सुरक्षा र न्याय अध्ययन केन्द्रको १६ औं साधारण सभा सम्पन्न
काठमाडौं : सुरक्षा र न्याय अध्ययन केन्द्रको १६ औं साधारण सभा सम्पन्न भएको छ । केन्द्रको अध्यक्ष पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहको अध्यक्षतामा बिहीबार भएको साधारण सभामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल,नेपालका वर्तमान तथा पूर्वमहानिरीक्षकहरू, केन्द्रका संस्थापक सदस्यहरू सहभागी थिए ।
साधारण सभामा पूर्वकानुन तथा संसदीय मामिला मन्त्री तथा पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरी माहानिरीक्षक राजु अर्याल, निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राई, प्रहरी महानिरीक्षक मञ्चका संयोजक पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरा, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेत,प्राध्यापक सुवास केसीलगायतले केन्द्रलाई सुरक्षा तथा कानुनको अध्ययन एवं सोधकार्य गर्ने 'थिंक ट्यांक' को रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा केन्द्रले आगामी दिनहरूमा आन्तरिक सुरक्षा, नागरिक सुरक्षा, विपद व्यवस्थापन, जलवायु परिवर्तन, लागुऔषध समस्या, सडक सुरक्षा, सिमा सुरक्षालगायत क्षेत्रमा अध्ययन, अन्वेषण, अन्तरक्रिया तथा सत्य निरुपण र मेलमिलाप प्रक्रियामा सहयोगी भूमिका निर्वाह गर्नेलगायतका कार्यहरू सञ्चालन गरिने सम्बन्धमा जानकारी दिइएको थियो ।