा चिया पसल र रेष्टुन्ट तथा सामुदायिक लज सञ्चालन भएका छन्। सम्पर्क गरेर आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ। यो पदमार्गको प्रवर्द्धनका लागि गण्डकी प्रदेश स्तरीय ४५ औ विश्व पर्यटन दिवसको अवसरमा गन्तव्य प्रवर्द्धन कार्यक्रम गरिएको छ। 

गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको सहयोग, मोदी गाउँपालिका र पोखरा पर्यटन परिषद्को सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रमको आयोजना गरेको हो। यो कार्यक्रमको प्रवर्द्धन नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयले गरेको छ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्साल, प्रदेशसभा सदस्य भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी पौडेल सहभागी कार्यक्रममा पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधीहरुको सहभागीता थियो।  

नयाँपुल देखि लौसीबोट हुदै पदयात्रा गरेर बिहिबार साँझ भुकको नमुना सामुदायिक होमस्टेमा बसेको टोलीले शुक्रबार भुक देखि डाडाकटेरे–फलामे–भुमरकोट–ताङले हुदै सरौ सम्म पदयात्रा गरेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।  

अन्नपूर्ण चक्रीय पदमार्गको महत्वपूर्ण स्थल नयाँ पुल र घोडेपानीलाई जोड्ने यो पदमार्गमा पर्यटक भित्र्याउनका लागि पर्यटन दिवसको अवसरमा सरोकारवाला सहितको पदयात्रा कार्यक्रम आयोजना गरेको उनले बताए।  

सडकका कारण पुराना पदमार्ग विस्थापित हुँदा पोखरामा आउने पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तब्यको पहिचान र प्रवर्द्धनमा टानले जोड दिएको अध्यक्ष आचार्यले बताए। पोखरादेखि नजिक पर्ने भएकाले पनि यो क्षेत्रमा पर्यटन विकासको सम्भावना छ। 

उद्योग तथा पर्यटन मन्त्री बस्यालले पर्यटनको विकास गरि ग्रामिण क्षेत्रको बसाईसराई रोक्न सकिने बताए। घरबास र पर्यटन व्यवसाय सञ्चालन गरी विदेशिन लागेका युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउन सकिने तथा पर्यटक आगमन र बसाई लम्बाएर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने उनको भनाई छ। 

प्रदेश सरकारले पर्वतको हम्पाल, घोडेपानी नजिकै कास्की र म्याग्दीको सिमानामा पर्ने मुण्डेलाई पोखराको स्याटेलाइट गन्तव्य घोषण गरेको छ। सडकका कारण छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा सहयाक गन्तव्यहरू पहिचान गरेर पर्यटकको बसाई लम्बाउन सरकार तथा निजी क्षेत्रले सक्रियता देखाएका छन्। 

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा चिनिएको घोडेपानीमा यसअघि म्याग्दीको पोखरेबगर–घार–शिख–चित्रे, कास्कीको नयाँपुल–उल्लेरी, म्याग्दीको नागी–जलजला–मोहरे, कास्कीको घान्द्रुक–टाडापानी हुँदै जाने पदमार्ग थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.